नेतृत्व यति शक्तिशाली विषय हो कि, आफू खुम्चिएर, आफ्नो स्वार्थ खुम्चाएर, आफ्नो इच्छा र चाहना मारेर भए पनि आवश्यक पर्दा भूमिका निर्वाह गर्न सक्ने आँट र क्षमता जरुरी हुन्छ । संगठन सफल र परिचालन बनाउनका लागि संगठनको मूल्य र मान्यतालाई प्रभावकारी बनाउनका लागि नेतृत्वले संगठनका लागि आवश्यक पर्ने सबै खाले नीति, नियम र कानूनहरूलाई सोही अनुसार व्याख्या र विश्लेषण गर्दै समय र परिस्थितिलाई मूल्यांकन गर्दै जानुपर्दछ । संगठन वा संस्थाभित्र हुने विभिन्न खाले बिकृतिहरुलाई रोक्दै समय सान्दर्भिक विषयहरूलाई कसरी उठान गर्न सकिन्छ भन्ने विषय नेतृत्वकर्ताले विश्लेषण गरेर मात्र विषय परिस्थितिलाई अँगाल्नुपर्ने देखिन्छ । प्रवृत्ति र पात्रहरूका कारण पनि संगठन वा संस्थालाई समस्या आउन सक्ने हुनसक्छ । त्यसतर्फ नेतृत्वले कतिसम्म लचकता अपनाउने र कतिसम्म आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने भन्ने विषय मूल रूपमा नेतृत्वकर्तामा हुनुपर्दछ ।
नेतृत्व सफल हुन सकेमा संगठन सफल हुन्छ भने नेतृत्व असफल भएपछि मात्र संस्था असफल हुन्छ भन्ने मान्यता एकातिर छ । अर्कोतर्फ सबै खाले गुण वा दोषको भागिदार पनि नेतृत्वकर्तानै हुने गर्दछ । आफ्ना चहनाहरुलाई तिलाञ्जली दिन सक्ने विषय अहिले नेपालको सन्दर्भमा धेरै नेतृत्वकर्ताहरुले अवलम्बन गर्न सकेका छैनन् । चाहे त्यो राजनीति क्षेत्रमा होस् चाहे त्यो अन्य संघ संस्थाको क्षेत्रमा नै किन नहोस् । एउटा घर परिवारलाई ठीक स्थानमा राख्नका लागि पनि नेतृत्वको भूमिका निकै महत्वपूर्ण हुने गर्दछ । विषय वा संस्था सानो वा ठूलो जस्तो पनि हुन सक्छ । नेतृत्वकर्ताले विशेष गरेर कोसँग संगठन बढी जिम्मेवार छ त्यसको अध्ययन गर्नुपर्दछ । को प्रति आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हो त्यो विषयलाई अधिकतम रूपमा मनन गरेर काम गर्न नसक्ने हो भने समस्या सबैतिर आउन सक्ने खतरा हुन्छ ।
जब आवश्यक पर्ने व्यक्तिहरुलाई नै किनारा लगाउने उद्देश्य राखेर जसले काम गर्न सुरु गर्छ अनि कुनै न कुनै दिन जस्तोसुकै संस्थामा पनि समस्या देखा पर्न सक्छ । नेपालको सन्दर्भलाई हेर्ने हो भने पनि अहिले विभिन्न विषयहरूमा समस्या बढ्दै गएको देखिन्छ । चाहे त्यो नागरिक समाजको नेतृत्व होस् चाहे त्यो राजनीतिक नेतृत्व । चाहे सरकारको नेतृत्व होस् वा सरकार मातहतका विभिन्न संस्थाहरू नै किन नहुन् । चाहे त्यो स्थानीय सरकारको नेतृत्व नै किन नहोस् । आजभोलि कुशल नेतृत्वको अभावमा कुनै न कुनै विषयमा विवादित बन्दै गएको देख्न सकिन्छ । कतिपय नेतृत्वकर्ताहरुले आफूले चाहेको भएमा सबै ठीक, चाहेको कुरा नभए सबै कुरा बेठीक भन्ने तर्क स्थापित गर्न खोजेका कारण पनि समस्याहरू बढ्दै गएका छन् ।
नेपालमा नाम चलेका राजनीतिक दलहरूको नेतृत्वदायी भूमिका, जति वेला नेपालमा जहानियाँ शासन थियो उति वेलाको संघर्ष निकै प्रभावकारी थियो । विभिन्न आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरूलाई कसरी जोगाउने र नेपालमा सुशासन कायम कसरी गराउने भन्ने थियो । यसैगरी दिगो विकासका लक्ष्यहरू कसरी पूरा गर्ने भन्ने सन्दर्भमा विभिन्न विषयहरु महत्वपूर्ण थिए ।अहिले ती विषयहरुलाई कसरी कार्यान्वयन गराइयो भन्ने विषय अर्को अध्ययनको विषय हो । यो वा त्यो बहानामा राजनीतिक हस्तक्षेप नै पहिलो विषय बने । जहिलेदेखि राजनीतिकर्मीहरूले देशको अवस्थालाई सुधार गर्नका लागि जनताको पक्षमा भन्दा आफ्नो व्यक्तिगत स्वार्थमा बढी केन्द्रित हुन थाले त्यसबेलादेखिनै जनतामा असन्तुष्टि बढ्दै गएको देखिन्छ ।
परिस्थिति जस्तो पनि हुनसक्छ तर सनकका भरमा नेतृत्वले विवेक गुमाएको खण्डमा त्यसको असर पुस्तौपुस्तासम्म पर्छ भन्ने विषयलाई जबसम्म नेतृत्वकर्ताहरुले पूर्वानुमान गर्न सक्दैनन् तबसम्म समस्या समाधान हुनसक्ने देखिँदैन ।








