उद्यमीको मागमा आधारित नियम बनाऊ सरकार

नेपाल सबै हिसाबले सम्भावना भएको देश हो भन्ने कुरामा कसैलाई पनिदुबिधा छैन । विकासले ठूलैफड्को मारेको देशको तुलनामै हाम्रो पनि विकास हुनुपर्दछ भनेर मान्यता राख्नु, सपना देख्नु स्वाभाविकै हो । तर यहाँको भौगोलिक बनावट, आर्थिक उत्पादनका विषयहरू, ठूला कलकारखानाको सम्भावनाको खोजी जस्ता धेरै विषयहरूमा अझै केहीवर्ष मेहेनतगर्नु पर्ने देखिन्छ ।

विगत २० वर्ष अघि नेपालमा जे उत्पादन हुँदै आएको थियो,अहिले त्यही उत्पादनको विषयपनि रोज्न सकिँदैन होला । तर जति स्रोत र साधनहरु छन् ती स्रोत साधनहरूको उचित रूपमा प्रयोग गरेकै कारणले नेपालले पनि धेरै कुराहरू विदेश निर्यात गर्ने गरेको अवस्था त अहिले पनिकायमै रहेको छ ।

पछिल्ला केहीवर्ष यता विदेश जानेहरूको संख्या वृद्धि भएको छ । विदेश गएका युवाहरूले विदेशमा जस्तो नेपालमा पनि विकास होस् भनेर कल्पना गर्नु स्वाभाविक हो । तर यहाँको कानुन, स्थायी सरकार लगायतका विभिन्न समस्याहरूले भने सोचेजतिको विकास हुन सकेको छैन । करिव २० वर्षअघि नेपालका अधिकांश जिल्ला सदरमुकाम जाँदा तीन देखि चार दिन सम्म यात्रा गर्नुपर्ने बाध्यताभने अन्त्य भएको छ । अहिले अधिकांश स्थानीय पालिकाहरूमा सडकको सहज पहुँच विस्तार भएको छ । सोही अनुसार साना ठूला व्यापार व्यवसायहरू चलिरहेका छन् । यति हुँदा हुँदै पनि नेपालमा कुनै आर्थिक अवस्थाको सम्भावना नै छैन ।

विदेश जानु नै पहिलो र अनिवार्य सत्र भइसक्यो भनेर जसरी फरक तरिकाले व्याख्या र विश्लेषण हुन थालेको छ । यो सरासर गलत छ । नेपालमा नै दुःख र मिहिनेत गरेपछि आरामले दैनिकी चल्छ भन्ने कुरामा मिहिनेत गरेर खानेहरुबाट सहजै बुझ्न सकिन्छ । नेपालमा काम गरेपछि धेरै दुःख छ र आर्थिक पनिकम हुन्छ भन्ने जस्ता विषयले प्रवेश पाउनुको पछाडि विदेश गएका सबैले राम्रो कामपाएका छन् त ? भन्ने प्रश्न उब्जिने गरेको छ । यो सँगै विदेश गएर एक दशक सम्म दुःख गरेर पुनः नेपाल फर्केर राम्रो काम गरेका उदाहरणहरू पनि नेपालमा धेरै छन् ।

राजनीतिमा आफ्नो स्थान ठूलो बनाउनका लागि कसैले अनावश्यक हल्लाहरू फैलाउने गरेको अवस्था नेपालमा अहिले पनि कायमै रहेको छ । कतिपय विषयहरू भने आमनागरिकहरूले गुनासो गर्नुपर्ने विषयहरू नै छन् । नेपालमा भए भरका कलकार खाना बिक्री गर्ने, कमिसनको चक्करमा जे गर्न पनि नेतृत्वहरू तयार हुने, खास उद्यमी को हो भनेर खोजी नगर्ने अनि सहकारी वा यो वात्यो बहानामा गरिब जनताको पैसामा रजाइँ गर्ने यस्ता खाले विकृतिहरूले नेपालका सोझा जनतामा झन् धेरै निराशाका बादलहरू मडारिन थालेका छन् ।

नेपाल आफै आत्मनिर्भर भएर यहाँका धेरै उत्पादनहरू विदेश निर्यात भएका विषयहरू खोजौँ । यतिमात्र हैन देशभरका ७ सय ५३ स्थानीय सरकारहरूले एक वर्ष मात्र उद्यमीको खोजी गरेर उनीहरूको मागका आधारमा उत्पादन अभियान सुरु गर्ने हो भने नेपालको आर्थिक अवस्था सुधारमा निकै राम्रो सुधार आउन सक्ने देखिन्छ । उद्यम देशको आर्थिक अवस्था सुधारका लागि भनेर अभियान थालौँ । अभियानको प्रभावकारी कार्यान्वयन गरौँ । देशमा रोजगारी पनि हुन्छ र देशको अवस्थामा सुधार पनि हुन्छ । त्यसैले उद्यम र उद्यमीमा लगानी गरौं ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार