‘हाइड्रो हव’ बन्दै नौमुले क्षेत्र

दैलेख :  तत्कालीन द्वन्द्वका समयमा विद्रोही पक्ष माओवादीको इपिसेन्टरका रूपमा परिचित थियो, दैलेखको नौमुले क्षेत्र । पछिल्लो केही वर्षयता यहाँको परिचय बदलिँदै गएको छ । नौमुले क्षेत्र ‘हाइड्रो हव’ का रूपमा विकसित हुने क्रममा छ । दैलेखका अन्य क्षेत्र भन्दा तत्कालीन नौमुले गाउँ विकास समितिमा माओवादीको रजगज थियो । त्यसबेला सरकारको सक्रियता पनि निष्कृय जस्तै बन्यो । फलस्वरुप त्यहाँका सबै खाले विकास प्रभावित हुन पुगे ।

तत्कालीन द्वन्द्वरत माओवादी पक्षले २०५७ चैत २४ गते नौमुले प्रहरी चौकीमा आक्रमण ग¥यो । त्यस घटनामा ३२ जना प्रहरी र माओवादी पक्षका ६ जनाले ज्यान गुमाउनु परेको थियो । तत्कालीन समयमा दुवै पक्षको मारमा रहेको नौमुले शान्ति प्रक्रियापछि भने विकासमा फड्को मार्दै कर्णालीकै ‘हाइड्रो हव’ का रूपमा विकसित हुँदै गएको हो ।

सङ्घीयतापछि तत्कालीन सात वटा गाविसहरु तोली, बालुवाटार, द्वारि, कालिका, नौमुले, सल्लेरी र चौराठा समेटेर निर्माण गरिएको नौमुले गाउँपालिकामा अहिले दुई वटा हाइड्रोपावर मार्फत् विद्युत् उत्पादन भइरहेको छ । थप एक वटा हाइड्रोपावर निर्माणाधीन अवस्थामा छ । नौमुलेमा हाइड्रोको मात्र नभई जल, जङ्गल, जडीबुटीसँगै पर्यटनको प्रचुर सम्भावना छ ।


नौमुलेमा हाल सञ्चालनमा रहेका दुई वटा हाइड्रोपावर भूगोल ईनर्जी प्रालि र दोल्ती पावर इन्जिन प्रालिबाट ७.६७ मेगावाट विद्युत उत्पादन भइरहेको छ । अर्को एक चार मेगावाटको अपर लोहोरे हाइड्रोपावर निर्माणको चरणमा रहेको नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदी बताउँछन् । नौमुलेमा सञ्चालनमा रहेका हाइड्रोपावरले स्थानीयस्तरको विकास मात्र होइन मुलुकको आर्थिक विकासमा प्रत्यक्ष टेवा पु¥याउँदै आएको उनको भनाई छ ।

“तत्कालीन द्वन्द्वमा राज्य र विद्रोही माओवादी पक्षको मारमा परेको नौमुले शान्ति प्रक्रिया पछि भने विकासमा फड्को मार्दै कर्णालीकै ‘हाइड्रो हब’का रूपमा विकसित हुँदै गएको छ । तत्कालीन द्वन्द्वरत माओवादी पक्षले २०५७ चैतमा नौमुले प्रहरी चौकीमा आक्रमण गर्दा ३२ जना प्रहरी र ६ जना माओवादी पक्षका कार्यकर्ताले ज्यान गुमाउनु परेको थियो ।”

हाइड्रोबाट उठेको करलाई स्थानीय सरकारले त्यहाँको विकास र नागरिकको आवश्यकता अनुसार खर्च गर्दै आएको गाउँपालिकाका अध्यक्ष सुवेदीको भनाई छ । नौमुलेमा अन्य हाइड्रोपावर निर्माणका लागि समेत अध्ययनको काम हुँदै आएको अध्यक्ष सुवेदीले बताए । हाइड्रो मात्र नभई गाउँमा अन्य विकास फर्केसँगै तत्कालीन द्वन्द्वताका ज्यान जोगाउन अन्यत्र लागेका नागरिक गाउँ फिर्न थालेका छन् ।


दमन र विद्रोहको प्रत्यक्ष मार खेप्न बाध्य भएका नौमुलेका जनतालाई सङ्घीयता पछि भने विकासको आभास भएको छ । स्थानीयस्तरमा सञ्चालन भएका हाइड्रो र आफ्नै ठाउँमा रोजगारी नौमुलेका जनताले आफ्नै आँगन अघि देखेको विकास हुन् । नौमुलेमा सञ्चालनमा रहेका हाइड्रोपावरले स्थानीयस्तरको विकास मात्र नभई मुलुकको आर्थिक विकासमा टेवा पु¥याउँदै आएका छन् ।

