
फागुन ३, दैलेख
नेकपा कर्णाली प्रदेशका सह– इन्चार्ज यामलाल कँडेलले अवको नेकपा जनतासँग प्रत्यक्ष भेट गर्ने महत्वपूर्ण पार्टी हुने बताएका छन् । नेकपा एकता भएको करिव तीन वर्षसम्म गाउँ र वडासम्म कुनै पनि कार्यकर्ताहरुसँग भेटघाट हुन सकेन । विकास, समृद्धि र जनताका समस्याका बारेमा छलफल भएन अब जनतासँग प्रत्यक्ष भेटघाट हुने, समस्या बुझ्ने र समाधान गर्ने पार्टी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलि नेतृत्वको पार्टी हुने बताएका हुन् ।
दैलेखमा नेकपाका अध्यक्ष रबिन्द्रराज शर्माले उतिबेलै सबैलाई पदभार ग्रहण गराउने उद्देश्य राख्नुभएको थियो, उतिवेला पनि समानान्तर रुपमा दैलेख चलाउन खोज्नेहरुले अहिले निरंकुशता भयो भनेर नारा लगाउँदै सडक तताउनु लाजमर्दो कुरा भएको कँडेलले बताएका छन् । यस्तै अराजक शैली केन्द्रमा प्रचण्डले प्रस्तुत गरेपछि जनताका लागि ताजा जनादेशमा जानुपर्ने बाध्यतामा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलि परेको कँडेलले बताएका छन् । निर्वाचनबाट ६४ प्रतिशत मत पाएर प्रधानमन्त्री बनेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले जनताको माझमा पुगेर ताजा जनादेश माग गर्दा निरंकुशता भयो भन्नेहरु आफ्नो कुर्ची र सत्ता फुत्किएपछि गरेको रोधन भएको कँडेलले बताए ।
नेकपा जिल्ला कमिटी दैलेखको दोस्रो बैठकलाई सम्बोधन गर्दै कँडेलले तत्कालिन द्धन्द्धका बेलामा क्यान्टुनमेन्टमा भएका सेनाको हिसाव कितावको बारेमा उतिबेलै सँगसँगै जनयुद्ध लडेका नेताहरुले किन कुरा उठाएका छन्, यो बारेमा प्रचण्डले जवाफ दिनुपर्ने बताए । प्रचण्डले यसको जवाफ अव जनतालाई दिनुपर्ने बेला आएको छ ।
कँडेलले भने, “हामीसँग मुद्दा छ गाउँ गाउँमा जनताको पक्षमा वकालत गर्ने बिषयहरु छन्, देशको समृद्धिको नारा हामीसँग छ, ठूला ठूला विकास निर्माणका योजनाहरुको खाका हामीसँग छ, राष्ट्र र राष्ट्रियताको मुद्दा हामीसँग छ तर प्रचण्ड समूहसँग अहिले प्रतिगमन भएको भन्ने मुद्दा मात्र छ यो मुद्दा अदालतले फैसला गरेपछि सकिन्छ । मांसाहारी आन्दोलनको औचित्य पनि सकिन्छ ।” कँडेलले भने दैलेखका साथिहरुले अहिलेपनि पार्टी सचिव खाली राख्नुभएको छ, अध्यक्ष केपी शर्मा ओलिले पनि पार्टीमा अध्यक्ष प्रचण्डलाई हटाउनुभएको छैन् तर प्रचण्डले कुन आधारले केपी ओलिलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाए जवाफ दिने ठाउँ छैन् । हाम्रो पार्टी गुरिल्ला युद्ध सञ्चालन गर्ने पार्टी होइन्, हामी नियम नीति मानेर जान्छौं । दैलेखका युवा नेता शसिराम बिकलाई कुटपिट गर्ने अराजक झुण्डलाई तत्काल कारवाही नगरे त्यसको जवाफ महंगो पर्ने भन्दै प्रहरी र प्रशासनलाई चुनौती समेत दिएका छन् ।
नेकपा प्रदेश कमिटी अध्यक्ष गोरख बोगटीले प्रचण्ड र माधव समूहले हरेक बिषयमा बखेडा झिकेर प्रधानमन्त्री केपीशर्मा ओलिलाई काम गर्न नदिएको बताएका छन् । हरेक पदमा आफ्ना मान्छे चाहियो भन्नेहरुबाट देश समृद्धितर्फ अघि बढ्न नसक्ने निश्कर्ष निस्किएपछि जनताको आदेश मान्ने तयारी गर्नु प्रतिगमन नभएर अग्रगमन भएको बताए । ओलीले एकता कायम गर्न हदैसम्मको लचकता अपनाउनु भएको र यही कमजोरीलाई टेकेर सहमतिको आधार भत्काउँदै बहुमत र अल्पमतको खेल खेल्न थालेपछि प्रतिनिधि सभा बिघटन हुन पुगेको बिषय जनताले बुझिसकेको र चुनावमा सबै हिसाव किताव हुने बोगटीको भनाई छ ।
नेकपाका केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव ईश्वरी प्रसाद रिजालले प्रचण्ड आफै बैचारिक रुपमा समस्यामा परेपछि पार्टी एकताको कुरा अघि बढाएको र आफैले राजनीतिक प्रतिगमन गर्न थालेपछि पार्टीमा समस्या आएको बताएका छन् । नेपाललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचय बनाउन सफल प्रधानमन्त्रीले चुच्चे नक्शा सार्वजनिक गरेकै दिन प्रचण्डले माधव नेपाल सँग मिलेर प्रधानमन्त्रीबाट ओलीलाई हटाउन खोज्नु प्रतिगमन भएको रिजालको भनाई छ ।
नेकपा दैलेखका पार्टी अध्यक्ष रबिन्द्रराज शर्माले जिल्ला कमिटीका सदस्यहरुलाई निर्देशन दिदै कसैको बहकाउमा नलागी नेपाली जनताको समृद्धिको सपना बोकेको पार्टी नेकपामा लामबद्ध भएर अघि बढ्न सबै कार्यकर्ताहरुलाई सुझाव दिएका छन् । ७१ जना सचिवालय रहने गरी पार्टी निर्माण गरिएको र आजैबाट दैलेखका सबै तह हुँदै वडा सम्म कमिटी बिस्तार गर्न निर्वाचित जिल्ला कमिटी सदस्यहरुलाई निर्देशन दिएका छन् ।









