दैलेख : दैलेखमा माघ २५ गतेदेखि फागुन २ गतेसम्म ह्युमन प्यापिलोमा भाइरस ‘एचपिभी’ विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले यहाँका ११ स्थानीय तहका तीन हजार ४ सय ८२ जना किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बनाउने ‘एचपिभी’ भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीका अनुसार विद्यालय जाने ६ देखि १० कक्षासम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका जिल्लाभरका तीन हजार ४ सय ८४ किशोरीलाई खोप अभियानमा समावेश गर्ने बताए । विद्यालयमा खोप केन्द्र तोकेको हुँदा लक्षित किशोरीलाई विद्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
यहाँको नौमूले गाउँपालिकामा तीन सय २८, महाबुका दुई सय १६, भैरवीका दुई सय ५२, नारायणका तीन सय ४०, भगवतिमाईका दुई सय ४०, डुङ्गेश्वरका एक सय ६४ गुराँसका दुई सय १९, ठाटिकाँधका दुई सय ४५, आठबीसका चार सय ९, चामुण्डाका तीन सय ८४ र दुल्लु नगरपालिकाका छ सय ८५ गरी तीन हजार चार सय ८२ जना ‘एचपिभी’ खोप लगाइने जना लक्षित समूह छन् ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक डा।मनोज विश्वकर्माका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक ‘एचपिभी’ भाइरस हो । ‘एचपिभी’ भाइरसको दुई सयभन्दा बढी किसिमका प्रजाति हुन्छन् र तीमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । नेपालमा १६ र १८ प्रजाति ८० प्रतिशतले पाठेघरको मुखको क्यान्सर बनाउने अध्ययनले देखाएको छ ।
‘एचपिभी’ विरुद्धको खोपले १६ र १८ प्रजातिबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने डा. विश्वकर्माको दाबी छ । विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त हुनुका साथै औषधी व्यवस्था विभागले समेत स्वीकृत गरेको हुँदा ‘एचपिभी’ खोप सुरक्षित र प्रभावकारी रहेको उनले बताए । यसको प्रभावकारिता शतप्रतिशत रहेको विभिन्न अध्ययनले देखाएको छ ।
‘एचपिभी’ खोपले महिनावारीमा कुनै असर नगर्ने जनाइएको छ । डा. विश्वकर्मा भन्छन्, ‘किशोरीको महिनावारी नियमित प्राकृतिक प्रक्रिया हो । ‘एचपिभी’ खोप लगाउँदैमा महिनावारी छिटो वा ढिलो हुने हुँदैन ।’, साथै ‘एचपिभी’ खोप र बाँझोपनबिच कुनै सम्बन्ध नरहेकाले ढुक्क भएर खोप लगाउन निमित्त स्वास्थ्य व्यवस्थापक डा. विश्वकर्माको सुझाव छ । ‘एचपिभी’ खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ । ‘एचपिभी’ खोप लक्षित किशोरीलाई एक मात्रा डोज दिए पुग्छ । ‘एचपिभी’ खोप ०.५ एमएलले पुग्छ ।
जिल्लामा एक सय ९३ खोप केन्द्रबाट लक्षित समूहलाई ‘एचपिभी’ खोप प्रदान गरिने छ । तोकिएका खोप केन्द्रमा खोप लिन नआउने अन्य लक्षित समूहलाई स्वास्थ्य संस्थाबाट ह्युमन प्यापिलोमा भाइरस ‘एचपिभी’ विरुद्धको खोप प्रदान गरिने खोप अधिकृत रेग्मीले बताए । खोप अभियानमा विद्यालय बाहिर रहेका किशोरीलाई समेत समेटिने छन् । दैलेखमा लक्षित समूहमध्ये दुई सय ९८ जना किशोरी विद्यालय बाहिर रहेका स्वास्थ्य सेवा कार्यालय दैलेखको विवरणमा छ ।









