रास्कोटमा खाद्य डिपो स्थापना

कालीकोट : कालीकोटको रास्कोट नगरपालिकामा खाद्य डिपो स्थापना भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहकार्यमा रास्कोट नगरपालिकाले खाद्य डिपो स्थापना गरेको हो । खाद्यान्नका लागि सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्म जानुपर्ने नागरिकको बाध्यता अन्त्य गर्न नगरपालिकामा नै खाद्य डिपोको स्थापना गरिएको हो ।

गाउँमै सहज र सुलभ तरिकाले खाद्यान्न आपूर्ति गर्न उद्देश्यका साथ खाद्य डिपो सञ्चालनमा ल्याएको नगरपालिकाका उपप्रमुख मनीराज बरालले बताए । “खाद्य डिपो सञ्चालनमा आएसँगै आम नागरिकलाई सहज खाद्यान्न आपूर्ति र उत्पादित रैथाने बाली लगायतका कृषिजन्य बस्तुको बजारीकरणमा सुनिश्चितता भएको छ ।”,

उनले भने, “खाद्य सुरक्षाको सुनिश्चततामा योगदान दिने, खाद्यान्नको अभावमा जीवन जोखिमको न्यूनीकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुन नदिने उद्देश्यले खाद्य डिपोको स्थापना गरिएको छ ” सरकारले खाद्यान्न निःशुल्क ढुवानी गर्ने भएकाले नागरिकले पाँचदेखि सात प्रतिशतसम्म सहुलियतमा खाद्यान्न प्राप्त गर्ने उप–प्रमुख बरालले बताए । “यो खाद्य डिपोबाट सान्नी त्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका बासिन्दालाई खाद्यान्न खरिदमा सहज हुनेछ”, उनले भने, “डिपो स्थापनाले करिब १० हजार घरधुरी लाभान्वित हुनेछन् ।”

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार