अतिरिक्त २ अंक सहित नेपाल सुपर सिक्समा

काठमाडौं : आइसिसी मेन्स टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ । ओमान क्रिकेट एकेडेमीमा समूहको अन्तिम खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १८ ओभरमा पूरा ग¥यो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले २१ बलमा २१ रन र आसिफ शेखले २१ बलमा ३८ रन बनाए । दुवै ओपनर आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो ।

कप्तान रोहिकुमार पौडेल १८ रन, सन्दीप जोरा ५ रन र कुशल मल्ल ४ रनमा आउट भएका थिए । तर गुल्सन झाले २० बलमा नटआउट २८ रन र दीपेन्द्रसिंह ऐरीले १४ बलमा नटआउट १४ रन बनाए । गुल्सनले १ चौका र २ छक्का प्रहार गरे । बलिङमा जापानका शोमा स्लाटरले २ विकेट लिए ।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जापानले ८ विकेटको क्षतिमा १३१ रन जोड्यो । जापानका लागि ओपनर तथा कप्तान कोडावाकी फ्लेमिङले ४६ बलमा ६० रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै इशम रहमानले २५ बलमा १ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाए । उनीहरुबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो ।

१३औं ओभरको पाँचौ बलमा रहमानलाई सोमपाल कामीले आउट गरेपछि नेपाल खेलमा फर्कियो । अर्को ओभरमा फ्लेमिङलाई गुल्सन झाले रोहित पौडेलबाट क्याच गराएपछि नेपालले जापानलाई दबाब दियो । १३औं ओभरको चौथो बलसम्म एक विकेट मात्र गुमाउँदा ९७ रन जोडेको जापानले थप ३४ रन बनाउँदा ७ विकेट गुमायो ।

बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले २–२ विकेट लिए । गुल्सनले ४ ओभरमा १ मेडन राख्दा २० रन खर्चिए । पहिलो दुई ओभरमा खर्चिलो बनेका सन्दीपले पछिल्लो दुई ओभरमा किफायती बलिङ गरेका थिए । उनले ४ ओभरमा २५ रन दिए । नन्दन यादव र सोमपाल कामीले १–१ विकेट लिए ।

दुवै टोली यसअघि नै सुपर–६ मा पुगिसकेका छन् । आजको जितसँगै नेपालले सुपर–६ मा दुई अंक जोडेको छ । अब नेपालले सुपर–६ मा अरू चार टोलीसँग खेल्नेछ । युएई र कतारले सुपर–६ मा स्थान पक्का गर्दा बाँकी दुई टोली आज राति ओमान र पिएनजीबीच हुने खेलपछि टुंगो लाग्नेछ । टोलीबीच हुने सुपर–६ को शीर्ष तीनमा पर्न सक्ने टोलीहरू आगामी वर्षको फेब्रुअरी–मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन् । शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार