मावन विकास सुचांकमा कर्णाली कमजोर छ । त्यसमाथि गरिबीको दर पनि उच्च छ । यस्तो अवस्थामा यहाँको स्वास्थ्य तथा पोषणको अवस्थालाई सहजै अनुमान गर्न सकिन्छ । आर्थिक अवस्था कमजोर भएकै कारण अधिकांश परिवारले पोषणयुक्त खाना नपाउने अवस्था अहिले पनि छ । यसको प्रभाव बालबालिकामा देखिएको छ । अर्थात कर्णालीका बालबालिकाहरु कुपोषणको जालोमा परेका छन् । प्रदेश सरकारले हालै सार्वजनिक गरेको तथ्यांकलाई केलाउँदा पनि यसको रुपरेखा देखिन्छ । प्रदेश सरकारको तथ्याकं अनुसार कुपोषणका कारण हाल कर्णालीका ३६ प्रतिशत बालबालिका पुड्का छन् । अर्थात उमेर अनुसार उनीहरुको उचाइ छैन । पाँच बर्षमुनीका बालबालिकामा गरिएको अध्ययनले यहाँका ४ प्रतिशत बालबालिका ख्याउटे देखाएको छ । तथ्याकं अनुसार १८ प्रतिशत बालबालिका कम तौलका छन् । कुपोषणकै कारण ४० प्रतिशत बालबालिकामा रक्तअल्पताको समस्या देखिएको छ । यसले कर्णालीका बालिबालिकाको शारिरिक तथा मानसिक विकासमा अवरोध भइरहेको स्वास्थ्यकर्मी बताउँछन् ।
बालबालिका भविस्यका कर्णधार भनिन्छ । तर कर्णालीका अधिकांश बालबालिका कुपोषणको जालोमा जेलिएका छन् । आखिर यो किन भयो ? अर्थात यसमा राज्य कति जिम्मेवार छ ? वास्तमा यी प्रश्नको गम्भिर समीक्षा अब हुनै पर्दछ । जन्मदै कुपोषणको शिकार भएका कारण बालबालिकाको शारिरिक तथा मानसिक विकासमा समेत असर परिरहेको छ । यसले उनीहरुको विकासक्रममा मात्र असर गरिरहेको छैन । प्रदेशको भोलीको चित्र पनि देखाइरहेको छ । आज बालबालिका स्वस्थ भएको खण्डमा भोली प्रदेश पनि स्वस्थ हुन सक्छ । आज जन्मिने बालबालिकाहरु रोगी भए भोली प्रदेशमा कसरी स्वस्थ नागरिक हुन्छन् ? मुहान सफा भए पानी सफा हुन्छ भनेजस्तै आजका बालबालिकाहरु स्वस्थ भए न भोली प्रदेशका नागरिक स्वस्थ हुन्छन् । तसर्थ अहिलेबाटै बालबालिकाको स्वास्थ्य र उनीहरुको भविस्यप्रति हामी गम्भिर हुन आवश्यक छ । स्तनपान, पोषिलो खानापान र उचित स्याहारको अभावमा बालबालिकाहरु कुपोषणको जालोमा परिरहेका छन् । यसतर्फ परिवार मात्र होइन, सरकार र निजी क्षेत्रले पनि चासो दिनैपर्दछ । कुपोषण खानपानसँग जोडिएको छ ।
त्यसकारण पनि सबैभन्दा पहिला हरेक परिवारले गर्भाअवस्थादेखी जन्मिने बालबालिकाहरुको खानपानमा ध्यान दिन आवश्यक छ । त्यसमाथि कर्णालीमा पाइने हरेक उत्पादन पोषणयुत छन् । तिनको सेवन गरिन पर्दछ ।
अर्कोतर्फ स्थानीय र प्रदेश सरकारले पनि बालबालिकाको षोषणमा लगानी बढाउनु पर्दछ । सडक र भवन निर्माणलाई मात्र विकास ठान्ने प्रवृति अन्त्य होस् । किनकी आज बालबालिकामा गरिएको लगानीले भोलीका दिनमा विकासको रथ अगाडि बढाउन सययोग गर्नेछ । पछिल्लो समय गैरसरकारी संस्थाले कुपोषणमुक्त कर्णाली बनाउन ‘इनफ अभियान’ थालेका छन् । यो सकारात्मक नै छ । बरु यो अभियानमा स्थानीय र प्रदेश सरकारले पनि सहकार्य र समन्वय गरुन् ।
विगतमा पनि कुपोषण घटाउन यस्ता अभियान नचलेका होइनन् । तर ती पर्याप्त भएनन् । त्यसकारण पनि अब थालिएको अभियानलाई सफल बनाउनका लागि राज्यका निकाय, नागरिक समाज र गैससहरुबीच सहकार्य अनिवार्य छ । यस्तै अभियानसँगै खानपानलाई सुधार गर्नेतर्फ नागरिकलाई सचेत गराउनै पर्दछ । यहाँका रैथाने बाली र पोषिला फलफलको उपभोग गर्ने बानी बसाल्न सकेमा कुपोषणको जालो तोड्न धेरै समय लाग्नेछैन । अभियानलाई साझा बनाएर सबैले अपनत्व लिने अवस्था बनेमा मात्र बालबालिकालाई कुपोषणको जालोबाट बाहिर निकाल्न सम्भव हुनेछ ।








