
जेठ २६, दैलेख
हरेक विहान, दिउँसो र साँझ दैलेख सदरमुकाममा हामी तपाँईहरुको सुरक्षाका लागि बाहिर खटिएका छौं । समस्या परेको भए सम्वन्धित निकायमा खवर गर्नुहोला, अनावश्यक घर बाहिर ननिस्कनुहोला । कोरोना महामारी बढ्दै गएको छ । मास्क अनिवार्य लगाउनुहोला, सामाजिक दुरी कायम गर्नुहोला राम्ररी हात धुनुहोला, यस्तो सूचना भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखले दैलेख सदरमुकाम लगायत जिल्लाका ११ वटै पालिकामा यो अभियान सञ्चालन गरेको एक महिना बढी भैसकेको छ ।
हामिले निरन्तर जनलाई सुरक्षित राख्न रातदिन मातहतका सबै प्रहरीहरुलाई जिल्लाभरी खटाएका छौं । नागरिकहरु पनि कोरोना संक्रमणको भयावह अवस्थाको बारेमा जानकार हुनुहुन्छ जनता र प्रहरी सँगसँगै मिलेर समस्या समाधान गर्नुपर्ने बारेमा हामिले सबैलाई सचेत बनाएका छौं । प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए, जनताका बिभिन्न समस्याहरु हुन्छन् त्यसका लागि जानकारी गराएर घर बाहिर निस्कने बिषयलाई हामिले सुरक्षित तवरले बाहिर निस्कन भनेका छौं । कतिपय व्यक्तिहरुले अटेर गर्ने, लापरवाही गर्ने पनि गरेको भेटिन्छन् त्यस्ता व्यक्तिहरुलाई सम्झाई बुझाई गर्नै काम पनि गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
सुरक्षाका सवै संयन्त्र प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतको संयुक्त टोलि समेत बेला बेलामा जिल्लाका बिभिन्न स्थानहरुमा परिचालन भइरहेको छ ।
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
जिल्ला प्रहरी कार्यालयमा कार्यरत इच्छुक प्रहरी कर्मचारीहरुले आफ्नो तलवबाट केहि रुपैया छुट्याएर दैलेखका जनताको जीवन रक्षाका लागि अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण समेत गरेका छन् । विश्वभरी महामारीको रुपमा देखापरेको नयाँ भेरियन्ट सहितको कोभिड १९ रोगबाट संक्रमितहरुलाई उपचारमा सहयोग तथा जोखिम नियन्त्रणमा सहजिकरण होस भन्ने उद्देश्यले अत्यावश्यक स्वास्थ्य उपकरणको रुपमा रहेको अक्सिजन कन्सेन्ट्रेटर–१ थान (१० लि.) र मेडिकल अक्सिजन माक्स १० थान खरिद गरी जिल्ला प्रहरी कार्यालय दैलेखको तर्फबाट दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जिल्ला स्वास्थ्य कार्यालय दैलेखलाई हस्तान्तरण गरेका छन् ।
जनताको सबैखाले सुरक्षामा नेपाल प्रहरी साथिको रुपमा रहने भएकोले प्रहरी कर्मचारीहरुले संकलन गरेको रकमबाट खरिद गरि स्वास्थ्यलाई प्रदान गरेको श्रेष्ठको भनाई छ ।









