स्थानीय सरकार संचालन भएपछि जनप्रतिनिधिहरुले आफन्तलाई कर्मचारी वा अन्य लाभका पदमा कतिसम्म बदमासी गर्दछन भनेर उदाहरण खोज्दै हुनुहुन्छ भने तपाँई दैलेखको डुङ्गेश्वर गाउँपालिका जानुभयो भने पुग्छ । आफ्ना मान्छे भए आफ्ना मान्छे नभए मोटो रकम दिने मान्छेको खोजी गर्ने पुरानो प्रचलन अहिलेपनि देखिएको छ ।
दैलेखको डुङ्गेश्वर गाउँपालिकामा गत महिना भएको शिक्षक नियुक्तिमा यस्तो घोटाला भएको छ । रकमको लेनदेन सँगै बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका निर्वाचित वडा सदस्यले आफैले परीक्षा सुरु हुनु अघिल्लो दिन प्रश्नपत्र आउट गरेका छन् । डुङ्गेश्वर गाउँपालिकाको वडा नं. ५ मा रहेको पिपल चौतारा माध्यमिक विद्यालयमा सामाजिक विषयको राहत शिक्षक नियुक्तिमा यस्तो घोटाला भएको पुष्टि भएको हो ।
पुस २६ गते परीक्षा सञ्चालन हुने तयारी भएकै अघिल्लो दिन पुस २५ गते प्रश्न पत्र निर्माण गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ५ का वडा सदस्य भक्त बहादुर शाहीले फेसबुक म्यासेन्जर मार्फत परीक्षामा भाग लिएका घनश्याम भण्डारी र सहभागि अन्य पाँच जनालाई प्रश्न र टिक मार्कको उत्तर समेत पठाएको खुलेको छ ।
विद्यालयका प्र.अ., विब्यस अध्यक्ष, नियुक्ति गरेका विज्ञहरू, विद्यालय निरीक्षक, लगायत बसेर प्रश्न पत्र तयार गरिएको भए पनि तयार गरेको प्रश्न पत्र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले फोटो खिचेर परीक्षामा सहभागीहरूलाई पठाएको विषय स्थानीयले थाहा पाएपछि अख्तियारमा उजुरी गरेको र सोही आधारमा अख्तियारले छापा मारेको जानकारी प्राप्त भएको स्थानीय श्याम रानाले जानकारी दिएका छन् । अहिले मात्र हैन विगतदेखिका धेरै परीक्षामा निर्वाचित जनप्रतिनिधिहरूले कर्मचारीहरूलाई दबाब दिने, परिक्षार्थीहरुबाट मोटो रकम असुल गर्ने र आफन्तहरूलाई पास गराउने चलन बढेको भन्दै बारम्बार पालिकामा गुनासो गर्दा पनि सुनुवाइ नभएको रानाको गुनासो छ ।

अध्यक्षले मनोमानी गरेको कर्मचारीहरूको आरोपः
भर्खरै प्रशासन प्रमुखको जिम्मेवारी पाएर पालिकामा हाजिर भएका देवेन्द्र खड्काले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् । परीक्षामा आमन्त्रित सदस्यको रूपमा उपस्थित हुन विद्यालयबाट जानकारी आएपछि आफू गएको तर बिद्यालय व्यवस्थापन समितिका अध्यक्षले नै मनोमानी गरेको कुरा पछि मात्र थाहा पाएको खड्का बताउँछन् । गाउँपालिकाका निमित्त शिक्षा प्रमुख विष्णु शर्माले पालिकाको तर्फबाट परीक्षा लिने स्थानमा गएको भए पनि अन्य विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।
गुराँस गाउँपालिकाको बिनिलाई डु·ेश्वर बोलाएर परीक्षा सञ्चालन
डुङ्गेश्वरमा बिनि नभएका बेलामा गाउँपालिकाले गुराँस गाउँपालिकाका बिनिलाई परीक्षामा सघाउन पत्र पठाएको आधारमा आफू डुङ्गेश्वर पालिकामा गएको विद्यालय निरीक्षक भूपेन्द्र भण्डारीले बताए । क कसको के सेटिङ्ग थियो थाहा भएन, परीक्षा सञ्चालन गरिदिन बोलाए गएँ पालिकाको पत्रका आधारमा आफू गएको र अरू कुनै विषयमा आफ्नो संलग्नता नभएको उनको भनाई छ । अर्को पालिकाको विद्यालय निरीक्षक जाँदा पनि शिक्षा तथा समन्वय इकाईबाट स्वीकृति लिई पत्र पाएपछि मात्र जानुपर्ने प्रावधान भए पनि प्रावधान मिचेको देखिन्छ ।
स्थानीय सरकारको बलमिचाइ ः नियम मिचेर पालिकामै परीक्षा
दैलेखका ११ वटा स्थानीय पालिकाहरू रहेका छन् । ११ मध्ये ९ पालिकाभित्र रहेका विद्यालयहरूको शिक्षक नियुक्तिका लागि शिक्षा तथा समन्वय इकाईको प्रत्यक्ष संलग्नतामा (प्रश्न पत्र बैक ) मार्फत चिट्ठाका आधारमा प्रश्न निकाल्ने, विज्ञहरूको समूह निर्माण गरेर निष्पक्ष रूपमा परीक्षा सञ्चालन गर्ने र बढी अङ्क ल्याउने विद्यार्थीलाई नियुक्ति दिने चलन छ ।
दैलेखको डुङ्गेश्वर गाउँपालिकाले मात्रै पालिकामै शिक्षक नियुक्तिको काम गर्ने गरेको छ । वर्तमान शिक्षा ऐन अन्तरगत शिक्षक नियुक्तिको परीक्षा सञ्चालन गर्दा शिक्षा विकास तथा समन्वय इकाईसँग सहकार्य गर्नुपर्नेमा अहिलेसम्म डुङ्गेश्वर गाउँपालिकामा गरिएका विभिन्न तहका शिक्षक नियुक्तिहरूमा कुनै पनि सहकार्य गरिएको छैन । जनप्रतिनिधिहरूले बलमिचाइ गरेर आफन्तलाई शिक्षक बनाउने होड डुङ्गेश्वरमा चलेको देखिन्छ । पालिकाले गाउँ सभाबाट ऐन निर्माण गरेर गाउँमै शिक्षक नियुक्ति गर्ने भन्दै बलमिचाइ गरेको देखिन्छ ।
अख्यिारद्धारा छानबिन सुरु
प्रश्न पत्र नै म्यासेन्जर मार्फत विद्यार्थीसँग गएको प्रमाण सहित स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश सुर्खेतमा निवेदन दर्ता गराएपछि अख्तियारले छानबिन सुरु गरेको छ । म्यासेन्जरमा औलाको स्पष्ट चित्र देखिएपछि सम्बन्धित सवैसँग बयान लिने काम भएको डुङ्गेश्वर गाउँपालिकाले जानकारी दिएको छ । संलग्न सम्बन्धित सवैसँग अनुसन्धान गरिएको र सोधपुछका कामहरू समेत भइरहेको पालिकाका एक कर्मचारीले जानकारी दिएका छन् ।









