बिमा भुक्तानी नपाएपछि स्याउ किसान सडकमा


जुम्ला ः जुम्लाका किसानले स्याउ बिमाको भुक्तानी पाउन सकेका छैनन् । स्याउ बिमाको रकम भुक्तानी नपाएपछि किसानहरु सडकमा उत्रिएका छन् । उनीहरुले तत्काल स्याउ बिमा बापतको रकम पाउनुपर्ने र यो बर्षको स्याउको समेत बिमा गर्न माग गरेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमा आर्थिक वर्ष सकिन लाग्दासमेत बिमा गरे बापतको रकम भुक्तानी हुन नसकेकोमा आक्रोश पोखेका हुन् । जुम्ला स्याउको जिल्ला हो । स्याउमा खडेरी र असिनाले क्षति पु¥याएरमा क्षतिपूर्ति पाउने गरी स्याउ बिमा गरिएको थियो । सो बापतको रकम किसानहरुले अहिलेसम्म पाउन सकेका छैनन् ।
चन्दननाथ नगरपालिका– ९, श्रीदुस्काका रतन रोकायाले करिब १० हजार वर्गमिटर जमिनमा सात सय स्याउको बिरुवा लगाएका छन् । त्यसमध्ये तीन सय स्याउका बिरुवाको बिमा गरेका उनले १६ हजार बिमांक रकम तिरेका छन् । तर, तुसारो र असिनाले ५ प्रतिशत बिरुवामा पनि स्याउ नफल्दा उनले बिमा रकम पाएका छैनन् । त्यस्तै, तातोपानी गाउँपालिका– ५, लाम्राका आनन्द हमालले १९ हजार बिमांक तिरेर चार सय बिरुवाको बिमा गराएका छन् । तर, बिरुवामा फल नलाग्दा उनले पनि बिमा रकम पाएका छैनन् । उनीजस्तै धेरै स्याउ किसानले बिमा रकम नपाएपछि सडकमा आएका हुन् । शिखर इन्स्योरेन्स कम्पन्नीमा जुम्लाका पाँच हजार तीन सयभन्दा बढी किसानले मौसममा आधारित खडेरी र असिना बिमा गराएका छन् ।
बिमाको भुक्तानी नपाएपछि किसानहरुले सदरमुकाम खलंगाको बालमन्दिर नजिकैबाट जिल्ला प्रशासन कार्यालयसम्म नाराबाजी गर्दै जुलुस निकालेका थिए । स्याउ बिमा पहल समिति संयोजक खड्कबहादुर सेजुवालले किसानलाई बिमा बापतको रकम दिन आलटाल गरेकोमा दुःख व्यक्त गरे । उनले भने, ‘बिमा रकम तत्काल उपलब्ध गराउनुपर्ने धेरैपटक माग राख्यौं । तर बिमा कम्पनीले अटेर गरेकोले सडकमै उत्रिएर आन्दोलनका कार्यक्रम सुरु ग¥यौं ।’ गत वर्ष खडेरीले स्याउ फलेन र फलेको स्याउ पनि असिनाले झारिदिएको थियो । बिमा रकम नदिएर किसानलाई राज्यले अपमान गरेको किसानहरुको ठहर छ ।
संयोजक सेजुवालले भने, ‘स्याउको बिमा गर्दा किसानहरु उत्साहित थिए तर अहिले नपाउँदा निरुत्साहित बन्नु परेको छ ।’ बिमा रकम उपलब्ध गराउनुपर्ने माग राख्दै उनीहरुले किसान सञ्जाल बनाएका छन् । सञ्जालले स्याउ बिमाको लागि मात्र पहल गर्ने नभई कृषिसँग सरोकार राख्ने कार्यालय र संघसंस्थाको समेत निगरानी गर्नेछ ।
‘आर्थिक वर्ष सकिँदैछ । अहिलेसम्म पर्खेर हे¥यौं, संयोजक सेजुवालले भने, ‘प्रतिक्षाको घडी सकिनलाग्यो । अनि आन्दोलनका कार्यक्रमतिर लाग्यौं ।’ एक हप्ताभित्र बिमाको निचोड निस्किएन भने शिखर इन्स्योरेन्स कम्पनीको कार्यालयमा ताला लगाउने चेतावनी समेत दिएका छन् । जुम्लाबाट प्रदेश र प्रतिनिधिसभा सांसदहरुसँग सहयोग मागेर बिमा कम्पनीविरुद्ध मुद्दासमेत दिने जुम्लाका किसानहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार