४० जना घाइतेको उपचार १४ वर्षदेखि शरिरमै छर्रा

धमाका संवाददाता
पुस ३, दैलेख
२०६० सालमा रुकुमको खारामा भएको लडाँईमा होमिएका दैलेख महावु गाउँपालिका ६ का टेकबहादुर शाहीको १४ वर्षपछि बल्ल उपचार सुरु भएको छ । राजनीतिक रुपमा पहुँच पु¥याउन नसक्नु, टाँठाबाँठाहरुले जिल्ला प्रशासनमा फर्जी कागज मिलाएर लामो समयदेखि घाईतेको नाममा रकम खाईरहँदा पनि आफु जस्ता धेरै द्धन्द्धपीडितहरु दुःखमै बाँच्नु परेको पीडा सुनाउँदै शाहीले १४ वर्षपछि बल्ल एक्सरे मार्फत शरिर भित्र छर्रा रहेछ भनेर डाक्टरले सुनाएको बताए ।
छर्रा छ भन्ने थाहा थियो तर उपचार गराउने रकम भएन, यतीकै बसेको उनको दुःखेसो छ । शाहीले भने हामी जस्ता पीडितहरुको नाममा गैरपीडितहरुले जिल्ला प्रशासन कार्यालय दैलेखबाट राहत बुझेका छन् तर हाम्रो सुनुवाई भएको छैन् । उनीमात्र हैनन् तत्कालिन जनयुद्धमा परेर घाईते भएकी रत्ना रेग्मीको पीडा पनि उत्तिकै छ श्रीमान माओवादी भएको आरोपमा तत्कालिन नेपाली सेनाले व्यारेक भित्रै ल्याएर क्रुर यातना दिएको थियो, त्यसपछि अहिलेसम्म उनी मानसिक र शारिरिक समस्याबाट ग्रसित छन् । भएका धेरै मध्ये यसपाली ४० जना व्यक्तिहरुलाई सामुहिक उपचार सुरु गरिएको छ । दैलेखमा भएका घाईतेहरुलाई नेपालगंजको भेरी अञ्चल अस्पतालमा सोमवार देखि उपचार सुरु गरिएको हो । दैलेखबाट पहिलो लटमा ४० जना उपचारका लागि नेपालगंज पुगेका हुन् ।
माओवादी केन्द्रका दैलेख जिल्ला संयोजक प्रेम कटुवालले दिएको जानकारी अनुसार नेपाल सरकार र यूरोपिएन यूनियनको सहयोगमा उपचार कार्य सुरु गरिएको हो । आफुहरुले जिल्लाभरका बिभिन्न घाईतेहरुलाई माओवादी केन्द्र दैलेखको पार्टी कार्यालय वा शान्ति समिति, जिल्ला प्रशासनमा जानकारी लिन आग्रह गरेका थियौं ।
अहिले स्थानीय शान्ति समितिको सिफारिसका आधारमा घाईतेहरु उपचारका लागि नेपालगंजको भेरी अस्पतालमा पुगेका हुन् ।
जिल्लामा हालसम्म १ सय ६८ जना सूचिकृत भएका घाईतेहरु रहेको भएपनि उनिहरुको ठोस उपचार हुन सकेको छैन् । अन्य धेरै घाईतेहरु जिल्लामा रहेका छन् तर स्थानीय शान्ति समिति र जिल्ला प्रशासनमा उनीहरुले अभिलेख ल्याउन सकेनन् त्यसैले अँझै धेरै पीडितहरु बिभिन्न सेवा सुविधाबाट बञ्चित हुनु परेको घाईते नविन रिजालले जानकारी दिएका छन् । आफुपनि गम्भिर घाईते भएको तर रकम अभावले उपचार गराउन नपाएको भएपनि यसपालीबाट राम्रो उपचार हुनेमा आशावादी भएको रिजालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार