दैलेख ः प्रतिनिधि सभाका पूर्व सदस्य रबिन्द्रराज शर्माले नेताले आफ्नो चरित्र सुधार गर्नुपर्ने सुझाव दिएका छन् । संविधान दिवसको अवसरमा गरिएको सभामा बोल्दै शर्माले संविधानमा उल्लेखित जनताका अधिकार रक्षा गर्ने जिम्मा पाएका नेताहरूको चरित्रका कारण संविधानमाथिनै प्रश्न उठाउने काम भएकोले नेताहरूले आफ्नो चरित्र सुधार गर्दै संविधानको रक्षामा लाग्नुपर्ने बताएका हुन् ।
हिजो जनता, नेता, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, बृद्धिजिवी र आम नागरिकहरूले लडेर प्राप्त गरेको संविधानको अधिकारकै कारण अहिले हामीले मत मतान्तर गर्न पाएका छौँ, नेता छान्न पाएका छौँ, समावेशिताका आधारमा विभिन्न स्थानमा प्रतिनिधित्व गर्न पाएका छौँ तर केही शीर्ष नेता, केही कर्मचारी, केही राजनीतिकर्मी लगायतका व्यक्तिहरूको चरित्र खराब भएका कारण, आफन्तवादमा फसेका कारण जनताहरूमा वितृष्ण पैदा भएको शर्माले बताए ।
प्रदेश सभा सदस्य पूर्ण बहादुर खत्रीले जसरी जनता, राजनीतिक दल र आम नागरिकहरूले लडाई गरेर अधिकार ल्याएका छौँ त्यसको रक्षा र थप व्यवस्थापनमा कहीँ कतै कमजोरी भएका छन् ती कमजोरी सच्याउँदै जानुपर्ने र जनताको पक्षमा काम गर्नुपर्ने निर्वाचित जनप्रतिनिधिहरूको काँधमा आएको बताए ।
कसैले सडकमा भन्दैमा संविधान फेरबदल वा व्यवस्था नै फेरबदल नहुने खत्रीको भनाई छ । देशमा भ्रष्टाचार बढ्दै गएको अवस्था छ । बढ्दै गएको भ्रष्टाचारलाई अन्त्य गर्ने चुनौतीहरू छन् तर सबैले भ्रष्टाचार नियन्त्रणका लागि आफूबाटै सकारात्मक कामको सुरुवात गर्नुपर्ने आवश्यकता रहेको खत्रीको भनाई छ । संविधान दिवसको अवसरमा मणिराम रेग्मी, नगर प्रमुख लोमन शर्मा, उपप्रमुख तप्ता थापा, पत्रकार नवीन रिजाल लगायतका बत्ताहरूले संविधानको विषयमा प्रस्ट पारेका थिए ।









