दैलेखः नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहले पत्रकारहरूले पेसाको मर्यादालाई ख्याल गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष शाहले यस्तो बताएका हुन् ।
पत्रकारले समाजको परिवेश, अवस्था र प्रविधिलाई आत्मसाथ गरेर पत्रकारिता गर्नुपर्ने बताउँदै अध्यक्ष शाहले सिद्धान्त, सङ्गठन र सङ्घर्ष बुझेको पत्रकारले मात्र पत्रकारिता पेसालाई दिगो बनाउन सक्नेमा जोड दिए । पत्रकारितामा कलम चलाएर हिँडेको नभए पनि पत्रकारिता पेसाको मर्म र अवस्थालाई राम्रोसँग बुझेको बताउँदै अध्यक्ष शाहले पत्रकारले आफूलाई प्रविधिसँग घुलमिल बनाएर अघि बढ्नुपर्ने बताए ।
यसैगरी, नेकपा एमाले कर्णाली प्रदेशका प्रचार विभाग प्रमुख रमेश शाहीले प्रेस चौतारीको हितमा पार्टीले गरेका कुनै पनि निर्णयलाई सबैले स्वीकार गरेर अघि बढ्नुपर्ने बताए । साथै उनले पहिले आफ्नै सङ्गठनसँग र पछि अन्य सङ्गठनसँग मिलेर अघि बढ्न सक्यौँ भने सफलता प्राप्त सकिने बताए ।
कार्यक्रममा एमाले केन्द्रीय प्रचार विभाग सदस्य टिका विष्टले सङ्गठनमा महिला नेतृत्व स्थापित गराउनका लागि उचित अवसर र मौका दिनुपर्नेमा जोड दिइन् । प्रेस चौतारी नेपालको केन्द्रीय सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज विष्णु शर्माले प्रेस चौतारीका सबै गतिविधिहरू महासङ्घ लक्षित बनाउन निर्देशन दिए ।
उनले प्रेस चौतारीका सिपाहीहरू जो कोही पनि इमानदार भएर सङ्गठनमा लागेका सबैले अवसर प्राप्त गर्ने बताए । ‘सङ्गठन निर्माणमा इमानदार भएर लागौँ । इमानदारहरूको मूल्याङ्कन हुन्छ । सबैको दायित्व सङ्गठनलाई मजबुत बनाउनु हो ।’, कर्णाली प्रदेशका इन्चार्ज शर्माले भने ।
प्रेस चौतारी नेपाल केन्द्रीय अनुशासन आयोगका अध्यक्ष नवराज महत्ताराले कुनै पनि सङ्गठनलाई अनुशासित बनाउन सकिएन भने त्यस्तो सङ्गठन दिगो र प्रभावकारी हुन नसक्ने भएकाले प्रेस चौतारीलाई अनुशासित र सङ्घर्षशील सङ्गठनका रूपमा अघि बढाउन सबैलाई निर्देशन दिए ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेशका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लागत अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुति गरिएको थियो । भेलाले समग्रमा प्रेस चौतारीको कर्णाली प्रदेशको अवस्था र पत्रकार महासङ्घका बारेमा भइरहेका गतिविधिका बारेमा समीक्षा गरेको थियो ।









