आफ्नै भवनमा प्रहरी

दैलेखः जिल्लाको गुराँस गाउँपालिका–८ मा रहेको प्रहरी चौकी लालिकाँडाको नवनिर्मित भवनको निर्माण कार्य सम्पन्न भएको छ । विगतदेखि असुरक्षित भवनमा रहेर नागरिकलाई सुरक्षा दिँदै आएको प्रहरीचौकी लालीकाँडाले करिब १६ वर्ष पछि सुविधा सम्पन्न भवन पाएको हो ।

भवनको निर्माण कार्य आर्थिक वर्ष २०७९÷०८० बाट सुरु गरिएको थियो । चार करोड चौबीस लाख असी हजार छ सय छपन रुपैयाँ लागत अनुमान गरिएको प्रहरी भवन निर्माणका लागि चार करोड आठ लाख पन्चानब्बे हजार तीन सय बीस पचास पैसा खर्च भएको जनाइएको छ ।

शुक्रवार नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्य र गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले गरेका छन् । जनताको सुरक्षाका लागि रातदिन खट्ने प्रहरीले सुविधा सम्पन्न भवन पाएसँगै जनताको सेवा प्रभाव थप प्रभावकारी हुने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले बताएका छन् ।

आफ्नै कार्यकालमा लालिकाँडा प्रहरीलाई नयाँ भवन हस्तान्तरण गर्न पाएको भन्दै गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बि.सी.ले खुसी व्यक्त गरेका छन् । उनले २०५५ सालदेखि असुरक्षित भवनमा बस्दै आएको प्रहरी चौकी लालिकाँडा भवन निर्माणको काम गाउँपालिकाका पहलमा सुरु भएको थियो । भवन उद्घाटन कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल प्रहरी प्रमुख सुनिल दाहाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार