दैलेखः जनताको सेवामा खटिएका कर्मचारीहरूलाई खेलको माध्यमबाट एकै स्थानमा जम्मा गरेर आपसी समझदारी बढाउने उद्देश्य राखेर दैलेखको महावु गाउँपालिकाले अन्तरपालिका स्तरीय कर्मचारी खेलकुद प्रतियोगिता सुरु गरेको छ ।
बिहीबारबाट सुरु भएको प्रतियोगितामा दैलेखका विभिन्न पालिकाबाट कर्मचारीहरू खेलमा सहभागी भएका छन् ।
दैलेख जिल्लास्थित पालिकामा कार्यरत कर्मचारीहरू बिच हुने प्रतिस्पर्धात्मक खेलमा जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधित्व रहेको महावु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले जानकारी दिएका छन् ।
महाबु कर्मचारी मिलन केन्द्रद्वारा आयोजित खेलकुद प्रतियोगितामा क्रिकेट, व्याटमिन्टन, स्लो बाइक रेस, घैटोफोड लगायतका खेलहरू समावेश गरिएको कर्मचारी मिलन केन्द्रका संयोजक अनिल कुमार पाण्डेले जानकारी दिएका छन् ।
उद्घाटन खेलमा क्रिकेटतर्फ महाबु गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिका बिच खेल भएको छ । सो खेलमा महाबु गाउँपालिकाले ४४ रनले जित हासिल गरेको छ ।
यस्तै, भगवती माई गाउँपालिका र ठाटिकाँध गाउँपालिकाबिच भएको दोस्रो खेलमा भगवतीमाईले जितेको छ ।
अन्य विभिन्न खेलहरू सञ्चालन भइरहेको र शनिवार मौसम प्रतिकुल भएका कारण केही समस्या भएको छ ।
जिल्लाका सबै पालिकाका स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई महावुमा बोलाएर पालिकाका कर्मचारीहरूबिच खेलको माध्यमबाट थप परिचित हुन मद्दत पुगेको महावु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जु पाण्डेले जानकारी दिएकी छन् ।
महावु आएका कर्मचारीहरूले महावु गाउँपालिकाको भूगोल अध्ययन सँगै महावुमा रहेका सम्भावना, यहाँका पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन र भ्रमण समेत भएकोले हरेक पालिकाहरूले यस्ता कामहरू गर्न सकेको खण्डमा अन्तर पालिकाको आपसी सद्भाव कायम हुने पाण्डेको भनाई छ ।









