‘नागरिकका समस्यामा प्रतिबद्ध छौँ’

दैलेख : यहाँका स्थानीय तहका जनप्रतिनिधिले आफूहरूले नागरिकका समस्याप्रति प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थानले जलवायु परिवर्तनले पारेको प्रभावसँगै खानेपानी, स्वच्छता तथा सरसफाइ क्षेत्रमा त्यसले पारेको प्रभावका विषयमा स्थानीय सरकारसँग गरेको छलफल कार्यक्रममा उनीहरूले नागरिकका समस्याप्रति प्रतिबद्ध रहेको बताएका हुन् ।

जलवायु परिवर्तनका कारण खानेपानी, स्वच्छता तथा सरसफाइ क्षेत्रमा परेको प्रभावलाई न्यूनीकरण गर्न योजना बनाएर लागेको स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिले जनाएका छन् । अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थानले सञ्चालन गरेको गोष्ठीमा महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जु पाण्डेले जलवायु सम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइन् ।

उनले यसका लागि रणनीति आवश्यक पर्ने बताइन् । कार्यक्रममा सहभागी सरोकारवालाहरूले खानेपानी, स्वच्छता तथा सरसफाइ क्षेत्रलाई जलवायु उत्थानशील बनाउन सबैको सहयोग रहनुपर्ने बताएका थिए । जलवायु परिवर्तनले भविष्यमा पार्ने असरका विषयमा सम्बन्धित निकायको ध्यान रहनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा भगवतिमाई गाउँपालिकाका उपाध्यक्ष मिना खड्काले खानेपानी, स्वच्छता तथा सरसफाइ क्षेत्रलाई जलवायु उत्थानशील बनाउन काम गर्दै आएको बताइन् । नौमूले गाउँपालिकाका उपाध्यक्ष गंग बहादुर शाहीले जलवायु परिवर्तनको अवस्थालाई न्यूनीकरण गर्ने प्रतिबद्धता जनाए ।

खानेपानीका क्षेत्रमा साझा धारणा बनाएर काम गर्ने जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । जलवायु उत्थानशीलका क्षेत्रमा सबैलाई समेट्दै लैजाने बताए । ठाटिकाँध गाउँपालिकाका उपाध्यक्ष देवीराम बडूवालले जलवायु परिवर्तन र खानेपानीका क्षेत्रलाई नागरिक मैत्री बनाउने प्रतिबद्धता जनाए ।

गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवा कुमारी खड्काले आम नागरिकलाई खानेपानीको सहज पहुँचमा ल्याउनका लागि गुराँसले एक घर एक धारा नीतिलाई अघि बढाएको बताइन् । उनले एक घर एक धाराको नीतिले आफ्नै पाँच वर्षे कार्यकालमा पूर्णता पाउने बताइन् । खानेपानी आयोजनाहरूलाई मजबुद राख्ने खड्काले प्रतिबद्ध रहेको बताइन् ।

कार्यक्रममा भैरवी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले पालिकामा खानेपानीको आवश्यक रहेकाले आम नागरिकको आवश्यकत्तालाई मध्यनजर गर्दै पालिकाले यसलाई ध्यानमा राखेर कामहरू अघि बढाएको बताइन् ।
खानेपानी अति आवश्यक रहेकाले यसलाई पहिलो प्राथमिकता दिनुपर्ने भण्डारीले बताइन् ।

दुल्लु नगरपालिकाकी उपप्रमुख विना कार्कीले टोल व्यवस्थापन समिति मार्फत नगरपालिकाका सबै क्षेत्रमा खानेपानीको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाइन् । डुंगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले खानेपानीका योजनालाई दिगो रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रम समापनमा बोल्दै एभरेस्ट क्लबका सचिव कृष्ण केसीले जलवायु परिवर्तन र खानेपानीको सही व्यवस्थापनका लागि स्थानीय सरकारसँगै सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । स्थानीय सरकारकार र सम्बन्धित निकाय खानेपानी, स्वच्छता तथा सरसफाइ क्षेत्रलाई जलवायु उत्थानशील बनाउन लाग्नुपर्ने सचिव केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार