दैलेख ः स्वास्थ्य सेवा कार्यालय दैलेखमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नारायण नगरपालिकाको आयोजनामा अस्पतालमा रहेका २८ जना बिरामीहरूलाई शनिवार फलफूल वितरण गरिएको हो ।
दिवसको अवसरमा ६ जना कुपोषित बालबालिका, कारागारमा रहेका १६ जना महिलालाई फलफूल वितरण गरिएको जनाइएको छ । यस्तै नारायण नगरपालिका वडा नं. ३ र ६ का रोजगार स्वयम् सेविका, आमा समूह, समुदायका ९० जना महिलाहरू बिच, लैङ्गिक हिंसा, कानुनी प्रावधान,बाल विवाह, सुरक्षित पाठेघर, सरसफाइ, श्रम र कानुनी विषयमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।
दिवसको अवसर पारेर नारायण नगरपालिकाको आयोजनामा सञ्चालन गरिएका विभिन्न कार्यक्रममा सोसेक नेपाल, सशक्तीकरण मञ्च, सेतो गुराँस बाल विकास सेवा, दैलेख, एभरेस्ट क्लव दैलेख, नेपाल परिवार नियोजन शाखा दैलेख, प्रहरी कार्यालय दैलेख, सामाजिक विकाश कार्यालय दैलेख र ईन्सेक दैलेखको समन्वय रहेको जनाइएको छ ।









