कर्णाली प्रदेश बिभिन्न सम्भावना बोकेको प्रदेश हो, उब्जनीयोग्य जमिन न्यून भएपनि यहाँको हावापानी सुहाउँदो उन्नत जातको कृषि वाली प्रयोगमा ल्याउन सकेमा थोरै स्थानमा धेरै उत्पादन लिन सकिने प्रसस्त सम्भावनाहरु देखिन्छन् ।
अथाहा सम्भावना बोकेको कर्णाली प्रदेशमा संघ, प्रदेश र स्थानीय तहको अरबौं बजेट भित्रने गर्दछ । भित्रिएको बजेट यहाँको भौगोलिक बनावट, बिभिन्न संभावना लगायतका बिषयहरु र विकासको द्रुत गतिका लागि कम हो तर यहाँ जति बजेट आएको छ त्यसको ४० प्रतिशत बजेट पनि खर्च हुन सकेको छैन्, यसमा कसको कमजोरी हो भनेर कर्णाली प्रदेश सरकारले बिशेष रुपमा अनुसन्धान गर्नुपर्ने बेला आएको छ ।
कर्णालीमा कृषि, पर्यटन र अन्य पूर्वाधारका क्षेत्रहरुमा योजनाबद्ध बजेट बिनियोजन गरेर यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बेलामा आएको बजेटको समेत प्रभावकारी रुपमा कार्यान्वयन वा परिचालन हुन नसक्नुमा मुख्य दोष प्रदेश सरकारमा जाने नै भयो तर अदृश्य रुपमा कर्मचारीहरुले समेत बजेट कार्यान्वयनमा ध्यान दिन नसकेको भनेर भन्नुपर्ने अवस्था सृजना भएको देखिन्छ ।
बजेटको प्रभावकारी कार्यान्वयनका लागि कर्मचारीका बिभिन्न निकायहरुको अभाव भइरहनुपनि मुख्य समस्या हो । यस्तो अवस्थामा कर्णाली प्रदेश सरकारले अव कर्णालीको उत्पादन बढाउनका लागि उन्नत प्रवृधि, बिऊ र किसानहरुलाई बिशेष प्रोत्साहनका कार्यक्रमहरु लागु गर्नुपर्ने अहिलेको आवश्यकता हो । बिशेष गरेर उन्नत जातको धानका लागि प्रयाप्त सिंचाई सुविधा र बाँझो जमिनलाई प्रभावकारी परिचालनका लागि पनि नीति बनाएर लाग्नुपर्ने देखिन्छ ।








