‘उत्तेजनाले समस्या सुल्झँदैन’

काठमाडौँः एमाले अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा नआई संयमित ढङ्गले विधिअनुरूप समस्याको समाधान खोज्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकपछि बोल्दै उनले काँग्रेसका कारण सदन सञ्चालन अवरुद्ध भएको र विधेयक अघि बढाउने कार्य प्रभावित भएको प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष ओलीले भने, “काँग्रेसले आक्रोश र पीडाले जेपायो त्यही बोलिरहेको छ । यसो गर्नु हुन्न । संसदीय शासन प्रणालीलाई प्रणालीकारूपमा रक्षा गर्नुपर्छ, यसको मूल्य र मान्यतालाई संरक्षण गर्दै अघि बढ्ने कुरा गर्नुपर्छ ।”
सदन अघि बढाउने, चल्ने र चलाउने विषयमा आफ्नै खाले मर्यादा र सीमा रहेको बताउँदै एमाले संसदीय दलका नेता ओलीले पुराना अनुभवका आधारमा कमी कमजोरीलाई सच्याएर जानुपर्ने आवश्यकता उनले औँल्याए ।

अध्यक्ष ओलीले भने, “पहिलेको सरकारको विधेयक पारित गर्न ध्यान नै थिएन, अहिलेको सरकार भरखर आएको छ । काँग्रेस तर्कमा आउँदैन । उहाँहरू ढिपी र जिद्दीमा जानुहुन्छ । त्यो तरिका सच्याउनुपर्छ ।” सरकारले अवरुद्ध सदनलाई सञ्चालन गर्न समन्वयकारी भूमिका निर्वाह गरिरहेको सुनाउँदै उनले बजेट र विधेयक तयारी, प्रस्तुति र छलफलको कार्यभार भएकाले अवरुद्ध सदनमै मात्रै अल्झिएर बस्ने कुरा नभएको प्रतिक्रिया दिए ।

पूर्वप्रधानमन्त्री ओलीले भने, “यतिखेर हिउँदे अधिवेशन बन्द हुनैपर्दथ्यो । पन्ध्र दिनको समयावधिपछि बजेट अधिवेशन सुरु हुनुपर्छ । जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यो अघि नीति तथा कार्यक्रम पास गर्नुपर्छ ।”
अधिवेशन अन्त्यलाई सामान्यरूपमा लिनुपर्ने र स्वाभाविक प्रक्रिया भएको उनले बताए । काँग्रेस प्रमुख सचेतक रमेश लेखकले आफ्नो पार्टीले राखेको मागलाई बेवास्ता गर्दै चालु सदन अन्त्य निर्णयप्रति असहमति रहेको प्रतिक्रिया दिए ।

सहकारीको रकम अपचलनका विषयमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संसदीय छानबिन समिति गठन होस् भनी नेपाली काँग्रेसले माग गरी आएको जनाउँदै उनले सुशासनप्रति सरकारले बेवास्ता गरेको आरोप लगाए । नेकपा (माओवादी केन्द्र)का युवा नेता माधव सापकोटाले सोच अनुरूप प्रभावकारी ढङ्गबाट चालु विधेयक अधिवेशनलाई सञ्चालन गर्न नसकिएको प्रतिक्रिया दिए । उनले भने, “विधेयकभन्दा राजनीतिक विषयले नै बढी प्राथमिकता प्राप्त ग¥यो । आउने अधिवेशनमा यसको बोझ बोक्नुपर्छ जस्तो देखिन्छ ।”

नेपाली काँग्रेसका तर्फबाट निरन्तर अवरोध भएपछि केही दिन पर्खनु र नपर्खनुको औचित्य नभएपछि आजै अन्त्य गरिएको जनाउँदै नेता सापकोटाले सदनमा दैनिक जुहारी, अवरोधको रडाको देखाएर जनतालाई निराश बनाउनुभन्दा अन्त्य भएको ठिकै रहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार