शिकारीको पासोमा मर्छन् वन्यजन्तु

सुर्खेत : पछिल्लो समय मानवीय व्यवहारकै कारण वन्यजन्तु असुरक्षित बन्न थालेका छन् । सामुदायिक वनको अवधारणाका कारण वन्यजन्तुको संख्यामा वृद्धि भए पनि चोरी–शिकारीका कारण मर्न थालेका हुन् । शिकारीले जंगलमा लुकीछिपी राखेका पासोमा परेर वन्यजन्तु मर्न थालेपछि तिनको संरक्षणमा चुनौती थपिएको हो ।

सुर्खेतका ग्रामीण क्षेत्रमा वन कार्यालय र प्रहरीको आँखा छलेर वन्यजन्तुको चोरी–शिकारी हुने गर्दछ । तर वन कार्यालय र प्रहरीको प्रत्यक्ष निगरानी रहने सदरमुकाम वीरेन्द्रनगर भित्रका जंगलमा समेत वन्यजन्तु सुरक्षित छैनन् । अर्थात् वीरेन्द्रनगर आसपासका जंगलमा नै शिकारीले वन्यजन्तुको चोरी–शिकारी गरिरहेका छन् । मुख्यगरी वीरेन्द्रनगरमा बाक्लो जंगल रहेको उत्तरी जलाधार क्षेत्र र संरक्षित वन रहेको काँक्रेविहार क्षेत्रमा रहेका वन्यजन्तु नै शिकारीले थापेका पासोमा परेर मर्न थालेका हुन् । शिकारीले पासोमा पारेर मार्न थालेपछि जिल्लामा वन्यजन्तु जोगाउनै मुस्किल भइरहेको हो ।

केही साताअघि वीरेन्द्रनगर नगरपालिका–४ स्थित उत्तरी जलाधारमा रहेको भैरम सामुदायिक वनमा शिकारीले थापेको पासोमा परेर रतुवा म¥यो । करिव २० किलोको भाले रतुवा पासोमा मरेपछि प्रहरी र स्थानीयले त्यसलाई जंगलमै गाडे । त्यसअघि पनि सोही वन क्षेत्रभित्र तीन वटा रतुवा शिकारीको पासोमा परेका थिए । वर्ष दिनमा आधा दर्जनभन्दा बढी रतुवाहरु सो वन क्षेत्रमा शिकारीले थापेका पासोमै परेर मर्ने गरेका छन् । पासोमा परी मरेका रतुवालाई नजिकै रहेको प्रहरी र डिभिजन वन कार्यालयको रोहवरमा गाड्ने गरिएको छ । यस्तै जीवित फेला परेका वन्यजन्तुलाई भने डिभिजन वनले नै उद्धार गरी जंगलमै छोड्ने गरेको छ ।

वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रभित्र रतुवा, जरायो र बँदेल पाइन्छन् । भैरम सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष यामकुमारी चालिसेले वर्षमा चार÷पाँच वटा रतुवा शिकारीले थापेको पासोमा मर्ने गरेको बताइन् । उनले भनिन्, ‘सामुदायिक वनमा वन्यजन्तुको संख्या विस्तारै वृद्धि भइरहेको छ, तर हामीलाई शिकारीले पासो कहाँ र कसरी थाप्छन् भन्ने थाहा नै हुँदैन । शिकारीबाट वन्यजन्तु जोगाउनै कठिन भयो, वन्यजन्तु जोगाउनका लागि हामीले बेलाबेलामा वन क्षेत्रमा गस्ती पनि गरिरहेका छौं ।’ अघिल्लो वर्ष पनि वीरेन्द्रनगर आसपासका जंगलमा एक दर्जन वन्यजन्तु पासोमा परेको अवस्थामा भेटिएका थिए ।

डिभिजन वन कार्यालय सुर्खेतका अनुसार उक्त अवधिमा शिकारीले थापेको पासोमा परेको केही वन्यजन्तुको भने जिवितै उद्धार गरिएको छ । फेला पारिएका बाहेक अन्य वन्यजन्तुको भने शिकार गरेर शिकारीहरुले नै लगेको हुनसक्ने भएकाले मरेका वन्यजन्तुको संख्या अरु बढी हुनसक्छ । वीरेन्द्रनगर आसपासका जंगलमा रहेका जंगली बँदेल, मृग, रतुवालगायतका वन्यन्तुको चोरी–शिकारी हुन थालेको हो । संरक्षित वन क्षेत्र रहेको काँक्रेविहारमा पनि वन्यजन्तु सुरक्षित छैनन् । काँक्रेविहारमा जरायो, दुम्सी, खरायोलगायतका वन्यजन्तु पाइन्छन् । तर शिकारीले त्यहाँ रहेका वन्यजन्तुको पनि चोरीशिकारी गरिरहेका छन् । चोरीशिकारी हुन थालेपछि यहाँ पनि वन्यजन्तु सुरक्षित छैनन् । वन्यजन्तु असुरक्षित भएपछि केहीदिन अघिमात्र काँक्रेविहार क्षेत्रमा वनभोज र होहल्ला गर्न रोक लगाइएको छ ।

