स्वास्थ्य क्षेत्र आहा भन्ने बनाऊ

कर्णालीका सबै क्षेत्रमा समस्या छ । समस्या भित्रका धेरै समाधानहरू पनि सँगसँगै छन् । जसरी कर्णाली प्रदेशको विकासका लागि सम्बन्धित निकायहरूले चासो देखाउनुपर्ने थियो सोही अनुसार चासो नदेखाएकै कारण कर्णालीमा विभिन्न अवसरहरू हुँदा पनि समस्या कायमै रहेको देखिन्छ । विशेष गरेर कर्णालीको भौतिक पूर्वाधार विकासका लागि चुनौतीहरू धेरै देखिएका छन् । कर्णालीका समग्र विकास भित्र स्वास्थ्य क्षेत्र पनि उत्तिकै महत्वको क्षेत्र हो । कर्णाली प्रदेश सरकारले जिम्मा लिएको स्वास्थ्य क्षेत्रका विभिन्न चुनौतीहरू हुँदाहुँदै केही राम्रो गर्ने प्रयासहरू पनि भएका छन् ।

सबैभन्दा धेरै संवेदनशील मानिएको स्वास्थ्य क्षेत्रको अवस्था कर्णालीमा नाजुक छ । एउटा नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्नका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारसँगै दक्ष जनशक्तिको अभावले कर्णालीको समग्र स्वास्थ्य अवस्था चिन्ताजनक देखिन्छ । भएका केहीदक्षजनशक्तिहरू पनि यो वात्यो कारणले पेलानमा पर्ने एउटा समस्या देखिन्छ भने अर्को तर्फ उपलब्ध जनशक्तिले प्रवाह गरेको सेवाको प्रभावकारताका विषयमा पनि बेला बेलामा टिप्पणीहरू हुने गरेका छन् ।

अस्पतालमा जाँदा स्वास्थ्यकर्मीहरुले गर्ने व्यवहार देखेर जनता निराश हुनु परिरहेको छ । सरकारले जनताको सेवाका लागि भनेर खटाएका व्यक्तिहरूले गरिब र विपन्न वर्गका नागरिकहरूलाई पहिलो प्राथमिकतामा राख्ने कि पहुँचवालाहरूले जे भन्यो त्यही गर्ने ? यस्ता धेरै समस्याहरूलाई मध्येनजर गरेर स्वास्थ्यकर्मीहरुले काम गर्नुपर्ने देखिएको छ ।

कर्णालीका सबै जनताको आशा र भरोसा मानिएको कर्णाली प्रदेश अस्पतालको बारेमा बेला बेलामा हुने नकारात्मक विषयहरूलाई अस्पताल प्रशासनले गहन रूपमा अध्ययन गरेर प्रभावकारी काम गर्ने प्रण गर्नुपर्दछ । अस्पतालमा सेवा लिन आएका सेवाग्राहीहरू मध्ये पहुँच भएकाहरूलाई राम्रो सेवा प्रदान हुने तर पहुँच नपुग्ने विपन्न र गरिब नागरिकहरू सेवा खोज्दा खोज्दै हैरान भएर निजी अस्पतालमा जानुपर्ने र महँगो रकम तिर्नुपर्ने समस्यामा परेका छन् । अस्पताल जाँदा दक्षजनशक्ति नहुनु, भएका जनशक्तिहरू पनिनिजी अस्पतालमा गएर सेवा दिनुपर्ने अवस्था आउनु, जनतालाई गर्ने व्यवहार रुखो हुनु, भनेको समयमा सेवा नपाउनु, डाक्टरले लेखि दिएका औषधि नपाउनु यस्ता विषयहरू जसरी कर्णाली प्रदेश अस्पतालका लागि उठिरहेका छन् त्यसको निराकरण कसरी गर्ने भन्ने बारेमा अस्पताल प्रशासनले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । जनताले आहा कति राम्रो सेवा भनेर उदाहरण दिने लायक बनाउनका लागि सेवा प्रवाहमा देखिएका समस्याहरूलाई समाधान गर्नुपर्ने देखिन्छ ।

सरकारले स्वास्थ्य क्षेत्रमा विपन्नहरूको सहज पहुँचका लागि बीमाको व्यवस्था गरेसँगै केही सहजता भएको देखिए पनि यसको व्यवहारिक रूपमा कार्यान्वयन हुन सकेको देखिदैन । बीमावाला हुन भनेर सेवा प्रदान गर्दा गरिने विभेद बन्द गर्नुपर्ने देखिएको छ ।

सेवा लिन आएका सेवाग्राहीहरूले गुनासो नगर्ने गरी कसरी काम गर्ने भन्ने विषयलाई अध्ययन गर्ने हो भने पनि धेरै समस्या समाधान हुन सक्ने देखिन्छ । बिरामीलाई सन्चो बनाउने अस्पताल हो भनेर नामाकरण गर्ने कि त्यहाँ त सेवा लिन नजानु होला भनेर जनताले गुनासो गर्ने अस्पताल बनाउने यो विषय गम्भीर विषय हो । कर्णाली प्रदेश अस्पतालले जनमैत्री सेवा प्रवाहका लागि अस्पताल प्रशासनले नीति र नियमलाई कडाइका साथ लागू गर्दै जनताको विषयलाई पहिलो प्राथमिकता राखेर काम गर्नुपर्ने देखिन्छ । जनताले आहा कति राम्रो सेवा पाइयो भनेर प्रभावकारी कामगर्नका लागि कर्णाली प्रदेश सरकारले पनि कर्णालीको समग्र स्वास्थ्य क्षेत्रमा देखिएका कमजोरीहरूको बारेमा खोजी गरेर गल्ती गर्नेलाई कारबाही र राम्रो गर्नेलाई पुरस्कारको व्यवस्था गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार