दैलेख : दैलेखको देवकोटा चौक फराकिलो बनाउने अभियान तुहिएको छ । नारायण नगरपालिकाले केही समय अघि देवकोटा चौकलाई खुल्ला बनाउने, सुन्दर बनाउने र आई पर्ने सवै खाले विपत्तिबाट जनता जोगाउने अभियान भन्दै डोजर चलाएको थियो । चौकमै रहेको देवकोटाको सालिक भत्काएर बिच भागमा शालीक पुनः निर्माण गर्ने भनेर भत्काउँदा नगरपालिकालाई निकै आलोचना गरिएको भएपनि अहिले जिल्ला समन्वय समितिले बल मिचाई गर्दै खाली गराएको जमिनमा पुनः पर्खाल लगाएपछि देवकोटा चौकका बासिन्दाहरू आक्रोशित बनेका छन् ।
बारम्बार आग्रह गर्दा पनि जिल्ला समन्वय समितिले अटेर गरेको गुनासो नगरपालिकाको छ । हामीले चौकलाई व्यवस्थित गराउन खोजेका हौँ, सार्वजनिक सम्पत्तिको सबैले सुरक्षा गर्नुपर्छ तर अति आवश्यक भएका विषयमा केही लचकता अपनाउँदै सुन्दर नगर बनाउने अभियानको थालनी गरौँ भन्दा जिल्ला समन्वय समितिले अटेर गरेको र नगरपालिका भित्रको मातहतमा रहेको स्थानमा खुल्ला गराउने अधिकार नगरपालिकाको रहेको भन्दै वडा नं. १ का वडा अध्यक्ष सन्देश कुमार श्रेष्ठ पनि आक्रोशित छन् । नगरपालिकाको कार्यपालिकाले निर्णय गरेको खण्डमा पर्खाल भत्काउने श्रेष्ठको प्रतिक्रिया छ ।
कहि कतै आगलागी हुँदा, कुनै विपदका घटना हुँदा बाक्लो बस्ती भएको देवकोटा चौकमै आएर सुरक्षित हुने महत्वपूर्ण स्थल भएकोले व्यवस्थापनमा लागेको भए पनि सहयोग नपाएको गुनासो नगर प्रमुख लोमन शर्माको छ । चौकका बासिन्दाहरूले के भन्नुहुन्छ सोही अनुसार नगरपालिकाले साथ दिने शर्माको प्रतिक्रिया छ ।
जिल्ला समन्वय समितिका समन्वय प्रमुख नमराज शाहीले यस अघि सडक चौडा बनाउने विषयमा नारायण नगरपालिका लगायत सर्वदलीय बैठकमा भएको सहमति अनुसार काम नभएपछि सुरक्षाका हिसावाले आफ्नो मातहतको सरकारी जग्गाभित्र घेरवार गरेको बताएका छन् ।
नारायण नगरपालिकाले पुरानो घर भत्काएपछि अन्य संरचना विस्तार र सुरक्षा घेरावरलाई व्यवस्थित बनाउने भन्ने सहमति भएको थियो सोही अनुसार नगरपालिकाले गर्नुपर्ने काम गरेन बाध्य भएर आफूले आफ्नो क्षेत्रको सुरक्षाका लागि पर्खाल लगाइएको शाहीको भनाई छ । अनावश्यक लगानी डुवाएको भन्दै नगरपालिकाको आलोचना भइरहेको छ ।









