
धनबहादुर के.सी.
हाल नेपालको संघीय संरचना अन्र्तगत कर्णाली प्रदेशको दैलेख जिल्ला स्थित नारायण नगरपालिका वडा नं. १ दैलेख बजारको बिच भागमा अवस्थित लोकतान्त्रिक चौक मूल प्रवेशद्धार रहेको यो टुडिखेल नामले परिचित स्थानीय टुडिखेल पनि एक ऐतिहासिक महत्व बोकेको स्थल हो ।
यो स्थानीय टुडिखेलको संरचनामा पुर्व तर्फ दैलेख बजारको मूल सडक रहेको, पश्चिम तर्फ खेतियोग्य आवादी जग्गा , उत्तर तर्फ गोरेटो सहितका भवनहरु र दक्षिणतर्फ पनि गोरेटोले मूल सडक सँग जोडिएका भवनहरु रहेका छन । यो स्थानीय टुडिखेल ३०४१.२५ वर्गमिटर क्षेत्रफल मा फैलिएसँगै नेपाली सेनाको कानुनी अधिकारमा रहेता पनि यहाँ राजनैतिक, धार्मिक, सास्कृतिक तथा खेलकुदका विभिन्न कार्यक्रमहरु सञ्चालनमा सदुपायेग हुँदै आइरहेको छ । विशेष गरी यहाँ खेलकुद का अनौपचारिक एवं औपचारिक कार्यक्रमहरु अत्यधिक रुपमा संचालन भइरहेका छन ।
यस स्थानीय टुडिखेलको इतिहास धेरै पुरानो भएता पनि नेपालमा सेनाको स्थापना देखि नै नेपाली सेनाका सैनिकहरुले कवाज (परेड खेल्ने कार्यको रुपमा उपयोग हुदै आइरहेको र पंचायती शासन व्यवस्थाको शासनकाल भरिनै तत्कालिन राष्ट्र प्रमुख (राजा) र निजका परिवारका सदस्यहरुको समेत देशव्यापी रुपमा मनाइने जन्म जयन्तीका उत्सवहरुमा दैलेख सदरमुकाम मनाउने क्रममा यस स्थानीय टुडिखेल नै मुख्य स्थलको रुपमा रहेको थियो । यो स्थानीय टुडिखेल प्रतिको जनचेतना, संरक्षण र सम्वद्र्धनको अभावमा केहि बर्ष अघि सम्म सबै पक्षको गैरजिम्मेवारी पूर्ण व्यवहार जथाभावी दिसा–पिसाव प्रयोगले दुर्गन्धित बन्नु अतिक्रमणले संकट बन्न जानु र खेलकुदका औपचारिक (प्रतियोगीतात्मक) कार्यक्रमहरु संचालनमा कष्टप्रद अवस्था र दर्शकहरुको लागि व्यवस्थित ठाउँको अभावले गर्दा कष्टकर रुपमा मनोरञ्जन लिन बाध्य हुनुपर्ने स्थिति रहेको भएता पनि हाल एक÷दुई बर्ष यता आएर जनचेतना अभिवृद्धिका कारणले उक्त टुडिखेल दिसा– पिसावको दुर्गन्धबाट मुक्त हुनुका अलवा जिल्ला खेलकुद विकास समिति दैलेखको अर्थिक सहयोगले यस टुडिखेलको पश्चिम र दक्षिण साइड तर्फ तारजालीको व्यवस्थाले खेलकुदका औपचारिक एवं अनौपचारिक कार्यक्रम संचालनमा केहि हदसम्म राहत महशुस हुन गएको पाईन्छ ।
नेपाली हिन्दु धर्म संस्कृति अनुरुप परम्परादेखि मनाइदै आइरहेका दशै र तिहारको उपलक्ष्यमा यस टुडिखेलमा लिङ्गे पिङको व्यवस्थापन गर्न अनुुकुल स्थलको कारण उक्त (दशै तिहार) समयमा बालबालिका देखि बुढापाका सम्मले पिङको प्रयोगले मनोरञ्जनमा रमाएको देख्न पाइन्छ । यसका साथै यो स्थानीय टुडिखेल मुख्यतः विभिन्न राजनैतिक पार्टीहरु को राजनैतिक आमसभाहरुमा चुनावी प्रचार प्रसार सभा, बिरोध सभा तथा हर्षोल्लासका उत्सव सभा आदि कार्यक्रमहरु संचालनमा