पालिकाको सक्रियता खै ?

गर्मी याम बढेसँगै आगलागीका विभिन्न किसिमका घटनाहरू घटी रहेको अवस्था छ । स्थानीय सरकार गठन भएको करिब करिब ७ वर्ष पुग्नै लाग्दा पनि प्राकृतिक विपत्तिका बेलामा कसरी सुरक्षा अवलम्बन गर्ने भन्दै गर्नुपर्ने सचेतना अभियान भने अहिलेसम्म प्रभावकारी बनाएको अवस्था देखिएको छैन ।

दैलेखको मात्र विषयलाई उठान गर्ने हो भने पनि अहिले दैलेखका सबै पालिकाका जङ्गलहरूमा आगलागी भएको अवस्था छ । आगलागी भएका स्थानमा सुरक्षाको अवस्था भने निकै चिन्ताजनक देखिएको छ । कसरी वनजङ्गल सुरक्षा गर्ने भन्ने विषयलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकेको गुनासो जनसमुदायले गरिरहेका छन् ।

स्थानीय सरकारहरूले जसरी डोजर मार्फत सडक निर्माणको कामलाई तीव्रता दिएका थिए सोही अनुसार मासिएका प्राकृतिक स्रोत साधनहरूको सदुपयोग गर्ने विषयमा भने चासो देखाएका छैनन् । आगो लगाउने व्यक्तिहरू पनि समुदायकै व्यक्ति हुन त्यस्ता व्यक्तिहरूको पहिचान गरेर आवश्यक कानुनी कारबाही गर्ने, वडा वडामा आगलागी हुन नदिने र भएको खण्डमा पनि कसरी सुरक्षा अवलम्बन गर्ने भन्ने विषयमा लापरबाही गरिएको अवस्था छ ।

हरेक स्थानीय सरकारले आफ्नो क्षेत्रमा भएको आगलागीको विषयलाई गम्भीरतापूर्वक लिँदै कसरी सुरक्षा अवलम्बन गर्ने भन्ने विषयमा पालिकामा बहस र पैरवी सँगै स्थानीय बासिन्दाहरूको सक्रियताको अभियान थालनी गर्नुपर्ने अहिलेको आवश्यकता हो । बस्तीतर्फ आगो आउँदै गर्दा मात्रै चासो र चिन्ता व्यक्त गर्ने नभई वन जङ्गलको आगलागीलाई पनि कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा स्थानीय प्रहरी, स्थानीय निकाय र अन्य निकायहरूले साझेदारी अभियानको थालनी गर्दै भर्खरै फैलन थालेको आगो नियन्त्रण गर्नेतर्फ ध्यान दिनुपर्ने अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार