कर्णाली प्रदेश कान्छो प्रदेश हो । कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा सडकमा दलहरूको तर्फबाट सुरुमा एक्लै उत्रिएका यामलाल कँडेल अहिले कर्णालीको मुख्य मन्त्री बनेका छन् ।
जति वेला यामलाल कँडेल प्रदेश प्राप्तिको आन्दोलनमा थिए त्यतीवेल उनी पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा थिएनन् उनले थालेको अभियानले सार्थकता पायो, प्रदेशको नामाँकरणमा कर्णाली छुट्टै प्रदेश बन्यो उनीसँगै आन्दोलनमा होमिएका केहीले ज्यान गुमाएर चार जना सहिद भय, उनीहरूको सपना पुरा गर्ने भन्दै कर्णाली प्रदेशले तीन वटा मुख्यमन्त्री पाई सक्यो, मुख्य मन्त्रीहरूले गरेका कामहरू पनि हेरिसक्यो जति हुनुपर्ने थियो त्यो हुन सकेन, जसरी कर्णालीको विकास हुनुपर्ने थियो सोही अनुसार विकास हुन सकेन भन्ने जनभावना बढी रहेको बेलामा चौथो मुख्य मन्त्रीका रूपमा यामलाल कँडेलले कर्णाली प्रदेशको जिम्मेवारी प्राप्त गरेका छन् ।
नेकपा एमालेले एक्लै २० सिट प्राप्त गर्दा हातमै आएको अवसर गुमाउँदा पनि पार्टीप्रति वफादार भएर काम गरेका यामलाल कँडेललाई पार्टी भित्रैबाट उनको कद घटाउने विभिन्न प्रयासहरू नभएका होइनन् तर पद्धतिभित्र रहेर काम गर्ने कँडेलको शैलीका कारण उनको कद घटाउन खोज्नेहरू आफै समस्यामा परेको पछिल्लो राजनीतिक घटनाक्रमले देखाएको छ ।
तत्कालीन समयमा २० सिट प्राप्त गरेको एमाले २०७९ को चुनावमा आएर १० सिटमा खुम्चियो, नौ दलको गठबन्धनसँग जुध्ने विषय चानचुने विषय थिएन तर पनि एमालेले १० सिट प्रदेश सभामा विजयी भयो, यामलाल कँडेल समेत विजयी भएसँगै उनी संसदीय दलको नेता बने पछिल्लो राजनीतिक कोर्स परिवर्तन सँगै उनी मुख्य मन्त्रीको जिम्मेवारीमा छन् ।
विगत ६ वर्षदेखि कर्णालीमा सत्ता चलाएकाहरू यो वा त्यो बहानामा चङ्गुलमा फसेको जनगुनासो धेरै छ, कर्णालीमा विकास गर्ने विषय आफन्तवाद र परिवारवादको पेरिफेरिमा गयो भन्ने जनगुनासो चिर्दै कर्णालीका ठुला विकासको विषयमा योगदान गर्नुपर्ने जिम्मेवारी अहिलेका मुख्यमन्त्रीसामु चुनौतीको रूपमा रहेको छ ।
कर्णाली बनाउने हैन कर्णालीको नाममा व्यक्ति मोटाउनेहरूको ठुलो घेराबन्दी अहिले पनि कायमै रहेको छ । वर्तमान मुख्य मन्त्रीले दलाल, भ्रष्ट र तस्करहरूको घेरा तोडेर कर्णाली परिवर्तनको नयाँ खाका कोर्नुपर्ने अहिलेको आवश्यकता हो ।