डेढ दर्जन वन्यजन्तुको उद्दार
शिकारीको पासोमा परेर अधिकांश वन्यजन्तु मर्छन् । कतिपय त शिकारीले नै मारेर लिन्छन् । शिकारीले मारेर लगेका वन्यजन्तुको तथ्यांक भने वन कार्यालयसँग छैन । तर पासोमा परेका कतिपय वन्यजन्तुहरुको भने वन कार्यालयले उद्दार गर्दै आएको छ ।


गत आर्थिक वर्ष २०८०÷०८१ मा मात्र डिभिजन वन कार्यालय सुर्खेतले डेढ दर्जन वन्यजन्तुको उद्दार गरेको छ । डिभिजन वन कार्यालयका अनुसार सो अवधिमा जिल्लाका विभिन्न जंगलबाट शिकारीले थापेका पासोमा परेका १८ वटा वन्यजन्तुको उद्दार गरिएको हो । कार्यालयका फरेष्टर इच्छा भण्डारीले उद्दार गरिएका मध्ये करिव आधा भने मरेको जानकारी दिइन् । उनका अनुसार जरायो तीन वटा, बँदेल चार वटा, मयुर, कछुवा र भार्से एक÷एक वटा तथा रतुवा आठ वटा गरी १८ वटा वन्यजन्तुको उद्दार गरिएको थियो ।

बन्दुकबाट शिकार गर्दा आवाज आउने र प्रहरीले थाहा पाउने भएकाले पनि शिकारीले पासो थापेर चोरी–शिकारी गर्ने गरेको पाइएको हो । वनको गस्ती गर्ने क्रममा आफूहरु पनि शिकारीले थापेका पासोमा पर्ने गरेको भन्दै वन उपभोक्ता समितिका पदाधिकारीहरु ती पासो नहटाएसम्म वन्यजन्तु सुरक्षित हुन नसक्ने बताउँछन् । डिभिजन वन कार्यालयले वन्यजन्तु पासोमा परेर मर्ने गरेको भन्दै संरक्षणमा समस्या भएको जनाएको छ । कतिपय अवस्थामा जंगलमा सवारी साधनको ठक्करबाट पनि वन्यजन्तु मर्ने गरेका छन् ।

वनमा नियमित गस्ती गर्न सुझाव
वन्यजन्तु असुरक्षित हुन थालेपछि अब जंगलमा नियमित गस्ती र निगरानी बढाउनुपर्ने वन कार्यालयले जनाएको छ । यसका लागि सामुदायिक वनसँग मिलेर जंगलमा गस्ती गर्नका लागि आवश्यक योजना बनाइने डिभिजन वन कार्यालयको भनाइ छ । कार्यालयका डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले वन्यजन्तुको चोरी–शिकारी नियन्त्रण गर्न गस्ती बढाउनुपर्ने बताए । उनले बेलाबेलामा सामुदायिक वन लगायत सरोकारवाला पक्षले गस्ती गर्नुपर्ने सुझाव दिए । चोरी–शिकारीको पासोबाट वन्यजन्तुलाई बचाउन जरुरी रहेको भन्दै यसका लागि निगरानी बढाउनुपर्ने उनको भनाइ छ ।

यसैबीच गत भदौको दोस्रो साता वीरेन्द्रनगर सवडिभिजन वन कार्यालयले वीरेन्द्रनगर–४ स्थित सहिद पार्कमा रहेको अस्थायी प्रहरी बिटलाई पत्र लेखेर उत्तरी जलाधार क्षेत्रमा शिकारीले पासो थाप्ने र अवैध शिकार गर्ने गिरोह सक्रिय रहेको पाइएको भन्दै छानविन गर्न आग्रह गरेको थियो । भैरम सामुदायिक वन क्षेत्रको पूर्वमा बाँसपानी खोला, पश्चिममा आँपघारी खोला, उत्तरमा गोठीकाँडा जाने बाटो र दक्षिणमा सहिद पार्क जाने गोरेटो बाटो क्षेत्रमा पासोमा परी वन्जयन्तु मर्ने गरेको पाइएको भन्दै उक्त क्षेत्रमा गस्ती बढाउन र पासो थाप्ने क्रियाकलापमा संलग्नलाई खोजी गरी कारबाही गर्नसमेत सवडिभिजन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार