दैलेख : वित्तीय मितव्ययिता कायम गर्न नसक्दा स्थानीय तहमा बर्सेनि बेरुजू बढ्दै गएको छ । ग्रामीण वस्तिका नागरिकलाई नजिकबाट सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले गठन भएका घरेलु सरकारमा बर्सेनि बेरुजू बढ्दै गएको हो । आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षको अवधिमा दैलेखका ११ स्थानीय तहमा ४५ करोड बढी बेरुजु थपिएको छ ।
संस्थागत संरचनाको पूर्णतासँगै यहाँका अन्य स्थानीय तहभन्दा पुरानो नारायण नगरपालिकामा एक वर्षमा एक करोड ९० लाख ५० हजार बेरुजु थप भएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा नारायणमा थपिएको बेरुजुमध्ये असुल गर्नुपर्ने छ लाख ३६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ४६ लाख ६४ हजार र नियमित गर्नुपर्ने १ करोड ३७ लाख ५० हजार रहेको हो ।
आर्थिक वर्ष २०७९÷०८० सम्म नारायणको कुल बेरुजु २० करोड ३३ लाख ९६ हजार थियो । जसमा २७ लाख ९१ हजार फस्र्योट गर्दा आर्थिक वर्ष २०८०÷०८१ मा एक करोड ९० लाख ५० हजार थपिदा नारायणको अद्यावधिक बेरुजु २१ करोड ९६ लाख ५५ हजार पुगेको छ । यस्तै, दुल्लु नगरपालिकामा एक वर्षमा चार करोड ५० लाख ३० हजार बेरुजू थपिएको छ । जसमा असुल गर्नुपर्ने मात्र ४३ लाख ५६ हजार रुपैयाँ छ ।
दुल्लुमा आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षमा थपिएको बेरुजुमध्ये प्रमाण कागजात पेस गर्नुपर्ने दुई करोड २१ लाख ७६ हजार, नियमित गर्नुपर्ने एक करोड ६७ लाख ६५ हजार र पेस्की बाँकी १७ लाख ३३ हजार छ । दुल्लुमा आर्थिक वर्ष २०७९÷०८० सम्म ३४ करोड १८ लाख १० हजार बेरुजू रहेकोमा ३ लाख १८ हजार फस्र्योट गर्दा आर्थिक वर्ष २०८०÷०८१ सम्म दुल्लुको अद्यावधिक बेरुजू ३८ करोड ६५ लाख २२ हजार पुगेको हो ।
चामुण्डाविन्द्रासैनि नगरपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा आठ करोड ३ लाख १४ हजार बेरुजु थपिएको छ । जसमा असुल गर्नुपर्ने ६१ लाख ३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ३ करोड ६३ लाख १ हजार, नियमित गर्नुपर्ने २ करोड ४१ लाख ७१ हजार र पेस्की बाँकी १ करोड ३७ लाख ३९ हजार छ । चामुण्डामा आर्थिक वर्ष २०८०÷०८१ सम्मको अद्यावधिक बेरुजू ३८ करोड २९ लाख ८५ हजार रहेको छ ।
दैलेखमा रहेका चार वटा नगरपालिकामध्ये आठबीस नगरपालिकामा एक वर्षको अवधिमा मात्र पाँच करोड २२ लाख ७४ हजार बेरुजु थपिएको छ । जसमा असुल गर्नुपर्ने ५३ लाख २३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड २ लाख ८२ हजार, नियमित गर्नुपर्ने २ करोड ६२ लाख २४ हजार र पेस्की बाँकी ४ लाख ४५ हजार छ । आर्थिक वर्ष २०८०÷०८१ सम्म आठबीस नगरपालिकाको अद्यावधिक बेरुजू ५८ करोड ३५ लाख १ हजार पुगेको हो ।
