(ठूलीभेरी) डोल्पा : आगामी फागुन २१ गते निर्वाचनमा माथिल्लो डोल्पाका चार हजार ३६६ मतदाता मतदान गर्नबाट वञ्चित हुने अवस्था देखिएको छ । हिमाली जिल्ला डोल्पा भौगालिक रुपमा विशाल र विकट छ । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका, छार्काताङसोङ गाउँपालिका र डोल्पोबुद्व गाउँपालिकाभित्र बसोबास गर्ने बासिन्दा कात्तिकको अन्तिमदेखि चैतको अन्तिमसम्म मौसमी बसाइँसराइ गरी तल्लो डोल्पालगायत तराईका विभिन्न स्थानमा बसोबास गर्ने गर्दछन् ।
डोल्पाको उच्च भेगमा हिउँदमा हिमपातसँगै अत्यधिक जाडो हुने भएको हुँदा यहाँका बासिन्दा करिब पाँच महिना गाउँ छाड्ने गर्दछन् । माथिल्लो डोल्पाका सबै नागरिक तराई तथा अन्य विभिन्न स्थानमा झरेका छन् । यो समय गाउँमा कुनै पनि मतदाता छैनन् । कात्तिक–मङ्सिरमा परेको हिमपातले माथिल्लो डोल्पाका सबै नाका बन्द छन् ।
मतदाता गाउँ तथा मतदानस्थलमा जानसक्ने अवस्था छैन । यदि फागुन २१ मा निर्वाचन हुने हो भने राज्यले वैकल्पिक उपाय बनाइदिनुपर्ने अवस्था आएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्दुक गुरुङले बताए । माथिल्लो डोल्पाका नागरिक पनि राज्यका नागरिक भएको हँुदा मतदान गर्ने वातावरण बनाउन पनि अध्यक्ष गुरुङले आग्रह गरे ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोल्पाबाट जम्मा २४ हजार १ सय १५ ले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालयले दोहोरिएका, मृत्यु भएका, बसाइँसराइ गरेकालगायतका मतदाता नामावली अध्यावधिकपछि अन्तिम नामावली सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ रहेको डोल्पामा आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि २४ हजार ११५ मतदाताले मतदान गर्न पाउने छन् । डोल्पाको त्रिपूरासुन्दरीमा सबैभन्दा धेरै मतदाता रहेका छन् भने सबैभन्दा कम मतदाता छार्काताङसोङ गाउँपालिकामा रहेका छन् । त्रिपूरासुन्दरीमा छ हजार ८ सय ५ मतदाता रहेका छन् । ठूलीभेरी नगरपालिकमा पाँच हजार ४ सय ७५ मतदाता रहेका छन् ।
मुड्केचुला गाउँपालिकामा तीन हजार २ सय ८५ मतदाता रहेका छन् । जगदुल्ला गाउँपालिकामा एक हजार ७ सय ८४ मतदाता रहेका छन् । यस्तै काइके गाउँपालिकामा दुई हजार ४ सय मतदाता रहेका छन् । शे–फोक्सुण्डो गाउँपालिकामा दुई हजार १ सय ३० मतदाता रहेका छन् । डोल्पोबुद्व गाउँपालिकामा एक हजार २ सय ५३ मतदाता रहेका छन् ।
छार्काताङसोङ गाउँपालिकामा ९ सय ८३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।








