राजेन्द्र अर्याल
विश्वभरि जलवायु परिवर्तनका कारण जोखिम बढिरेहका वेला भारतका विभिन्न सहर वायु प्रदूषणको चपेटामा परेका छन । विविधखाले वायु प्रदूषणका कारण भारतको राजधानी दिल्ली अहिले विषाक्त हावाको चापमा परेको छ । यसबाट तत्कालको बचाउका लागि अधिकारीहरूले सार्वजनिक स्वास्थ्य संकटकालको घोषणा गरेका छन । यो संकटविरुद्ध जुध्न अपिल गर्दै विद्यालयहरूमा विशेष खालका मास्क वितरण गर्न थालिएको छ । दिल्ली ‘ग्यास च्याम्बर’मा परिणत हुन पुगेको बताउँदै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले विशेष मास्क प्रयोग गर्न अनुरोध गरेका थिए । विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित मापदण्ड भन्दा २० गुणा बढी हानिकारक तत्व हावामा मिसिएको भेटिएको थियो ।
प्रत्येक वर्ष नोभेम्बर र डिसेम्बर महिनामा दिल्लीको हावा विषाक्त बन्ने गरेको त्यहाँको विगतको वायु प्रदूषणको तथ्यांकले देखाएको छ । दिल्लीसँग जोडिएका हरियाणा र पन्जाबमा अन्नबाली भिœयाएपछि किसानले खेतमा ठूटा तथा खोस्टामा आगो लगाउने गरेका छन । विशाल भू–सतहमा लगाइने आगोका कारण त्यहाँको वायु निकै प्रदूषित हुन जान्छ । यो क्रमसँगै पश्चिमी वायुको प्रभाव र वहाव पूर्वतिर बढ्दै जान्छ । दिल्लीको आकाश बाक्लो कालो तुवाँलोले ढाकिन पुग्छ । यसैमाथि दीपावलीमा पड्काइने पटाकाले थप वायु प्रदूषण निम्त्याउँछ । त्यसमाथि यातायात, उद्योग, इँटा भट्टा तथा अन्य निर्माण कम्पनीबाट नियमित विसर्जन हुने कण वायुमा मिसिन जाँदा यसले प्रदूषणमा गुणात्मकता हासिल गर्न पुग्छ ।
भारतमा देखिएको वायु
प्रदूषणको चपेटाबाट नेपालमा समेत असर पर्छ । नेपालमै सवारीसाधन, सिमेन्टलगायत कलकारखाना, इट्टाभट्टा र जथाभावी फोहोर जलाउँदा विसर्जन हुने धुवाँ यहाँको प्रदूषणका स्रोत हुन । अव्यवस्थित बसोवास र सडक तथा पूर्वाधार निर्माणका क्रममा हुने ढिलासुस्ती एवं लापरबाहीका कारण पनि वायु प्रदूषण बढ्दो छ । त्यसमाथि छिमेकी देशबाट आउने प्रदूषित कणहरूले नेपालको वायु प्रदूषणलाई बढाउने विज्ञको भनाइ छ । वायु प्रदूषणका कारक तत्वलाई नियन्त्रण गर्न सरकारका साथै सरोकारवालाको ध्यान जान जरुरी छ भने भारतबाट आउने प्रदूषित कण नियन्त्रणका लागि सम्बन्धित पक्षले गम्भीरता पूर्वक लाग्न ढिलाइ गर्नुहुँदैन ।
