काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “मैले संसद्मा सुरुकै दिन गरेको संकल्प थियो, सुशासन ।
देशमा एउटा भिआइपी कल्चर स्थापित भइरहेको थियो । हाई प्रोफाइलहरूलाई कानुनले छुनै सक्दैन भन्ने आममनोविज्ञान बनिरहेको थियो । सरकारले नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, त्रिभुवन विमानस्थलबाट सुनको अवैध आयातलगायत काण्डमा इतिहासकै सबैभन्दा ठूलो अनुसन्धान र कारबाही गरेपछि जनतामा लोकतन्त्रप्रति भरोसा बढेको छ ।”
कहिल्यै कानुनले नछुने ठानिएका उच्चपदस्थहरू कानुनको नियन्त्रणमा आएको उल्लेख गर्दै उनले थपे, “देशमा पहुँच होइन, विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कतै कुनै लापरबाही गरेन । यसबाट कानुनको सर्वोच्चता मात्र होइन, लोकतन्त्रकै सर्वोच्चता पनि स्थापित भएको छ । यसलाई मैले लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण भनेको छु ।” यो क्रम निरन्तर जारी रहने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी र सहकारीका ठगहरू पनि राज्यको नियन्त्रणमा आइरहेको बताए ।
“वर्षौंदेखिको विकृति र बेथितिको चक्र भत्काउन सरकार उत्तिकै प्रतिबद्ध छ । एनसेलको शेयर बिक्रीबारे जानकारी पाएलगत्तै अत्यन्तै संवेदनशीलताका साथ यो विषयलाई लिँदै छानबिन तथा अध्ययन समितिमार्फत राष्टिूय हितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ”, उनले भने । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्न थालेको बताएका छन् । उनले कृषिमा राज्यको लगानी नघटेको र उत्पादकत्व नबढेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले भने, “सहुलियत दरमा कृषि ऋण वास्तविक किसानसम्म पु¥याई कृषि क्षेत्रमा उपलब्ध गराइएका अनुदानलाई चालु आर्थिक वर्षभित्र एकीकृत गरी आगामी आर्थि वर्षदेखि किसानको सूचीकरणका आधारमा अनुदान तथा मल वितरण गर्न सुरु गरिँदैछ ।” प्रमुख खाद्यान्न तथा तरकारीमा ‘उत्पादनमा आधारित अनुदान प्रणाली’ लागू गरिने जानकारी दिँदै उनले किसानको दूधको बाँकी बक्यौता २०८० चैतभित्र भुक्तानी गरिने जानकारी दिए ।
“तर यी सुधारले मात्रै कृषि क्षेत्रले फड्को मारिहाल्ने अवस्था छैन”, प्रधानमन्त्री दाहालले भने । किसानका लागि समयमै चार लाख एक हजार मेट्रिक टन रासायनिक मल सुनिश्चित गरिएको जानकारी दिँदै उनले सतह र भूमिगत सिँचाइ आयोजनाबाट थप २१ हजार एक सय ६९ हेक्टरमा सिँचाइ सुविधा पु¥याइएको तथा यस अवधिमा दुई सय ९६ डिप ट्युबवेल र तीन हजार दुई सय ४४ स्यालो ट्युबवेल सिँचाइ प्रणालीको निर्माण भएको बताए ।
कृषिमा अब परम्परागत ढंगले सोचेर पुग्ने अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले खाद्यान्न प्रणाली तथा कृषि क्षेत्रको रूपान्तरणका लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक (विसं २०८१(२०९१) नै घोषणा गरी अगाडि बढ्ने सरकारको तयारी रहेको जानकारी दिए ।
“आगामी असार मसान्तसम्म ३० प्रयोगशालासहितको एकीकृत कृषि तथा पशुसेवा केन्द्र निर्माण सम्पन्न हुँदैछ”, प्रधानमन्त्री दाहालले भने, “कृषि उपजको बढ्दो आयात, जलवायु परिवर्तनलगायत कारणले कृषि क्षेत्रमा परेको चाप कम गरिने छ ।”
प्रमुख कृषि उपजमा आत्मनिर्भरता हासिल गर्न ठूला सिँचाइ आयोजनाको कमाण्ड क्षेत्रमा मल, बीउको सुनिश्चितता एवं संरचनागत सुधारसहित १७ हजार हेक्टरमा चैते धानखेती प्रवद्र्धन गर्ने सरकारको तयारी रहेको प्रधानमन्त्री दाहालले उल्लेख गरे । कृषि उत्पादनको प्रमुख आधार सिँचाइको विस्तार गर्न समग्र तराई क्षेत्र सिञ्चित हुने गरी नहर प्रणाली विकास गर्ने कार्य प्रारम्भ हुने उनले प्रतिबद्धता व्यक्त गरे ।









