अन्तिम सर्वेक्षणका लागि टोली दैलेखमा

दैलेख : दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सम्पन्न गर्नका लागि चीन सरकारको विज्ञ टोलि दैलेखमा आइपुगेको छ ।
दैलेखको कुन भू–भागमा पेट्रोलियम पदार्थ छ भनेर गरिने अन्तिम ड्रिलिङका लागि सर्वे गर्न चीनियाँ विज्ञ टोली दैलेख आएको हो ।
नेपाली प्राविधिक र चीनीयाँ प्राविधिक टोलिले दैलेखका सम्भावित भू –भागहरुको पुनः सर्वेक्षण गरिरहेको छ ।
खानी तथा भूगर्भ विभागका टोली र चीनको प्राविधिक टोलिले अहिले दैलेख सदरमुकाम सम्म ल्याउने सामग्रीहरु ढुवानीका लागि आवश्यक सडकको मापदण्ड लगायतका बिषयहरुमा पनि अध्ययन र अवलोकन गरेका छन् । विभागको पेट्रोलियम अन्वेषण शाखाका प्राविधिक पनि दैलेखमा आई पुगेका छन् ।
अन्तिम चरणको अन्वेषणले दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायिक उत्खनन् सम्भावनाको टुंगो लगाउने भएको छ । कति मात्रामा भण्डारण छ भन्ने बिषयपनि यसपालिको अन्वेषणबाट पत्ता लाग्ने भएको हो ।
पहिलो चरणमा साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएपछि २०७६ फागुनमा चिनियाँ प्राविधिक टोली स्वदेश फर्किएको थियो । पहिलो चरणको सर्वेक्षणमा अन्वेषण भएको क्षेत्रमा पेट्रोलियम खानी हुनसक्ने सम्भावना देखिएपछि ‘ड्रिलिङ’ सहितको काम गर्न चीनियाँ टोली नेपाल आएको खानी तथा भू गर्वविभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन् ।
अन्तिम अन्वेषणस्थल ठूला सवारी साधनहरु लिनुपर्ने हुन्छ, करिव ५० ठन क्षमताका सवारी साधनहरु आवतजावत गर्नका लागि सडकको चौडाईको अवस्था समस्या हुन सक्ने भएकोले पनि सडकको अवस्था अध्ययनका कामहरु पनि भईरहेका छन् ।
दैलेखको नाभिस्थान, श्रीस्थान, पादुकालगायतका क्षेत्रलाई आधार मानेर ४.५ वर्ग किलोमिटर क्षेत्रलाई समेट्ने गरी साइस्मिक सर्वेक्षण सम्पन्न भईसकेको छ । जमिनमुनि चार किलोमिटरसम्म छेडेर अन्तिम चरणको सर्वेक्षणको काम गरिनेछ । दैलेखको भैरवी गाउँपालिका, दुल्लू नगरपालिकाका, डुङ्गेश्वर गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिकाका र नारायण नगरपालिकाको केही क्षेत्रलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम टुंग्याइनेछ ।
०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्मा सहकार्य गर्ने सहमति भएको थियो । २०७५ गत माघमा नै चीनलाई नेपालका दुईवटा क्षेत्रमा पेट्रोलियम तथा ग्याँस खानीबारे विस्तृत अन्वेषण गर्न दिने सम्बन्धी परियोजना स्वीकृत गरेको थियो ।
उक्त सहमतिअनुसार २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।
तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीको पहलमा थालनी गरिएको यो कार्यले पूर्णता पाएको खण्डमा नेपालको आर्थिक अवस्था सुधारमा निकै ठूलो टेवा पुग्न सक्ने देखिन्छ ।
अन्वेषणमा लाग्ने सबै खर्च चिनियाँ पक्षले नै व्यहोरिरहेको छ । दैलेखमा अन्वेषण सफल भएमा पाल्पामा पनि चीनको सहयोगमा अन्वेषणको काम सुरु हुने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार