खर्चको जानकारी नगराए कार्यक्रम बहिष्कार गर्ने नागरिक समाजको निर्णय सार्वजनिक सम्पत्तिको दुरुपयोग दैलेखमा बढेको निश्कर्ष

कात्र्तिक ३०,दैलेख
दैलेखका नागरिक समाज र पत्रकारहरुले हरेक सार्वजानिक कार्यक्रममा कार्यक्रमको खर्च बिवरण प्रस्तुत नगरे कार्यक्रम बहिष्कार गर्ने सामुहिक निर्णय गरेका छन् । सुशासन र पारदर्शीता कायम गर्नका लागि यो कार्य जरुरी देखिएको भन्दै यस्तो निर्णय गरिएको गैर सरकारी संस्था महासंघ दैलेखका अध्यक्ष महारुप खत्रीले जानकारी दिएका छन् ।
सरकारी कार्यालय,स्थानीय सरकार, गैर सरकारी संघ संस्था वा सार्वजनिक निकाय जो सुकैले पनि सार्वजनिक कार्यक्रम गर्दा अनिवार्य कार्यक्रमको खर्च बिवरण पेश गर्नुपर्नेमा पत्रकार र नागरिक समाज एकमत भएको पत्रकार यज्ञराज थापाले जानकारी दिएका छन् । यो अभियान शुक्रवार बाटै लागू भैसकेको उनले बताए ।
पत्रकार महासंघले पनि यो अभियानलाई प्रभावकारी बनाउन मातहतका सवै पत्रकारहरुलाई खवर गर्ने पत्रकार महासंघ दैलेखका उपाध्यक्ष कृष्ण देवकोटाले जानकारी दिएका छन् ।
नागरिक समाजले दैलेखमा सार्वजनिक सम्पतीको दुरुपयोग बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । सरकारी सवारी साधनहरु, गाउँपालिका र नगरपालिकाका मोटरसाईकलहरुको दुरुपयोग बढेको भन्दै नागरिक समाज दैलेखले यस्ता बिषयहरुमा जिल्ला प्रशासन कार्यालयले खवरदारी सँगै कारवाही प्रक्रियाको थालनी गर्नुपर्ने सुझाव दिएका छन् ।
नागरिक समाजका सभापति खड्कराज सिजापतिले पछिल्ला दिनहरुमा सार्वजनिक सम्पतिहरुको दुरुपयोग धेरै मात्रामा हुन थालेपछि प्रमुख जिल्ला अधिकारीलाई बिज्ञप्तिमार्फत जानकारी गराएको बताएका छन् ।
बिज्ञप्तिमा भनिएको छ । सार्वजनिक सम्पतिको उचित सुरक्षा र सदुपयोगमा सरकारको नीति कार्यान्वयनमा प्रभावकारिता बढाउनुपर्ने, सवै सार्वजनिक निकायहरुले कार्यक्रम सुरु गर्नुभन्दा पहिला खर्चको जानकारी गराउनुपर्ने, हरेक बिकास गतिविधिहरुमा जनताले बुझ्ने गरी खर्चको बिवरण सार्वजनिक गर्नुपर्ने लगायतका मागहरु राखिएको छ ।
बिज्ञप्ति बुझ्दै प्रमुख जिल्ला अधिकारी कटटेलले आफुहरुले सवारी साधन दुरुपयोगको बारेमा सुक्ष्म निगरानी गरेको र भेटीएका स्थानहरुमा कारवाही प्रक्रिया समेत अगाडी बढाएको बताएका छन् । बिदा र शनिवारको दिनमा सरकारी सवारी साधनका लागि आफुहरुले पास दिने गरेको बताए ।
पासै नलिएर चलाएको भेटिएमा तत्काल जिल्ला प्रशासनमा खवर गरिदिन कटटेलले आग्रह गरेका छन् । निकै सान्र्दभिक मागहरु भएकोले सवै तहका सरकार र सवै सरकारी कार्यालयहरुमा पालनाका लागि पत्राचार गर्ने जिल्ला प्रशासनले जानकारी दिएको छ ।
यस्ता बिषयहरु उठेका थिए नागरिक समाजको छलफलमा
ठेक्का धेरै घटेर काम गर्ने ठेकेदारहरुले कामको गुणस्तरियता कायम नगरिएको , गुणस्तरिय बिकास निर्माणहरु हुन नसकेको, दैलेखका बिभिन्न स्थानहरुमा विद्युत पोल बिस्तारमा गुणस्तरहिन पोलहरु गाडीएको, नगरपालिका भित्रकै सडक पीचमा बर्षेनी लाखौं रकम खर्च भएको तर प्रभावकारी हुन नसकेको, नारायण नगरपालिकाको नारायण क्याम्पस हुँदै बिजौरा जाने सडकमा लाखौं खर्च गरिएको भएपनि कामको गुणस्तरियता नभएको, सरकारी सवारी साधानहरु कतिपय शिक्षक र जनप्रतिनिधिहरुको दाईजो जस्तै भएको, विद्यार्थीहरुको भविष्य उज्जवल बनाउन सरकारी बिद्यालयहरुमा पढाईको व्यवस्थापन सँगै अभिभावकहरुले बारम्वार खवरदारी गर्नुपर्ने, सार्वजनिक निकायहरुका कार्यक्रमहरुको बारेमा जानकारी नदिने प्रचलन बढ्दै गएको, सूचना माग्दा सूचना दिन आनाकानी गर्ने प्रचलन बढेको, स्थानीय सरकारहरु सूचना लुकाउने काममा अग्रसर भएको लगायतका बारेमा छलफल र बहस गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार