दैलेखः यहाँको नारायण नगरपालिकामा रहेका दुई वटा स्वास्थ्य चौकीलाई किशोर किशोरीमैत्री प्रमाणीकरण गरिएको छ । किशोर किशोरीमैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने न्यूनतम सूचक पूरा गरेपछि यहाँको बेलासपूर स्वास्थ्य चौकी र त्रिवेणी स्वास्थ्य चौकीलाई किशोर किशोरीमैत्री प्रमाणीकरण गरिएको हो ।
किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका लागि आवश्यक मापदण्ड पूरा गरेकाले नारायण नगरपालिका–३ मा रहेको बेलासपूर स्वास्थ्य चौकी र नारायण–५ मा रहेको त्रिवेणी स्वास्थ्य चौकीलाई किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताए । किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका लागि ८ वटा मापदण्ड कम्तीमा ८० प्रतिशत सूचक पूरा गरेको हुनुपर्ने हुन्छ ।
नगरपालिका स्वास्थ्य शाखाले किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका लागि नगरपालिका भित्रका दुई वटा स्वास्थ्य संस्थाहरूलाई छनौट गरेको थियो । जस अनुसार किशोर किशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ अनुसारको मापदण्ड पुरा गरेका दुई वटा स्वास्थ्य संस्थालाई किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरिएको हो ।
किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका लागि बेलासपूर स्वास्थ्य चौकीले ९३.३३ प्रतिशत र त्रिवेणी स्वास्थ्य चौकीले ९५.५ प्रतिशत सूचक पूरा गरेका स्वास्थ्य शाखा प्रमुख खड्काले बताए । स्वास्थ्य संस्थालाई किशोर किशोरीमैत्री प्रमाणीकरण गर्नका लागि सेभ द चिल्डे«न, एभरेस्ट क्लब दैलेख पावर परियोजनाको प्राविधिक तथा सामग्री सहयोग रहेको जनाइएको छ ।
यस्तै, किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख लोमन शर्माले दुई वटै स्वास्थ्य संस्थालाई किशोर किशोरीमैत्री बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गर्ने कार्य कर्णाली प्रदेशमै नयाँ भएकाले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।









