
कात्र्तिक ६, दैलेख
कर्णाली प्रदेश सभा सदस्य मिनासिंह रखालले कर्णाली प्रदेश सरकारले जनताको विकासमा सहज पहुँच पुगोस् भन्ने उद्देश्यले मन्त्रालय मातहतका कार्यालयहरू जिल्लामा ल्याइएको बताउँदै स्थानीय सरकारले राम्रो सहकार्य गरेर जनताको विकासमा लाग्नुपर्ने बताएकी छन् ।
कर्णाली प्रदेशभित्रका जिल्लाहरू निकै दुर्गम छन, मुगु, हुम्ला, जुम्ला, कालिकोट जस्ता जिल्लाहरूका नागरिकहरूले मन्त्रालयका कामहरूको सेवा लिन सुर्खेत झर्नुपर्ने भएपछि जनताको सेवा सुविधाका लागि हरेक जिल्लामा प्रदेश कार्यालयहरू खोलिएको बताएकी छन् । अव समयमै काम सक्नुहोस, आएको बजेटको सदुपयोग गर्नुहोस् केही समस्याहरू भए छलफल र बहसबाटै समझदारी खोज्नुहोस् रखालको सुझाव छ ।
जिल्ला कृषि विकास कार्यालय दैलेखमा आर्थिक वर्ष २०७६ । ०७७ मा आएका विकासका कामहरूको जानकारी सँगै समन्वय र सहकार्य कार्यक्रममा बोल्दै केन्द्र, प्रदेश र स्थानीय सरकारबिच हरेक विकास गतिविधिहरूमा गहन छलफल र बहस हुनुपर्ने बताएकी छन् । प्रदेश सभा सदस्य मिना सिंह रखालले आफूहरूले पनि सांसदको भूमिकामा काम गर्दा धेरै चुनौतीहरू आएको बताउँदै सरकारले कृषकहरूलाई प्रदान गर्ने सेवा सुविधा र विकासहरूलाई ठोस र परिणाममुखि बनाउनुपर्ने आवाज उठाउँदै आएको बताएकी छन् ।
कृषि निर्देशनालय सुर्खेतको आयोजनामा सम्पन्न वार्षिक कार्यक्रम समीक्षा र सरोकारवालाको भूमिका र समन्वय सहकार्य अभिवृद्धि सँगै स्थानीय सरकारबाट आएका सुझाव र प्रतिक्रियालाई आगामी दिनहरूमा मार्गदर्शनको रूपमा लिने उद्देश्यले दैलेखमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा दैलेख जिल्लाभरका स्थानीय तहका प्रमुख उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कृषि शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो । स्थानीय सरकारका प्रमुखहरूले कतिपय आवश्यकता नभएकै ठाउँमा पनि सिचाई कुलो र कृषि सडकहरू राखिएको प्रति असन्तुष्टि व्यक्त गरेका थिए । पहुँचको भरमा विकास आउने क्रम रोक्दै दैलेखलाई भूगोल सुहाउँदो कृषि कार्यक्रमहरू लागु गरेर परिणाम देखिने खालका कामहरू गर्नुपर्नेमा कर्णाली प्रदेश सरकारलाई सुझाव दिएका छन् ।
कर्णाली प्रदेश अर्गानिक प्रदेश भनिए पनि सोही अनुसारको जनशक्ति प्राप्त नभएको र लिएको नीति अनुसारका काम हुन नसकेको भन्दै स्थानीय सरकार प्रमुखहरूले असन्तुष्टि राखेका छन् ।
जिल्ला कृषि विकास कार्यालय दैलेखले यस आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने कामहरू र दैलेखलाई कसरी कृषिमा आत्मनिर्भर जिल्ला बनाउने बारेमा बारम्बार सम्बन्धित निकायहरूसँग छलफल र समन्वय गर्दै आएको र प्राप्त सुझावहरूकै आधारमा आगामी दिनहरूमा योजना निर्माण गरिने जिल्ला कृषि विकास कार्यालय दैलेखका निमित्त प्रमुख तिलक प्रसाद पाण्डेले जानकारी दिएका छन् ।









