हुम्लाः कर्णाली करिडोर सडक हुम्लाको सिमकोटसँग जोडिन अब ८ सय मिटरमात्रै बाँकी छ । दुल्ली कुनादेखि लालीबगर सम्मको ८ किलोमिटर सडक निर्माण कार्यलाई नेपाली सेनाले तीब्रता दिएर काम पूरा गरी छारेदेखि ल्याप्चेसम्मको करिव ८ सय मिटर सडक निर्माणको काममात्रै बाँकी रहेकाो कर्णाली करिडोर सडक निर्माण कार्यदलले जनाएको छ ।
कर्णली करिडोर सडकअन्तर्गत बाजुराको धलाचौर सडक खण्ड । ’हामीले जिम्मा लिएको कर्णाली करिडोर सडक अन्तर्गत हुम्लाको दुल्ली कुनादेखि लालीबगर सम्मको ८ किलोमिटरमध्ये छारेदेखि ल्याप्चेसम्मको ८ सय मिटर मात्र बाँकी छ, अरु काम पूरा भइसकेको छ,’ कर्णाली करिडो सडक निर्माण कार्यदलका सेनानी अमृत पराजुलीले भने ।
उनका अनुसार अहिले उक्त ८ सय मिटर खण्डमा धमाधम बलाष्टिङ गर्ने काम भइरहेको छ । यो काम पनि चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने र हस्तान्त्रण गरिने उनले बताए । ८ सय मिटर सडकको काम सम्पन्न भएपछि कर्णाली करिडोर हुम्लाको सिमकोटसँग जोडिनेछ । सिमकोटमात्रै नेपालको त्यस्तो जिल्ला सदरमुकाम हो, जहाँ अहिलेसम्म पनि सडक पुगेको छैन । तर बाँकी रहेको ८ सय मिटर सडक बनेपछि सिमकोट पनि सडक सञ्जालमा जोडिनेछ ।