पर्यटकीय क्षेत्रका हिसाबले समेत महत्वपूर्ण नौमुलेमा द्वारिखोला झरनालगायतका अन्य थुप्रै पर्यटकीय स्थलहरू छन् । जडीबुटीले समेत नौमुलेलाई आर्थिक हिसाबले अघि बढाउन सकिने सम्भावना त्यतिकै बलियो रहेको छ । स्थानीय सरकारले भएका स्रोत साधनको उच्च प्रयोग गरी नागरिकलाई आफ्नै ठाउँमा रोजगारी सिर्जनालगायतका कार्यलाई नीतिगत तवरले अघि बढाउँदै नौमुलेले नागरिकका आवश्यकता अनुरूप काम गर्नुपर्ने देखिन्छ ।

हाइड्रोमुनिको अँध्यारो
स्थानीयस्तरमा दुई वटा हाइड्रोपावर मार्फत विद्युत उत्पादन भइरहँदा भने नौमुले बत्ती मुनिको अँध्यारोमा छ । आफ्नै ठाउँमा विद्युत उत्पादन हुने भन्दै उज्यालो उपभोग गर्न पाउने आशामा रहेका नौमुलेका नागरिक अझै बत्ती मुनिको अँध्यारोमा छन् । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नुपर्ने नीतिले नागरिकले स्थानीय स्तरमा उत्पादन भएको बिजुली उपभोग गर्न नपाएका हुन् ।


स्थानीय सरकार सञ्चालनमा आएको सात वर्ष भइसक्दा समेत नौमुलेका ग्रामीण वस्तिहरूमा पूर्ण विद्युतीय करण हुन सकेका छैन । गाउँका सरकारले नागरिकले भोग्दै आएका समस्यातर्फ ध्यान नदिँदा बत्ती मुनिको अँध्यारोमा बस्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । उनीहरूले नौमुलेमा सम्बन्धित निकायले विद्युतीकरणको कामलाई तीव्रता दिनुपर्ने बताउँदै आएका छन् ।

नौमुले कर्णालीकै ‘हाइड्रो हब’का रूपमा विकास भइरहँदा समेत स्थानीय नागरिक अँध्यारोमा बस्ने बाध्य रहेका स्थानीय शशिराम विश्वकर्माले बताए । नागरिकको घर–घरमा बिजुली पु¥याउने भन्दै सुरु गरिएको विद्युतीकरणको काम समेत तीव्र गतिमा अघि बढ्न नसकेको विश्वकर्माको भनाई छ ।

‘स्थानीय सरकारले थालेका काम तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने हो । नौमुलेमा विद्युतीकरण लगायत अन्य विकासे कामले गति लिएको देखिदैन । सङ्घीयताको मर्म अनुरूप गाउँका स्थानीयस्तरमा रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका कुराको सहज पहुँच विस्तारमा गाउँका सरकारले जनचाहना अनुसार काम गर्नुपर्छ,’ विश्वकर्माले भने ।

नौमुलेमा अघिल्लो आर्थिक वर्षबाट विद्युतीकरणको कामले तीव्रता पाएको गाउँपालिका अध्यक्ष छविराम सुवेदीले बताए । ‘अघिल्लो वर्षबाट गाउँपालिकामा विद्युतीकरणको कामलाई अघि बढाएका हौँ । गत वर्ष तीन करोडको काम भएको छ । यस आर्थिक वर्षमा विद्युतीकरणमा आठ करोड खर्च हुँदैछ । विद्युतको पहुँच बाहिर रहेका नागरिकका लागि स्थानीय सरकारले काम गर्दै आएको छ,’ गाउँपालिका अध्यक्ष सुवेदीले भने ।

नौमुलेमा रहेका हाइड्रोपावर मार्फत उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नुपर्ने राज्यको नीति रहेको विद्युत वितरण केन्द्र दैलेखका कार्यालय प्रमुख नरेश रावलले बताए । ‘हाइड्रोपावर कम्पनीले नाफा हेर्ने हो । हाइड्रोपावर उनीहरूसँग पहिलो चरणमा स्थानीयलाई बिजुली उपभोग गर्न दिने सम्झौता थिएन’, कार्यालय प्रमुख रावलले भने ।

नौमुले क्षेत्रमा हालसम्म ७५.४३ प्रतिशत विद्युतीकरणको काम सम्पन्न भएको बताउँदै उनले विद्युतीकरणले तीव्रता पाउँदा सबै नागरिकले बिजुलीको उपभोग गर्छन् भन्ने नरहेको बताए । नागरिक बिजुलीको उपभोग गर्न अग्रसर हुनुपर्ने कार्यालय प्रमुख रावलको भनाई छ । दैलेखमा हालसम्म ७९.७६ प्रतिशत विद्युतीकरणको काम भइसकेको जनाइएको छ ।

‘पछिल्ला वर्षहरूमा दैलेखमा विद्युत विस्तारको कामले तीव्रता पाएको छ । हालसम्म दैलेखमा ७९ प्रतिशत बढी विद्युतीकरणको काम भएको छ । दैलेखमा १९ हजार ८ सय ७६ घरधुरीले बिजुलीको उपभोग गर्ने गरेका छन् । नागरिकस्तरमा बिजुलीको उपभोग बढाउन स्थानीय सरकारले तदारुकता देखाउन आवश्यक छ,’ कार्यालय प्रमुख रावलले धमाका दैनिकसँग भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार