म लुकेर बलत्कार गर्दिन खुल्ला प्रेम गर्छु

कवि श्यामल भन्छन ः उनीहरू स्वामीको अनुमतिले सिरकभित्र लुकेर पिउँछन, म खुलेर छाती फुकाएर पिउँछुकवि श्यामल भन्छन ः उनीहरू स्वामीको अनुमतिले सिरकभित्र लुकेर पिउँछन, म खुलेर छाती फुकाएर पिउँछु
काठमाडौं, २० साउन  चार दशकअघिदेखि नेपाली कविताकर्ममा निरन्तर क्रियाशील कवि श्यामलका तीन कविता पुस्तक प्रकाशित छन्। ‘तपाईंहरू मार्फत्’, ‘लयब्रह्म’, ‘हतारमा यात्रा’ उनका कवितासङ्ग्रह हुन्। कविताबाहेक उनी निबन्ध, संस्मरण, समीक्षा, अनुवाद र राजनीतिक लेखनमा पनि निरन्तर छन् । श्यामलको पछिल्लो पुस्तकका रुपमा निबन्धसङ्ग्रह प्रकाशित छः ‘रित्तो गाउँ’। कवि तथा निबन्धकार श्यामलसँगको संवाद प्रस्तुत छःपश्चिम दैलेखको कवि श्यामल काठमाडौंबासी भएर थातथलो बिर्स्यो भनिँदोरहेछ नि?



को कहाँ बस्छ, त्यो महत्वपूर्ण कुरा होइन, कहाँ बसेर को के गर्दैछ त्यसले महत्व राख्तछ भन्ने मेरो विश्वास छ। मेरो नितान्त निजी घर यतै छ र काम यतै हुन्छ। कोही मलाई पुग्दो र मेरो क्षमताअनुसारको काम दिन तयार छ भने म पश्चिम आउने छु । मलाई अति प्रिय ठाउँ हो त्यो। जसले श्यामललाई त्यसो भनिरहेका छन, ती या त भावुकतावश भनिरहेका छन् या त मानिसका अवसर र सम्भावनाको खोज गर्ने स्वाभाविक प्रवृत्तिलाई गलत किसिमले बुझिरहेका छन्। म काठमाडौंमा हुँदा तिनीहरू पनि यतै आउने छन् र सके ती मुलुकबाहिर पुगेका हुनेछन् । दृष्टान्तको सुविधाका लागि हामी सबैले नाम लिने युगान्तकारी व्यक्तिहरू लिऊँः मार्क्स र ब्रेख्त जर्मन थिए, तर अधिकांश समय उनीहरू बेलायत र अमेरिका बस्नु         परेको थियो। बोल्सेविक क्रान्तिका सूत्रधार लेनिन रूसी थिए तर अप्ठ्यारो समयमा उनी स्विट्जल्र्याण्डमा निर्वासित रहे ।म त मेरो मुलुकको राजधानीमा छु, जहाँ मुलुकभरिका र मुलुकबाहिरका गरी      करीब ४० लाख मानिस बस्छन्। यहीँ पहिले कास्कीका र पछि शिवनगर चितवनका पुष्पकमल र पहिले प्युठान र पछि दाङका मोहन वैद्य बस्छन्, रौतहटका माधव नेपाल र इलामका जेएनको बसाई पनि यतै छ । गोरखाका बाबुराम र दाङका युवराज पनि यतै बस्छन्। डडेलधुराका देउवा र बागलुङका चित्रबहादुरको बसोबास पनि यतै छ क्यार। के उनीहरूले आफ्ना गाउँघर र जन्मथलो बिर्सिसके? कि उनीहरू कथित विशिष्ट मनुष्य भएकाले उनीहरूका लागि मजस्तो श्रमजीवी लेखकलाई लागू हुने नियम आकर्षित हुन्न?
तपाई वामपन्थी हुँ पनि भन्नुहुन्छ, अनि सबैभन्दा धेरै गाली पनि वामपन्थीहरूलाई गर्ने गर्नुहुन्छ रे, हो?
वामपन्थीका नाममा कुनै नेताविशेषको भजन गाउने र शक्तिपीठ धाउनेहरूले त्यसो भने भन्दैमा म मेरो आलोचनात्मक विचार त्याग्न सक्तिन। तर यसो भनिरहँदा म गैरवामपन्थीको पक्षमा पनि लागेको हुन्न। वामपन्थी भन्ने वित्तिकै कोही आलोचनाभन्दा माथि हुन्छ? पञ्चायतकालमा राजपरिवारले आफुलाई आलोचनाभन्दा माथि राख्ने थुप्रै कसरत गरेको थियो। तर अन्ततः ऊ सम्भवतः सबैभन्दा बढी त्यही कारणले स्वयं समाप्त भयो । कम्तीमा पनि     गद्दार, देशघाती, क्रान्तिलाई धोका दिने, संशोधनवादी, जडसूत्रवादी आदिजस्ता शब्दका आविष्कारकहरूमध्ये म पर्दिन भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। वामपन्थीका नाममा गैरसैद्धान्तिक बहसमा उत्रेर निजी कुण्ठालाई सैद्धान्तिक जामा पहिर्रुयाउने भष्मासुरहरूले नै वामपन्थलाई बदनाम गरेका अनेकौं दृष्टान्तहरू छन्। मजस्तो सामान्य लेखकले न कसैका स्तुति गाउनु छ, न कसैको अस्वस्थ आलोचनामा समय खर्चेर सिर्जनात्मक क्षमता गुमाउनु छ।
एक –दुई बोतल मसी (मदिरा) नभर्दासम्म श्यामलको कलम नै सर्दैन भनेको पनि सुनिन्छ नि? तिनले बुझेरै भनेका हुन्, किनभने तिनले आफ्ना स्वामीहरूको अनुमतिले रातिराति सिरकभित्र लुकेर पिउँछन् र अरूलाइै आफैजस्तो ठान्छन्। म स्वतन्त्र प्राणी हुँ, खान मन लागेको कुरा, मेरो सहज पहुँचमा छ भने, कसैलाई सोध्दिन। खुलेर सबैका अगाडि छाती फुकाएर खान्छु, पिउँछ । लुकेर बलात्कार गर्दिन, खुलेरै प्रेम गर्छु। अर्कालाई उपदेश दिदै आफूले भने       दूराचार गर्ने आमवाम प्रवृत्तिविरूद्ध जीवनको अन्त्यसम्म पनि लागिरहने छु म ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार