एमालेले वामदेवलाई गृहमन्त्री बनाउनेसम्मको निर्णय गरिसकेपछि कांग्रेस भन्छ– एमालेको चाहना हो, तर सहमति भएकै होइन अब सरकारमा नजाने निर्णय गरेको एमाले भन्छ– सहमति भएको हो, गैरजिम्मेवार राजनीति गरेर कांग्रेसले धोका दियो । सातबुँदे सहमति गरी सुशील कोइरालालाई प्रधानमन्त्रीमा मतदान गरेको एमालेले कांग्रेसले धोका दिएको भन्दै सरकारमा नजाने निर्णय गरेको छ । एमालेले अहिले कांग्रेस पूर्वसहमतिमा नफर्केसम्म सरकारमा नजाने निर्णयमा पुगेको छ । गृह मन्त्रालय एमालेले सम्हाल्नेगरी सरकारमा जाने दुई पार्टीको निर्णयबाट कांग्रेस पछि हटेकाले स्थायी समितिले सरकारमा नजाने निर्णय गरेको छ । सहमतिबाट कांग्रेस पछि हटेकाले सरकारमा नजाने एमालेको निर्णयले राजनीतिक संकट पैदा हुने देखिएको छ । सहमतिमा मन्त्रालय उल्लेख नगरे पनि गृहसहित उपप्रधानमन्त्रीमा एमाले र अर्थसहित एक उपप्रधानमन्त्री कांग्रेसको हुने सहमति भएको एमाले स्रोतको दबी छ । त्यस्तै दुवै दलको सरकारमा समान सहभागिता हुनेगरी मन्त्रालय बाँडफाँड गर्नेगरी सहमति भएको पनि एमालेका नेताहरु बताउँछन् । कांग्रेसबाट दुईथरि समूहले वार्ता गरेको र एउटा पक्षसँग भएको कुरा अर्काे पक्षले अस्वीकार गर्ने गरेकाले कांग्रेससँग सशंकित भएको एमाले नेताहरुको आरोप छ । अहिले कांग्रेस सहमतिबाट पछि हटेकाले एमालेको प्रतिष्ठामाथि आँच पुर्याउने नियत रहेको हुनसक्ने र यस्तो अवस्थामा सरकारमा सहभागिता हुन नहुने पनि एमाले नेताहरुले बताए । पार्टीमा दबाब बढेकाले अप्ठयारो परेकाले गृह मन्त्रालय दिन नसकेको प्रधानमन्त्री कोइरालाले एमाले अध्यक्ष झलनाथ खनालसँग बताएको पनि बाहिर आईसकेको छ । स्रोतका अनुसार कोइरालाले सोमबार राति अध्यक्ष खनाललाई टेलिफोन गरी उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमान सिंहले नै आफूलाई अप्ठयारोमा पारेको गुनासो गरेको पनि खुलेको छ । सहमतिमा कांग्रेस नफर्केसम्म सरकारमा नजाने निर्णयमा एमाले पुगेका बेला काँग्रेस निकटकै अन्य केही नेताहरुले भने गृह मन्त्रलाय दिदा कुनै फरक नपर्ने बताएका छन् । यस्तो अवस्थामा पुगेको नयाँ नेपालको सम्झौताको राजनीति अनि स्वार्थ पुरा गरेपछि हुने धोकाको राजनीतिले कसलाई कहाँ पुर्याउने हो त्यो भने हेर्न बाँकी नै छ ।





