दैलेख : दैलेखको महावु गाउँपालिका वडा नंं ३ एक्ले सल्लोमा तीजको दिन सोमवार साँझ ६ बजे चट्याङ लागेर १६ वर्षे बालक किशोर दाहालको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन ।
महावु गाउँपालिकाको महावै मन्दिरमा तीजको मेला हेरेर फर्कने क्रममा एक्ले सल्लो भन्ने स्थानमा चट्याङ परेको थियो । सल्लोको रुख मुनी बसेका बालक बेहोस भएका थिए उनको थप उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखमा ८ बजे ल्याइएको थियो । उनको मृत्यु बाटैमा भइसकेको स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ । ५५ वर्षे लालबहादुर विष्टको अवस्था चिन्ताजनक भएको भन्दै उनलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ ।
चट्याङ लागेर १२ बर्षे आसिक विष्ट, १५ बर्षे किरक्षा विष्ट, १६ वर्षे भरत नेपाली, १४ बर्षे हर्क नेपाली, १२ बर्षे सन्दीप बुढा, ३२ बर्षे नगेन्द्र विष्ट घाइते भएका छन् । सबै घाइतेको स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार भइरहेको छ ।
जनतालाई सुरक्षीत रहन पालिकाको आग्रह
गत एक सता देखि दैलेखको महावु गाउँपालिका लगातार चट्याङ परिरहेको छ । कतिपय सर्वसाधारणले विद्युतको लाइन विस्तारमा समस्या देखिएकोले चट्याङ परेको भन्दै गाउँपालिकामा गुनासो गरिरहेको र आफूले सोही अनुसार विद्युन कार्यालय दैलेखलाई विद्युत विस्तारमा कतै समस्या भएको भए त्यसको खोजवीन गरिदिन आग्रह गरेको उपाध्यक्ष मञ्जु पाण्डेले जानकारी दिएकी छन । घाइते भएका नागरिकहरुलाई उद्धार गर्ने, पालिकाले उपचार गरिदिने जस्ता कामहरु भईरहेको र सवै नागरिकलाई पानी पर्ने अवस्था आउने बित्तिकै घर बाहिर ननिस्कन आग्रह गरेको पाण्डेको भनाई छ ।
विगत वर्षमा फाटफुट चट्याङ पर्ने गरेको भए पनि यसपालि हरेक दिन फरक फरक वडामा चट्याङ परिरहेको महावुका प्रकाश बुढाले जानकारी दिएका छन । जिल्लास्तरबाट समेत महावुका जनताको ज्यू धनको सुरक्षाका लागि विशेष पहल सुरु गर्नुपर्ने बुढाको भनाई छ ।
विगत एक साता लगातार वडा नं. १, २, ३, ४ मा चट्याङ परिरहेको छ । तीन दिन अघि चट्याङ लागेर एक महिलाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । अहिले सम्म महावुका विभिन्न स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु भइसकेको छ भने २२ जना घाइते भइसकेका छन ।
सचेत रहन
जिल्ला प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले आम नागरिकलाई सचेत रहन प्रशासनले आग्रह गरिरहेको बताएका छन । पछिल्ला दिनहरूमा लगातार महावु क्षेत्रमा चट्याङ परिरहेकोले आम नागरिकहरूले पानी परेको अवस्थामा कोही पनि बाहिर ननिस्कन भन्दै पालिकासँग समन्वय गरेर जनचेतना अभियान थालिएको बताएका छन ।
महावु रेन्जमा लगातार चट्याङ परिरहेको विषयमा र जनताको सुरक्षाको विषयमा जिल्ला सुरक्षा समितिमा समेत छलफल भई सुरक्षा रणनीतिको बारेमा कुरा भएको कोइरालाको भनाई छ । काठमाडौंबाट विशेषज्ञ झिकाएर भएपनि यो विषयमा अध्ययन गरिदिन र जनधनको सुरक्षा गरिदिन स्थानीय बासिन्दाहरुले आग्रह गरेका छन् ।









