बेथिति विरुद्धको अभियान जरुरी

सामाजिक परिवेशमा जनतामा देखिएको आक्रोश र निराशालाई स्वाभाविक नै मान्नुपर्ने अवस्था देखिएको छ ।
विकास सबैभन्दा महत्त्वपूर्ण विषय हो, विकास विनाको समृद्धि असम्भव छ त्यसैले सबै क्षेत्रमा विकासको अभियान जरुरी देखिएको छ । नेपालमा शासन सत्ता परिवर्तन पछि विकासले काँचुली फेर्न नखोजेको होइन तर जिल्लामा विकास लगायत शान्ति सुरक्षा र अन्य विभिन्न विषयमा प्रत्यक्ष रूपमा सरोकार राख्ने मुख्य निकायको रूपमा रहेको जिल्ला प्रशासन कार्यालयले यो बारेमा ठोस काम गर्नुपर्ने देखिन्छ ।

राज्यको संरचना यती सम्म गैर जिम्मेवार छ कि कुनै विशेष विकासका लागि काम छिटो गर्नुपर्र्यो भनेर दबाब दिन खोज्दा प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरिदिने धम्की दिने निर्माण व्यवसायीहरूको दादागिरीले विकासमा निकै ठुलो समस्या उत्पन्न भएको छ । यस्तो उदाहरण अन्य जिल्लामा के कसरी चलेको छ तर दैलेख जिल्लामा राम्रो गरौँ, प्रभावकारी गरौँ, गुणस्तरीय काम गरौँ भन्दा उल्टै नियमन गर्ने निकायहरूलाई धम्की आउने गरेका विषयहरू नौला होइनन् ।

बेथिति विरुद्ध अभियानको सुरुवात गर्नेहरूलाई धम्की, सत्य बुझेर जनतालाई सूचना प्रवाह गर्ने पत्रकारलाई धम्की दिने प्रचलन दैलेखमा बढ्दै गएको छ तर पनि सचेत नागरिकहरूले कामचोर व्यक्ति वा संस्था जो सुकैलाई पनि खबरदारी गर्नुपर्ने आवश्यकता देखिएको छ । त्रिदेशीय सडक अन्तर्गत दैलेख देखि महावु सम्मको ४० किलोमिटर क्षेत्रको कामको अहिले त्यस्तै अवस्था छ । जिल्लाको नागरिक समाज, दैलेख सदरमुकामका उद्योगी र व्यापारी सँगै सचेत नागरिकहरूले यो विषयमा रचनात्मक र सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता देखिएको छ । सचेत नागरिक, राजनीतिक दलहरूले दैलेखको रणनीतिक विकासका सवालहरूमा साझा आवाज बुलन्द गर्दै अभियानको थालनी गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार