दैलेख : दैलेखमा सुरु हुन लागेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङका लागि रिग हाउस ( फलामै फलाम जोडिएको ड्रिलिङको लागि संरचना) निर्माणको काम सुरु गरिएको छ । जलजले आइपुगेका १ सय २० ट्रकमा आएका सामानहरूको व्यवस्थापन सँगै रिग हाउस निर्माणको काम थालनी गरिएको हो ।
रुपैडिया नाकाबाट आउनुपर्ने १ सय ५० ट्रकहरू मध्ये १२० ट्रक जलजले आई पुगेका छन् । दैलेखको भू भागमा रहेको पेट्रोलियम पदार्थ कति परिमाणमा छ भनेर पत्ता लगाउन अन्तिम अन्वेषणको कामका लागि जलजलेमा ४ किलोमिटर ड्रिलिङ गर्न रिग हाउस निर्माणको काम सुरु गरिएको हो । निकै ठुला र धेरै तौल भएका सामानहरूको व्यवस्थापनका लागि जलजलेमा तीन वटा क्रेनको प्रयोग गरिएको छ । ड्रिलिङ मुख्य केन्द्र मानिएको जलजले स्थानमा करिब ३० मिटर उचाइमा बन्ने रिग हाउसको तल्लो भाग निर्माणको काम सुरु गरिएको छ ।
वैशाख अन्तिम सम्म आउनुपर्ने सबै सामान जलजले आई पुग्ने र जडान कार्य सम्पन्न भएसँगै अन्वेषणको काम सुरु हुने चिनिया प्राविधिकले जानकारी दिएका छन् । अहिले चिनिया प्राविधिक र नेपाली प्राविधिक सबै मिलेर काम सुरु गरिरहेका छन् । करिब ४ महिनाभित्र दैलेखमा कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुरा पत्ता लाग्ने जानकारी पाएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । सुरक्षाको व्यवस्थापनका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको भुसालको भनाई छ । आवश्यक परेका बेलामा २४ सैं घण्टा सुरक्षा लगायतका अन्य सबै समस्या समाधानमा सक्रियतापूर्वक भूमिका खेलेको भुसालले बताएका छन् ।
नेपालमा पहिलो पटक पेट्रोल अन्वेषण परियोजना सुरु हुन लागेकोमा सबै नेपालीमा खुसी छाएको नेपाली सहजकर्ता माईज हुसेनले जानकारी दिएका छन् । नेपालको विकासको सम्भावना देखाउने र देश समृद्धिमा जाने बाटो खुल्ने महत्त्वपूर्ण अवसर नेपाल र नेपालीले प्राप्त गर्न सक्ने हुसेनले बताए ।
तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीको पालामा नेपाल सरकार र चीन सरकारसँग २०७५ सालमा भएको जुटी जी सम्झौता अनुसार चीन सरकारको करिब २ अर्ब ५० करोड लागतमा दैलेखको भू भागमा पेट्रोलियम अन्वेषणका विभिन्न कामहरू सम्पन्न भएका छन् । नेपाल सरकारका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत आयोजना स्थलको अध्ययन र अनुसन्धान सँगै कामले थप तीव्रता पाएको हो ।
दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा नेपाल सरकारले ४५ रोपनी जग्गा अधिग्रहण गरेर अन्तिम अन्वेषणको काम सुरु गरिएको छ । प्रभावित क्षेत्र जलजलेका १७ र अन्य पालिकाका १७ जना गरेर ३४ जना स्थानीयले रोजगारी प्राप्त गरेका छन् । अन्वेषण स्थल जलजले हेर्न अहिले आन्तरिक पर्यटकहरूको आकर्षण बढ्दै गएको छ ।









