दैलेख : कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले पुराना संस्कृतिको संरक्षण गर्नुपर्ने बताएकी छन् । रेडियो मातृभूमि एफ.एम.दैलेखको आयोजनामा शुक्रबार सम्पन्न जिल्ला स्तरीय तीज विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री विश्वकर्माले नारीहरूको महान् पर्व हरितालिका तीजको शुभकामना दिँदै चाडपर्वको गरिमालाई जोगाई राख्न सबै एक भएर लाग्नुपर्ने बताइन् । उनले संघीयताको सुन्दर पक्ष आफ्नो कुरा खुलेर राख्न पाउनु रहेकाले सरकारले गर्ने कामका विषयमा जनताले खवदारी गर्नुपर्ने बताइन् ।
उनले अहिलेको संघीय व्यवस्थाले महिलाका अधिकार सुरक्षित गरेको धारणा व्यक्त गरिन् । उनले अन्य ठाउँका भन्दा कर्णालीका महिला उत्पीडनमा रहेकाले यहाँ सचेतना जगाउन जरुरी रहेको बताइन् । ‘कर्णालीका महिला अझै उत्पीडनमा छन्, सचेतना जगाउँदै उनिहरुका अधिकार सुरक्षित गर्नुपर्छ’, मन्त्री विश्वकर्माले भनिन् ।
मन्त्री विश्वकर्माले पुराना संस्कृति संरक्षणमा महिला पुरुष सबैको सबैको महत्वपूर्ण हुने बताइन् । उनले आफू सरकारमा रहुन्जेल महिला लगायत आम कर्णालीका नागरिकका लागि राम्रा कामहरू गर्ने प्रतिबद्धता जनाइन् । उनले जनताको बलिदानबाट आएको अहिलेको संघीय व्यवस्था संस्थागत गर्न नागरिकको भूमिका महत्वपूर्ण हुने बताइन् ।
नारायण नगरपालिका दैलेखका उप–प्रमुख तप्ता कुमारी थापाले महिलाहरूले यस्ता खाल्का जनचेतना मूलक कार्यक्रम सहभागिता जनाउनुपर्ने बताइन् । उनले सबैले संस्कृति संरक्षणमा ध्यान दिनुपर्ने बताउँदै स्थानीय सरकारले यहाँका पुराना संस्कृति संरक्षणमा काम गर्दै आएका बताइन् ।
उपप्रमुख थापाले भनिनु, संस्कृतिलाई संरक्षण गर्नु सबैको दायित्व हो, पछिल्ला वर्षमा संस्कृति हराउँदै गएको देखिन्छ, पहिलेका दिनमा नारिएका वेदना समेटेर गाइने तिजका भाका अहिले केही हराउदै गएका देखिन्छन्, पुराना संस्कृति जोगाउन स्थानीय सरकार लागेका छन् ।’
कार्यक्रममा दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले यस्ता कार्यक्रमले जिल्लामा लोप हुँदै गएका पुराना संस्कृति संरक्षणमा मद्दत पुग्ने बताए । उनले तिजका गीतहरूबाट सचेतना समेत जगाउन सकिने समेत बताए । उनले जिल्लामा रहेका पुराना संस्कृति जोगाउन आम नागरिक र सम्बन्धित निकाय एक हुनुपर्ने बताए ।
कोइरालाले तिज खास गरी महिलाको पर्व भएकाले तिजका गितबाट महिलाले आफ्नो अधिकारका लागि आवाज उठाउनु पर्ने बताए । उनले यस्ता खालका प्रतियोगिताले समाज रूपान्तरणमा मद्दत पु¥याउने बताउँदै तीन तहका सरकारले महिला शसत्तिकरणका कार्यक्रमलाई प्रमुखताका साथ अघि बढाउनु पर्ने धारणा राखे ।









