अहिले देशभरका स्थानीय सरकार, प्रदेश र संघ सरकारले नीति तथा कार्यक्रम र बजेट पारित गरिसकेको अवस्था छ । नीतिमा देखिएका कतिपय प्रभावकारी कामहरूको बारेमा समीक्षा गर्नुपर्ने हो तर समीक्षा सँगै त्यसको प्रभावकारी कार्यान्वयन भने भएको जस्तो देखिएको छैन ।
बजेटमा देखिएका राम्रा विषयहरूलाई कार्यान्वयन गर्नका लागि सबै एकमत हुनुपर्ने हो तर नेपालमा त्यस्तो राजनीतिक परिवेश देखिएको अवस्था छैन । राजनीतिमा हुनुपर्ने न्यूनतम मापदण्डको विषय पनि अहिलेसम्म ओझेलमा परेको अवस्था छ । जुन विषयले देश र जनताको लागि प्रत्यक्ष रूपमा प्रभाव पार्ने हो त्यस्ता विषयहरूका बारेमा सबैले एके बद्धता जाहेर गरेर अघि बढ्नुपर्ने आवश्यकता हो ।
पछिल्लो राजनीतिक परिवर्तनको विषयको चर्चा परिचर्चा हुँदै गर्दा जसरी हिजोका दिनहरूमा नेपालमा राजनीतिक दलहरूले योगदानहरू गरेका थिए, ती योगदानहरू अहिले कता हो कता ओझेलमा पर्दै गएको अवस्था देखिएको छ ।
युवा पुस्ताले हिजो दलहरूले यस्तो पनि गरेका थिए त भन्ने विषय उठान गर्दा जस्तो गरे पनि जनताको लागि देशको लागि राम्रो काम गर्न सकेनन् भनेर एक शब्दमा कुरा सक्काउने परिस्थिति कसरी सृजना भयो यो विषयको ख्याल गर्नुपर्ने हो ।
नैतिक शिक्षालाई जसरी प्रभावहीन बनाउन खोजियो, सामाजिक सञ्जालमा लेखेको कुरा नै सत्य हो भनेर रमाउने प्रवृत्ति जसरी वृद्धि भयो सोही अनुसार तीनै तहका सकारहरूले गरेका राम्रा कामहरूको पनि चर्चा परिचर्चा भन्दा नकारात्मक विषयहरू धेरै बाहिर आउन थालेको अवस्था देखिन्छ ।
हरेक पालिकामा अव उत्पादन अभियानको थालनी गर्दै, युवाहरूलाई स्वदेशमै रोक्ने अभियानको थालनी गर्दै, ठुला र बृहत् परियोजनाहरू छिटो भन्दा छिटो सम्पन्न गर्ने विषयमा प्रभावकारी काम गर्नुपर्ने अहिलेको आवश्यकता हो । यसले मात्र मुलुकको आर्थिक अवस्था बढाउने, नेपालमै रोजगारी सृजना गर्ने कामहरू हुन सक्ने देखिन्छ ।








