दैलेख : दैलेखको नौमूले गाउँपालिका ८ चौराठाका कालु चन्द अहिले निकै समस्यामा छन् । जसोतसो ऋण सापट गरेर उनले गाडी खरिद गरेर परिवारको जोहो चलाउँदै आएका थिए । पुरानो गाडी बिक्री गरेर ९ लाख रकम एनएमबी बैकमा जम्मा गरेका उनी अहिले निकै तनावमा छन् । गत २६ देखि २८ गतेसम्म उनको खातामा भएको ९ लाख रकम ह्याकरले खाता ह्याक गर्र्यो र विभिन्न अन्य बैकमा हालिसकेको थाहा पाएपछि उनी बैकमा पुगे खाता हेरे, उनको खातामा रकम शून्य थियो ।
हतारिदै उनले बैकका कर्मचारीलाई भने मैले त पैसा निकालेको छैन १ गते नयाँ गाडी खरिद गर्ने योजना छ । मेरो पैसा कसले लियो । रकमको खोजी सुरु भयो उनको रकम एभरेस्ट बैक, नविल बैक, सिद्धार्थ र एनआईसि एसिया बैकमा जम्मा भएको प्रारम्भिक जानकारी पाए तर त्यसपछिको खोज र अध्ययनका लागि उनले जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी गरेको बताएका छन् । बैकले पनि थप प्रक्रियाका लागि केन्द्रमा खबर गरिसकेको बताएको छ । शङ्का लागेर कालु चन्द कृषि विकास बैकमा पनि गए त्यहाँबाट पनि उनको खातामा रहेको रकम सिराहा रहेको गरुडा ब्रान्चको सेक सजित नामको खातामा रकम जम्मा भएको देखियो । अहिले उनी निकै चिन्तामा छन् । भए भरको रकम अर्काले लगिसक्यो अव के गर्ने ? पीडितहरूले अहिले धमाधम आफूहरू ठगिएको भन्दै उजुरी दर्ता गरिरहेका छन् ।
पछिल्ला दिनहरूमा दैलेख लगायत कर्णाली प्रदेशका विभिन्न स्थानका मानिसहरू विभिन्न खाले अनलाइन ठगिबाट पीडित भएका छन् । गत १५ दिनको अवधिमा मात्रै ५० लाख बढी रकम ठगी भएको पीडितहरूले जानकारी दिएका छन् ।
नाम नखुलाउने सर्तमा एक पीडित महिलाले भनिन्, ह्याकरले ह्वाट्सएपमा विभिन्न प्रलोभन देखायो तपाईँको खातामा ३३ लाख रकम आउँछ भन्यो र आफूले पहिलो पटक ५५ हजार रकम पठाएँ अझै रकम चाहियो भनेपछि उनी ३३ लाख आफ्नो खातामा आउने भन्दै सुन धरौटी राखेर थप १ लाख १५ हजार पठाउने तयारीमा दैलेख सदरमुकाम आएकी थिइन पसलेले उनलाई सम्झाए, खोजवीन गर्दै जाँदा उनी महिला पनि ठगी गर्ने गिरोहमा फसेको थाहा भयो । उनले पनि अहिले जिल्ला प्रहरी कार्यालय दैलेखमा निवेदन दर्ता गराएकी छन् ।
उच्च शिक्षा अध्ययन गर्ने र नेपाली सेनामा जागिर खाने सोचले काठमाडौँमा तयारी कक्षा पढ्न गएका एक युवक पनि ह्याकरको प्रलोभनमा परेर ठगिएका छन् । उनको खातामा ह्याकरले १८ लाख रकम विभिन्न निकायहरूसँग प्रलोभनमा पारेर माग्यो र आउने बित्तिकै उनको खाताबाट अन्य खातामा रकम पठायो तर अहिले कानुनी रूपमा उनी दोषी देखिने अवस्था आएको छ ।
विदेशमा रहेका आफन्तहरूले सहयोग चाहियो भन्दै विश्वासको भरमै लाखौँ रकम आफन्तलाई पठाउने र पछि सोधपुछ गर्दा आफन्तलाई कुनै थाहा नै नभएको कुराहरू पछिल्ला दिनहरूमा बढ्दै गएका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखमा समेत दिनहुँ यस्ता समस्याहरू आउन थालेका छन् । आफूसँग आएका समस्याहरूको खोजवीनका लागि आफूहरूले साइबर ब्युरोमा जानकारी गराउने र सोही अनुसार खोजी कार्य सुरु गरिएको दैलेख प्रहरीले जानकारी दिएको छ ।
अनलाई गेमहरूमा रकम धेरै आउने प्रलोभनमा पर्नु, अनलाइन माध्यमामा आएका लाखौँको चिट्ठा परेका जस्ता विभिन्न प्रलोभनको विश्वासमा पर्नु, आफन्तहरूलाई पूर्ण रूपमा विश्वस्त नभईकन विश्वासको भरमा रकम हालिदिनु, नचिनेको मान्छेले अनावश्यक भ्रममा पारेर कुरा गर्दा त्यसैको विश्वासमा परेर बैक खाता र ओ पिटी कोड दिने काम नगर्न दैलेख प्रहरीले सबैलाई अनुरोध गरेको छ ।








