मानिसको उमेरको हिसावसँग तुलना गर्ने हो भने १८ वर्षलाई वयस्क अवस्था भनिन्छ । पत्रिका प्रकाशनको १७ वर्ष पुरा गरेर १८ औं वर्ष प्रवेश गर्दै गर्दा सिमिति स्रोत र साधनका बाबजुत पत्रिका प्रकाशनको सुरुवातदेखि जोडिएका सवै प्रिय पत्रकार साथिहरुलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु ।
धमाका दैनिक सँगै जोडिएका दर्जनौं साथिहरु अहिले विभिन्न राष्ट्रिय सञ्चार माध्यमहरुमा अब्वलता हाँसिल गरिरहेको देख्दा निकै खुशी लागेको छ । यो बिषय धमाका दैनिकको गौरवको बिषय हो । परिस्थिती र अवस्थाले आउने जाने क्रम निरन्तर चलिनै रहन्छ ।
दुर्गम दैलेखबाट प्रकाशन भएको पत्रिका साप्ताहिक हुँदै दैनिकमा पुग्दा नेपाल सरकारको स्थानीय ‘क’ वर्गमा वर्गिकरण हुनु पनि हाम्रो सफलता हो तर अँझै हामिले सोचेअनुसारको सफलता प्राप्त गर्न सकेका छैनौं, दैलेखको भूमिबाट प्रकाशित यो पत्रिका राष्ट्रिय स्तरको पत्रिकाको सूचिमा पुर्याउनुपर्ने हाम्रो चुनौती अहिलेपनि कायमै छ । हरेक पटक लड्दै, धुलो टकटक्याउँदै पुनः उठेर हिड्ने अभियानले वयस्क अवस्थामा पुग्दै गर्दा समाजभित्रका अराजकता, दण्डहिनता, बेथिती, कुसंस्कारका विरुद्धको अभियानमा हामि अँझै तिखारिदै गएका छौ ।
सत्य तत्थ्य र निश्पक्ष रुपमा हाम्रा सामग्रीहरु प्रकाशन भईरहँदा समेत केही नियतमै खोट भएकाहरुले गरेको विश्लेषण हाम्रा लागि झनै प्रगतीको मार्ग बनेको हामिले विश्लेषण गरेका छौं । हाम्रो यात्रा कसैसँग आग्रह वा पूर्वाग्रहका हिसावले सुरु भएको पनि थिएन, आज भोलि र बिसौं बर्ष सम्म निरन्तर चलिरहने छ । यात्राका यात्रीहरु फेरबदल हुने बिषयलाई हामि समयचक्र सँगै हुने स्वभाविक कुरा ठान्छौं ।
२०६२÷ ०६३ को जनआन्दोलन पछिको उपलब्धिलाई हामिले संस्थागत गर्नुपर्ने दायित्व हाम्रो पनि थियो, परिवर्तनको आन्दोलनका लागि सडकमा आउन डराएको अवस्थामा नेपाली पत्रकारहरुले अदम्य शाहस गरेर परिवर्तनका लागि लडेको लडाईले हामिलाई बारम्बार झस्काईरहन्छ । मुलुकको परिवर्तन सँगै कुण्ठित भएको सूचनाको अधिकारलाई दैलेखमा पनि उजागर गर्ने उद्देश्यले पहिलो पत्रिकाका रुपमा हामिले सुरु गरेको साप्ताहिक पत्रिका अहिलेपनि निरन्तर छ ।
बिडम्बना आन्दोलन पछि बनेका विभिन्न सरकार, संघीयता पछिका विभिन्न सरकारको सोच परिवर्तन हुन सकेन्, शैली परिवर्तन हुन सकेन, कर्मचारी तन्त्रको सोच र शैली परिवर्तन हुन सकेन भन्ने जनगुनासो किन बढीरहेको छ यो विषय नेपालका राजनीतिक दलहरुले समिक्षा गर्नुपर्ने देखिन्छ । पछिल्ला दिनहरुमा भ्रष्टीकरण, दलालीकरण र माफियाहरको बिगबिगी बढेको छ । त्यो रोग वडा सम्म आएको छ । यो समस्या सवै क्षेत्र, तह र तप्कामा धेरै थोरै मात्रात्मक फरक होला तर स्पष्ट रुपमा देखिदै आएको छ ।
अव चुनौती छ हामि सकिने कि ? दलालीमा घोषीत हुने कि ? सुधार्ने प्रयास गरेर अगाडी बढ्ने, चाहे त्यो मिडिया किन नहोस्, चाहे त्यो राजनीतिकर्मी किन नहोस्, चाहे कर्मचारी तन्त्र किन नहोस् ? गम्भिर समिक्षा गरेर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता बनेको छ । चुनौती र समस्याहरु छन् तर जेनतेन सवैखाले समस्याहरुको बिश्लेषण गर्दै आफ्नो मर्यादा कायम राख्दै धमाका दैनिक पत्रिका अहिले सम्म निरन्तर छ । हामिले शिखर चुम्ने योजना बनाएका छौं तर पछिल्ला दिनहरुमा देशमा देखिएको आर्थिक संकट लगायतका बिभिन्न समस्याहरुले हाम्रो शिखर चुम्ने चाहना अँझै केही बर्ष कुुर्नुपर्ने अवस्था छ ।
आजसम्म यो सहयात्रामा जोडिनुहुने सहयात्रीहरु, हामिलाई मायाँ गर्नुहुने पाठकवर्ग, बिज्ञापनदाता, नागरिक समाज, उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी, शुभचिन्तक सबैमा नयाँ बर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।








