आहा ! ढकमक्क फुलेको सयपत्री

दैलेख : युवा उद्यमी देवेन्द्र गोदार एक सफल तरकारी कृषक हुन् । दैलेख सुर्खेत सडक खण्ड अन्तर्गत पर्ने सिस्नेटारमा उनको तरकारी फर्म छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटार अहिले सयपत्री फूलले रङ्गिएको छ । उनी सफल तरकारी कृषक मात्र नभई फूल खेतीमा समेत जमेका छन् । फूलहरुको पर्वको रुपमा पनि लिइने तिहार नजिकिदैं जाँदा बाटो छेउमै सयपत्री फूलको बगैंचाले छुट्टै आकर्षण दिएको छ ।

लोहोरे खोला किनारको बगरलाई नै कहिले तरकारीबाट त कहिले फूल खेतीबाट गुल्जार बनाएको देख्दा बगैंचामा पुग्ने प्रायः सबैलाई प्रफुल्लित मात्र हैन, प्रेरणासमेत दिने गरेको अधिकारकर्मी अमर सुनार बताउँछन् । चार दशक पहिलेदेखि यही बाटो भएर अनेकौ पटक सुर्खेत दैलेख यात्रा गरेका सुनार भन्छन् ‘बलौटे र चट्टानले भरिएको बगर यति उर्वर होला भन्ने सोचेको पनि थिएन, फूल खेतीले थप आशा जगाएको छ ।’

दैलेख–सुर्खेत यात्रा गर्ने यात्रु मात्र हैन, आसपास गाउँका स्थानीयहरु पनि फूलको बगैचा हेर्न, फोटो खिच्न, टिकटक, रिल बनाउनकै भिड लाग्नेगर्छ । खाली बगरको बलौटे माटोमा पनि सुन्दर सयपत्रीले ढकमक्क फुलेको दृश्य हेर्न पुग्नुभएका भैरवी गाउँपालिका–७ का उद्यमी रामकृष्ण कठायतले दृश्य लोभलाग्दो भएको बताए । तिहार नजिकिँदै गर्दा फूलको माग बढेको छ । गोदारले गत वर्ष करिव ५० हजार बराबरको लागतमा २ रोपनी क्षेत्रफलमा फूल खेती गरेका थिए । मौसम, पर्वको यकिन समयको ख्याल नपुग्दा मनग्य लाभ हुन नसकेको बताउँदै गोदारले यो वर्ष भने दोब्बर अर्थात् ४ रोपनी क्षेत्रफलमा खेती गरेका छन् ।

‘गत वर्ष व्यवसाय कसरी गर्ने ? कस्तो फूल लगाउने ? कुन समयमा बीऊ राख्ने भन्ने बारेमा थाहा थिएन । अहिले बीऊदेखि सबै अनुकुल भएको छ । डेढदेखि दुई लाख रुपियाँसम्म आम्दानी हुन्छ होला,’ उनले भने ‘डुङ्गेश्वर बजार, चुप्राबजार, दैलेख, दुल्लु, सुर्खेतलगायत सडक सञ्जालको पहुँच भएकाले होम डेलिभरी गर्न सकिन्छ । दैलेखमा फूल खेती अर्थात् पुष्प व्यवसायको सम्भावना राम्रो भएको स्थानीयको बुझाइ छ । धार्मिक तथा सांस्कृतिक परम्पराहरुले भरिपूर्ण जिल्ला भएकाले पनि बजारमा माग उत्तिकै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार