दैलेख : सरोकारवालाहरूले उपभोक्ता सचेत हुनुपर्ने बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा शुक्रवार दैलेख सदरमुकाममा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले बेथिति विरुद्ध उपभोक्ताहरूले आवाज उठाउनुपर्ने बताएका हुन् ।
कालोबजारी गर्ने, उपभोक्ता ठग्नेहरूले गरेको गलत कार्यको विरोध गर्न सरोकारवालाहरूले आग्रह गरेका छन् । जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले सचेत नागरिक वा जान्ने सुन्ने सबैले बेथिति विरुद्ध बोल्नुपर्ने बताए ।
राम्रो गर्नेहरूलाई प्रशंसा गर्ने, पौरखीको मर्यादा गर्ने, उदाहरणीय काम गर्नेलाई सम्मान गर्ने संस्कार विकास गर्दै जान सके सुशासनको परिपाटी बस्ने, आम उपभोक्ताले गुणस्तरीय बस्तु र सेवा पाउन सजिलो पर्ने उल्लेख गर्दै सरकारी सम्पत्तिको हिफाजत गर्न सबैको दायित्व हुने शाहीले बताए ।
कार्यक्रममा नारायण नगरपालिका उपप्रमुख तप्ताकुमारी थापाले बजार अनुगमनलाई प्रभावकारी बनाउने, मूल्य अनुसार गुणस्तरीय बस्तुको सुनिश्चितता, उपभोक्ताहरूसँग मर्यादित व्यवहार, सेवालाई सहज बनाउन नगरपालिका क्षेत्रका व्यापारीहरूसँग आफूहरूले छलफल लगायतका कामहरू गर्दै आएको बताइन् ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दैलेख–सुर्खेत चल्ने गाडीले अहिले पक्की सडकमा पनि कच्ची सडक हुँदाको यातायात भाडा असुलेको धेरै जनगुनासो रहेकोले प्रदेश सरकारलाई अनुरोध गरिएको जानकारी गराए ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले बजार अनुगमनलाई प्रभावकारी बनाउन, म्याद नाघेका र गुणस्तरहीन बस्तु फेला पारेको बेला कारबाही गर्ने, सम्बन्धित निकायहरूले उपभोक्ता सचेतना बढाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने लगायतका सुझावहरू राखेका थिए ।