अनुकुलन स्थलको मुटुको रुपमा रहेको यो अत्यन्त महत्वपुर्ण स्थल हो । यसरी राजनैतिक, धार्मिक, साँस्कृतिक र खेलकुदका औपचारिक कार्यक्रहरु संचालन देखि सम्पन्नता सम्म अत्यन्त उपयोगी उस स्थानिय टुडिखेल ले आजसम्म पनि आर्कषक अनुहार बदल्न नसक्दा कहिलेकाँही नगन्य रुपमा दैलेख बजार भित्रिएका आन्तरिक एवं बाह्य पर्यटकहरुको उत्साहजनक रुपले यस स्थानीय टुडिखेलमा प्रवेश गर्दछन । तर निरुत्साहित हुदै उक्त टुडिखेलबाट बाहिरीदा स्थानीय बासिन्दाहरुमा आत्मग्लानी बढ्दै साहै्र नै खिन्नता महशुस हुन गइरहन्छ । यसै गरी यस स्थानीय टुडिखेल सकारात्मकसोच विचारका व्यक्तिहरुको प्रयोग भन्दा पनि धुम्रपान सेवन गर्ने, मदिरा सेवन गर्ने व्यक्तिहरु र अन्य व्यक्तिगत स्वार्थलाभ गर्ने व्यक्तित्वहरुको अधिक रुपमा प्रयोगमा अनुकुलन बन्न जानु दुःखद पक्ष हो ।
सायद यस स्थानीय टुडिखेल को भौतिक पुर्वाधार निर्माण पश्चात उल्लेख्य रुपमा पर्यटकहरु भित्र्याउन सक्ने गरी आकर्षक अनुहार बनाउन अझ केहि समय त लाग्ला तर तत्काल्लै श्रृजनात्मक आधारभूत जागरण अभियानमा विभिन्न थरि फुलका र शितलता प्रदान हुने विभिन्न बोट विरुवाहरुको वृक्षरोपण देखि तीनको संरक्षण र सम्वद्र्धनमा स्थानीय बासिन्दा, प्रहरी तथा नेपाली सेनाको सहकार्यमा हातेमालो गराउने कार्यमा नगरपािलकाको जनप्रतिनिधिहरुको अग्रसरतामा समन्वय हुन सकेको खण्डमा स्थानीय टुडिखेलको सामान्य रुपबाटै अनुहार उज्यालो बनाउने कार्यमा श्रृजनात्मक धारणा बनाउन सबै पक्षसँग आग्रह समेत गर्दछु ।
अन्ततः नारायण नगरपालिका विभिन्न वडाहरुमा रहेका विभिन्न ऐतिहासिक एंव तिर्थ स्थलहरुको भावि योजनाको बारेमा सर्वपक्षलाई जानकारी अवगत गराउने उद्देश्यले विभिन्न संचारमाध्यमबाट सूचना प्रवाह गर्न एवं सल्लाह–सुझाव ग्रहण गर्ने निरन्तर नीति– निर्माण र कार्यान्वयन प्रवृत्ति भएको खण्डमा स्थानीय निकाय र नारायण नगरपालिका भित्र सुशासन प्रत्यभुति गराउने गतिशिल कार्यले यस स्थानीय टुडिखेलको स्तर उन्नति÷ सुधारले ऐतिहासिक स्थलको रुपमा उर्जा थपिन जाने हुदा आदरणिय जनप्रतिनिधि ज्यूहरु अब भाषणमा भन्दा काममा औपचारिक समय बढि दिएर कुशल एव दुरदर्शी प्रतिनिधि सोच अभिवृद्धि गर्न सल्लाह–सुझाब दिन चाहन्छु ।
प्रदेश सरकारको सहयोगमा अहिले निर्माण सुरु गरिएको कामको प्रभावकारीता सँगै अँझै यस स्थानमा सौचालयको व्यवस्थापन र मञ्चको राम्रो व्यवस्थापन गर्न सकेमा यसको महत्व झनै बढ्ने देखिन्छ ।
दैलेखमा रहेका यस्ता धेरै एतिहासिक महत्वका बस्तुहरुको प्रर्वद्धनमा जसरी स्थानीय, प्रदेश र केन्द्र सरकारहरुले पहल सुरु गरेको भान स्थानीयलाई भएको छ यसको पूर्ण कार्यान्वयन गर्ने जिम्मेवारी पनि अहिलेका तीनवटै तहका सरकारहरुको हो ।









