बिउ बेचेर वडामा भित्रियो डेढ करोड

“पौरख गर्न सके विदेश जानुपर्दैन घरमै रोजगारी मात्र हैन लाखौँ रकम आम्दानी लिन सकिन्छ, ७ वर्ष भारतमा काम गरेँ विदेशमा काम गर्नुभन्दा घरमै काम गर्नुपर्छ भनेर विगत पाँच वर्षदेखि बुवाले सुरु गरेको बिउ उत्पादनमा लागेको छु अहिले मलाई घरै अमेरिका जस्तो भएको छ । परिवारका ११ जना बिउ उत्पादनमा छौँ, अन्य ६ जनालाई रोजगारी समेत दिएका छौँ, वार्षिक ३० लाख न्यूनतम आम्दानी हुन्छ ।”

गणेश बहादुर शाहीको यो अनुभवले भन्छ, कृषि सबैभन्दा उत्तम पेसा हो । बुवाले बिउ उत्पादन गरिरहनुभएको थियो, अन्य युवाहरूले विदेश जाऊँ भन्नुभयो म पनि गएँ, विदेशमा गएका युवाहरूले सरकारले दिएन केही भएन भनेर निराश हुने हैन, युवा आफू लाग्नुपर्छ, केही गर्छु भन्ने सोच भयो भने सरकार खोज्दै आउँछ ।


झट्ट हेर्दा अपत्यारिलो लाग्ने, भिरालो जमिन उत्पादन हुँदैन होला भनेर अनुमान हुने, दैलेखको दुल्लु नगरपालिका १३ मालिकाका किसानहरूले गरेको पौरख दैलेखका लागि मात्र हैन देशकै लागि राम्रो सिकाई हुन सक्छ । भिरालो जमिन, केही जङ्गल र त्यही जङ्गल भित्र देखिने पलाष्टिकका घरहरू यिनै पलाष्टिकका घरभित्र उत्पादन गरेका विभिन्न जातका बिउ बिक्री गरेर यहाँका किसानहरूले गत वर्ष १ करोड ५० लाख रकम गाउँ भित्राउन सफल भएका छन् ।

२०६५ सालबाट सामान्य रूपमा बिउ उत्पादन सुरु गर्नुभएका अगुवा कृषक विष्णु बहादुर शाहीले पलास्टिक घर पाएसँगै बिउ उत्पादनमा झनै प्रेरणा मिल्यो,उनी सँगै ५ जना किसानहरूले सुरु गरेको बिउ उत्पादन अभियान अहिले १ सय ५० किसानको समृद्धिका लागि वरदान जस्तै भएको छ । अहिले मालिकाका १ सय ५० किसानहरू जोडिएका छन् । यहाँका किसानहरूले उत्पादन गरेको बिउ हातेमालो सहकारी संस्था बिउ उत्पादक कम्पनीहरूले सोझै खरिद गरिदिन्छन् । केही बिउ सिधै भारत लगायत अन्य देशहरूमा बिक्री हुने गरेको छ । सहकारीले सङ्कलन गरेर बिक्री गरिदिन्छ र किसानको खातामा पैसा जम्मा हुन्छ ।


सुरुवात गर्दा एक्लै थिएँ अहिले विविएस पढ्न गएको छोरो, ७ वर्ष भारतमा काम गरेर घर फर्केको छोरो, बुहारीहरू र छोरीहरू गरेर ११ जना यसैमा लागेका छौँ, आफैले मालिका सिड प्रोडक्सन प्रा.ली. दर्ता गरेका छौँ, बिउ लगायत अन्य समस्याका लागि एग्रोभेट सञ्चालन गरेका छौँ । विष्णुबहादुर शाहीले बताए ।

विशेष गरेर टमाटरको हाईब्रीट बिउ उत्पादन गर्दै आएको हातेमालो कृषि सहकारी संस्थाले अहिले मकै, बोडी, सिमी, भक्तपुरे काँक्रा लगायत १७ जातको बिउ मालिकामै उत्पादन गरेर बिक्री भइरहेको बताए । बजारको अहिलेसम्म कुनै समस्या नभएको र बिउ कम्पनीहरूले नै बिउ उत्पादन गरिदिन भनेर सुरुमै सम्झौता गर्ने भएपछि किसानहरूलाई निकै सहज भएको बताए । दैलेखमा उत्पादन भएको बिउ अहिले गोरखा सिड कम्पनी, नख्खु सिड कम्पनी, विमल एग्रो चितवन, लगायतले खरिद गरिदिन्छन् । काठमाडौँ, चितवन, नेपालगन्ज धनगढी, सुर्खेत, दैलेख लगायतमा बिक्री हुन्छ ।

कृषि विकास कार्यालय दैलेखले विगत चार वर्ष देखि राम्रो काम गर्ने सक्ने किसान र सहकारीमार्फत बिउ उत्पादनका लागि आवश्यक पर्ने पलाष्टिक घर, मूल बिउ, अन्य बिउहरू खरिदमा अनुदान लगायतको आर्थिक र बेला बेलामा प्राविधिक सहयोग गर्दै आएपछि यहाँका किसानहरूले बिउ उत्पादनको क्षेत्र विस्तार गर्दै गत वर्ष १ करोड ५० लाखको बिउ बिक्री गर्न सफल भएका कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दशरत पाण्डेले जानकारी दिएका छन् ।
किसानहरूलाई थप हौसला प्रदान गर्न कृषकको बारीमै पुगेका पाण्डेले एउटा टनेलमा ५ लाख देखि १० लाख सम्मको सृजना हाईब्रीट जातको बिउ उत्पादन गरेको विषयलाई क्षेत्र विस्तार गर्दै अगुवा किसान विष्णु बहादुर शाहीलाई नै परिचालन गरेर कृषि विकास कार्यालयले जिल्लाभर प्रदान गरेका पलास्टिक घरहरूमा चरणबद्ध बिउ उत्पादन अभियान थालनी गर्ने गरी यो वर्ष काम गर्ने बताए ।

९० प्रतिशत युवा गाउँमै


७ वर्ष अघि मालिकाबाट ९० प्रतिशत युवा र उमेर पुगेका व्यक्तिहरू भारत जानुपर्ने बाध्यता थियो तर अहिले १० प्रतिशत मात्र भारत जाने गरेका छन् अरू सबै गाउँमै बिउ उत्पादनमा लागेर लाखौँ आम्दानी लिन सफल भएको किसान बम बहादुर सिंहले बताएका छन् । विष्णु बहादुर शाही सँगै लागेका हौँ । अहिले हरेक युवाहरूलाई सिकाउँदै तरकारी बिउ उत्पादनमा छन् धेरै युवाहरू गउँमै रोकिएका छन् । बिउ उत्पादनका लागि सिँचाइको अभाव छ, उन्नत हलोको अभाव   छ । बिउ सुकाउने सहरकारीको भवन अगाडीको खलो भत्किएको छ । यस्ता विषयहरूमा सरकारले सहयोग गरिदिएको भए राम्रो हुने बम बहादुर सिंहले बताए ।

यो वर्ष ७२ मिटर लामे टनेलमा टमाटरको हाइब्रिड इम्प्रुभ सृजना, नार्कको सिर्जना, हिमसोना गोर्खा सिड लगायतका कम्पनीहरूले खरिद गरिदिने बिउ उत्पादन सुरु गरेका छन् । स्थानीय सरकारले चासो नदिएको किसानहरूको गुनासो छ । स्थानीय सरकारले हरेक वडामा मागमा आधारित बिउ उत्पादन अभियान थाल्ने हो भने गाउँमै रोजगारी र लाखौँ आम्दानी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार