दैलेखः दैलेख जिल्ला अदालतले सात बर्सिया बालिका बलात्कार घटनाका कसुरदार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ का ४९ वर्षीय राजीव गुप्तालाई २५ वर्ष कारावासको फैसला गरेको छ । गुप्तालाई (जन्मकैद)सँगै, सात लाख रुपैयाँ जरिवाना, एक लाख पचास हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय भएको अदालतका श्रेस्तेदार उपसचिव बद्रीप्रसाद लामिछानेले जानकारी दिए ।
पीडित पक्षले दिएको उजुरीमा गत वैशाख २९ गते बलात्कार गरेको भनी खुलाइएको घटना प्रहरी अनुसन्धान, स्वास्थ्य परीक्षण प्रतिवेदन र अदालती तहकिकातबाट पुष्टि भएको भन्दै जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त सजाय भएको श्रेस्तेदार लामिछानेले जनाए । पीडित पक्षको उजुरीका आधारमा गुप्तालाई प्रहरीले गएको जेठ ३ गते सुर्खेतस्थित घरबाट गिरफ्तार गरेको थियो ।