केही समयअघि प्रकाशित संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलको अनुसन्धान प्रतिवेदनले यो शताब्दीको अन्त्यसम्ममा विश्वका दशौँ करोड मानिस जलवायु परिवर्तनकै कारण आफ्नो थातथलोबाट विस्थापित हुने औँल्याएको थियो । उक्त अनुसन्धान प्रतिवेदनले आँधीबेहरीका घटनाको संख्या अझै बढ्ने, अनुमान गरिए भन्दा बढी समुद्र सतह बढिरहेको र हिमाल तथा बरफ पग्लिने क्रम तीव्र बनेको पनि उल्लेख गरेको थियो । यस्ता परिणामका कारण पृथ्वीमा गम्भीर असर पुगिरहेको पनि प्रतिवेदनमा बताइएको छ । वैज्ञानिकले विभिन्न मौसमी प्रहार सहिरहेको पृथ्वी गम्भीर खतरामा परिरहेकोतर्फ सबैलाई सचेत बनाउँदै छन । जलवायु परिवर्तनका खराब असरबाट बच्न ठोस रूपमा देखिने गरी तत्काल कार्बन उत्सर्जन घटाउन आग्रह पनि उनीहरूले गरेका छन । यसै सन्दर्भमा नेपालको छिमेकी भारतमा अहिले वायु प्रदूषणको गम्भीर संकट देखापरेको छ ।
समयमै यसप्रति चनाखो भएर सम्बन्धित निकायले कदम नचालेमा भारतको जस्तै भयावह अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ । यसले विशेषगरी गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, गरिब र मजदुरवर्गमाथि गम्भीर असर पु¥याउँछ । फोक्सोलगायत श्वासप्रश्वास प्रणाली र मस्तिष्कमा मात्र असर पर्ने होइन, क्यान्सरको सम्भावनासमेत बढाउँछ । प्रदूषणले कृषि उत्पादनमा समेत असर पार्छ । हिमाली देश नेपालमा पश्चिमी वायुको प्रभाव हिउँद भरि पर्ने भएकाले दिल्लीको प्रदूषित वायु नेपालमा भित्रिने सम्भावना अत्यधिक रहेको छ । त्यसो त हिउँद तथा सुक्खा याममा चितवनको सौराह र कपिलवस्तुको लुम्बिनीमा काठमाडौंभन्दा बढी प्रदूषण रहने गरेको छ । रौँभन्दा झन्डै तीन गुणासम्म सूक्ष्म (२.५ पिएम) कणको मात्रा वायुमा दैनिक ४० माइक्रोग्राम भन्दा बढी हुने हुँदा यसले स्वास्थ्यमा प्रतिकूल असर पार्ने गर्छ । काठमाडौंको रत्नपार्कमा रहेको प्रदूषणमापक यन्त्रमा प्रदूषण को मात्रा १ सय ६६ माइक्रोग्राम रहेको देखाएपछि काठमाडौं पनि स्वास्थ्यका लागि निकै खतरनाक रहेको देखिएको छ । लगभग ६ महिनासम्म रहने प्रदूषणको यस्तो प्रभाव वर्षायाम लागेपछि बंगालको खाडीबाट आउने जलवाष्पसहितको मनसुनसँगै कम हुँदै जान्छ ।
आन्तरिक र बाह्य कारणले हुने वायु प्रदूषणसँग जुध्न नेपालले अपनाउनुपर्ने उपायबारे कदम चाल्न ढिलो भइसकेको छ । एउटा उदाहरण, अन्तरदेशीय वायु प्रदूषण सँग जुध्नका लागि नेपालसहितका आठ विभिन्न मुलुकले सन् १९९८ मा माल्दिभ्समा घोषणा गरेको ‘माले घोषणापत्र’ अहिले बिर्सिइ सकेको जस्तो देखिन्छ । यसलाई कार्यान्वयनमा ल्याउन अति आवश्यक भइसकेको देखिन्छ जाडोको समय मा यो प्रदूषण वायुमण्डलमा ‘ब्राउन क्लाउड (खैरो कुहिरो)’का रूपमा देखिन्छ र वातावरणलाई अति ठन्डी बनाइदिन्छ । यसले सूर्यका किरण छेकेर मानव स्वास्थ्यसँगै उत्पादन प्रणालीमा निकै ठूलो ह्रास ल्याउन थालेको विज्ञहरूले बताएका छन ।
नयाँ पत्रिका दैनिकबाट साभार…