यहाँको भगवतिमाई गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा एक करोड ३२ लाख ५२ हजार बेरुजू थपिएको छ । एक वर्षको अवधिमा थपिएको बेरुजूमध्ये असुल गर्नुपर्ने ७३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ३९ लाख १८ हजार, नियमित गर्नुपर्ने ४३ लाख १५ हजार र पेस्की बेरुजु ४९ लाख ४६ हजार छ । आर्थिक वर्ष २०८०÷०८१ सम्म भगवतिमाइको अद्यावधिक बेरुजु १३ करोड ८१ लाख ८७ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
गुराँस गाउँपालिकामा एक वर्षको अवधिमा थपिएको तीन करोड ६ लाख ७३ हजारमध्ये असुल गर्नुपर्ने मात्र ३४ लाख ३९ हजार रहेको छ । जसमा प्रमाण कागजात पेस गर्नुपर्ने एक करोड ११ लाख ८४ हजार, नियमित गर्नुपर्ने १ करोड २६ लाख १२ हजार र पेस्की बेरुजु ३४ लाख ३८ हजार छ । आर्थिक वर्ष २०८०÷०८१ सम्म गुराँसको अद्यावधिक बेरुजु ५२ करोड २२ लाख ९३ हजार रहेको छ ।
डुंगेश्वर गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षे अवधिमा मात्र दुई करोड २४ लाख ६५ हजार बेरुजू थपिएको छ । जसमा असुल गर्नुपर्ने १९ लाख ३५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १८ लाख ३८ हजार, नियमित गर्नुपर्ने १ करोड ७७ लाख २८ र पेस्की बेरुजु ९ लाख ६३ हजार छ । स्थानीय सरकार सञ्चालन यता आर्थिक वर्ष २०८०÷०८१ सम्म डुंगेश्वरको अद्यावधिक बेरुजु १८ करोड ७३ लाख ४२ हजार पुगेको हो ।
नौमूले गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा एक अर्ब १६ करोड १६ लाख ८१ हजारको लेखा परीक्षण गर्दा ६ करोड ७ लाख ९१ हजार बेरुजू थपिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । जसमा असुल गर्नुपर्ने २० लाख २ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ३ करोड ३७ लाख ४३ हजार, नियमित गर्नुपर्ने १ करोड ९८ लाख ९६ हजार र पेस्की बाँकी ५१ लाख ५० हजार छ । आर्थिक वर्ष २०८०÷०८१ सम्म नौमूलेको अद्यावधिक बेरुजू ३८ करोड ३३ लाख ७५ हजार पुगेको छ ।
महाबु गाउँपालिकामा एक वर्षको अवधिमा तीन करोड १९ लाख ७९ हजार बेरुजु थपिएको छ । जसमा असुल गर्नुपर्ने १३ लाख ५९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ५४ लाख २३ हजार, नियमित गर्नुपर्ने १ करोड ९९ लाख ९७ हजार र पेस्की बाँकी ५२ लाख छ । आर्थिक वर्ष २०८०÷०८१ सम्म महाबुको अद्यावधिक बेरुजू १७ करोड ४ लाख ६९ हजार पुगेको हो ।
भैरवी गाउँपालिकामा एक वर्षको अवधिमा ६ करोड १८ लाख ३५ हजार बेरुजू थप भएको छ । जसमा असुल गर्नुपर्ने ४८ लाख ३१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ३३ लाख ६१ हजार, नियमित गर्नुपर्ने १ करोड ४५ लाख ६३ हजार र पेस्की बाँकी २ करोड ९० लाख ८० हजारे छ । आर्थिक वर्ष २०८०÷०८१ सम्म भैरवीमा अद्यावधिक बेरुजू ३५ करोड ८७ लाख १० हजार रहेको छ ।
ठाटिकाँध गाउँपालिकामा एक वर्षको अवधिमा थप भएको ६ करोड ३५ लाख १२ हजार बेरुजूमध्ये असुल गर्नुपर्ने मात्र २० लाख ५४ हजार रहेको छ । जसमा प्रमाण कागजात पेस गर्नुपर्ने ४ करोड ५५ लाख ९३ हजार, नियमित गर्नुपर्ने ५५ लाख ५४ हजार र पेस्की बाँकी १ करोड ३ लाख ११ हजार छ । ठाटिकाँधमा आर्थिक वर्ष २०८०÷०८१ सम्मको अद्यावधिक बेरुजू ३८ करोड ८९ लाख ३९ हजार रहेको छ ।









