दैलेख : नेपाल कम्युनिस्ट पार्टी (एमाले) दैलेखले जिल्लाको दीर्घकालीन विकासमा प्रभावपार्ने योजनाका कामहरू अघि बढाउन माग गरेको छ । उक्त पार्टीको मंगलबार सम्पन्न तेस्रो पूर्ण बैठकले जिल्लाको दीर्घकालीन विकासमा प्रभावपार्ने विभिन्न योजनाकाकाम अघि बढाउन पहलगर्ने निर्णय गरेको हो ।
बैठकले कर्णाली करिडोरलाई सफल बनाउन सम्बन्धित निकायसँग पहल गर्ने लगायतका विभिन्न १७ वटा निर्णय गरेको एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले जानकारी दिए । सम्पन्न तेस्रो पूर्ण बैठकले माथिल्लो डुङ्गेश्वर, मालिका, दुल्लु, कुसापानी, कालीकोट सडकको काम, सङ्गेतडा, जम्बुकाँध, चामुण्डा, बिसाला, राँगाजुधे सडक निर्माणको काम अघि बढाउन पहल गर्ने निर्णय गरेको छ ।
बैठकले रामघाट ठाटिकाँध, सिहाँसैन, पिपलकोट, कालीकोट सडक, दैलेख–सुर्खेत दुई लेन सडक स्तरोन्नति, दैलेख–महाबु–कालीकोट सडक, दैलेख–नौमुले–कालिकाजुनी सडक, धरमपोखरा, वेस्तडा, नौमूले सडक, गुराँसे, पातिकान्ला, तल्लो डुंगेश्वर सडक दुल्लु स्मार्ट सिटीको काम प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको पार्टी अध्यक्ष शाहीले बताए ।
यस्तै, राकम कर्णाली नयाँ सहर परियोजनालाई अगाडि बढाउने, दैलेख जिल्लाभर विद्युतीकरणको व्यवस्थागर्ने, सुर्खेत–कपासे–दैलेख–माथिल्लो डुङ्गेश्वर सुरुङ्गमार्ग निर्माण आयोजनाको काम अघि बढाउन,कृषि क्याम्पस, बैंक,मालिकादुल्लु १३ लाई यथावत् सञ्चालन गर्नुपर्ने, दैलेख अस्पताल र दुल्लु अस्पताललाई स्तरोन्नति गर्नुपर्ने, गिताचौर रावतकोट सिचाइँ कुलो निर्माणको काम तत्काल अघि बढाउन पहल गर्ने र जौ चौर तामाखानी लगायत दैलेख जिल्लाको उत्तरी क्षेत्रका खानीहरूको संरक्षण तथा उत्खनन गर्न सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरेको हो ।









