दैलेख अहिले पनि प्रशस्त मात्रामा स्रोत साधनहरूले भरिपूर्ण जिल्ला हो । दैलेखमा भएको पानी र खानीको मात्र राम्रोसँग सदुपयोग गर्ने हो भने दैलेखका आम नागरिकहरूको आर्थिक अवस्था सुधारमा निकै ठुलो सहयोग पुग्ने देखिएको छ ।
सडकले निकै समस्या पारेको दैलेखका अधिकांश दुर्गम भू भागहरूले अहिले मध्य पहाडी राजमार्गको आगमन सँगै दैलेखका कुना कुनामा बसोबास गर्ने आम नागरीहरूलाई उत्पादनमा जोडिने सुवर्ण अवसर प्राप्त भएको छ ।
अव मध्य पहाडी सडक खण्डका विभिन्न भू भागहरूमा उत्पादन अभियानको सुरुवात गर्नुपर्ने पहिलो दायित्व रहेको छ भने लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको कामलाई मूर्त रूपमा लिने अभियानको थालनी गर्नुपर्ने छ । यो सँगै अध्ययनको अन्तिम चरणमा रहेको पेट्रोलियम अन्वेषण परियोजनालाई निष्कर्षमा पुराउनुपर्ने आवश्यकता देखिएको छ ।
अन्वेषणबाट प्राप्त भएको प्रतिवेदनका आधारमा प्रशोधनको चरणमा जाने बेलामा दैलेख भन्दा अन्यत्र जिल्लामा प्रशोधन गर्ने विषय कसैले पनि उठाउनु हुँदैन र दैलेखमै प्रशोधन गर्नुपर्ने हुन्छ यसमा दैलेखलाई कुनै हालतमा धोका दिने काम कहीँ कतैबाट हुनुहुँदैन ।
यो सँगै दैलेखका अन्य भू भागमा रहेका खोलाहरूबाट विद्युत् उत्पादन र खोलामा रहेको पानीलाई लिफ्टीङ्ग प्रविधि मार्फत सिँचाई अभियान मात्र थालनी गर्न सकेको खण्डमा दैलेखको उत्पादन एकै दिनमा सहजै यातायातका साधनहरू प्रयोग गरेर काठमाडौँ जान सक्ने अवस्था देखिएको छ ।
दैलेख यसै पनि आन्तरिक र बाह्य पर्यटनका हिसाबले निकै महत्वपूर्ण जिल्ला मानिन्छ । यहाँका पर्यटकीय स्थलहरूसँग अन्य जिल्ला भ्रमण गरेर फर्कने पर्यटकहरूको रोजाइमा पार्न सकेको खण्डमा दैलेखको आर्थिक अवस्था सुधारको अर्को महत्वपूर्ण पाटो हुनेछ ।
केन्द्र सरकारले दैलेखलाई जसरी विगत देखिनै हेलाको दृष्टिले हेरेको छ त्यो सोच परिवर्तन गरेर हरेक वर्षको वार्षिक कार्यक्रममा एउटा मात्र ठुलो विकासको लागि बजेट विनियोजन गरिदिएको खण्डमा पहाडी बस्तीमा पनि उत्पादन हुन्छ, युवाहरू रोजगारी पाउन सक्छन् , विदेश जान छोडेर गाउँमै उत्पादन अभियानमा जोडिन्छ भन्ने गतिलो उदाहरण दिन दैलेख सफल हुने छ । यसका लागि दैलेखबाट चुनिएर गएका नेताहरूले साझा धारणा बनाउनु अहिलेको आवश्यकता हो ।








